शिवाङ्गिनीलाई लाग्छ मानिसले फूल मात्र देख्छन् जरालाई कहिल्यै देख्दैनन् । त्यसभित्रको संघर्ष र मिहिनेत बुझ्दैनन् । त्यसैलाई लिएर उनले ‘रुट्स एण्ड ब्लुम्स’ मार्फत सन्देश दिइरहेकी छन् ।
What you should know
काठमाडौँ — कलाकार शिवाङ्गिनी राणाले एकल कला प्रदर्शनी ‘रुट्स एन्ड ब्लुम्स’ मार्फत अमूर्त चित्रकलामा जीवन, संघर्ष, भावना, आशा र पहिचानका अनेक आयामलाई अभिव्यक्त गरेकी छन् ।
काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको पाँचौँ तलामा ‘द कला सलोन’मा केही मानिसहरू भित्तामा राखिएका चित्रहरू नियालिरहेका थिए । केहीले चित्रको तारिफ गरिरहेका थिए । केही एक अर्कासँग आफूले चित्रमा देखेका भावनाको बारेमा निकै रोचक शैलीमा छलफल गरिरहेका थिए । शिवाङ्गिनी आफ्ना चित्र नियालिरहेका दर्शकहरूलाई चित्रहरूको परिचय दिँदै थिइन् ।
शिवाङ्गिनीलाई लाग्छ मानिसले फूल मात्र देख्छन् । तर जरालाई कहिल्यै देख्दैनन् । त्यसभित्रको संघर्ष र मिहिनेत बुझ्दैनन् । त्यसैलाई लिएर नै उनले ‘रुट्स एण्ड ब्लुम्स’ प्रदर्शनमार्फत सन्देश दिइरहेकी छन् ।
‘जीवन पनि त्यस्तै हो । मानिसले सफलताको चमक हरेकले देख्छन्, तर त्यसका पछाडि लुकेको संघर्ष, पीडा, असफलता र निरन्तरको मिहिनेत आफूले बाहेक कसैले देख्दनौँ,’ उनले भनिन्, ‘हामी कहाँबाट आयौं, कति संघर्ष गरेर यहाँसम्म पुग्यौं, त्यो बाहिरबाट देखिँदैन । फूल हाम्रो उपलब्धि हो भने जरा हाम्रो संघर्ष हो ।’
उनका चित्रमा देखिने मसिना रेखाहरू पनि यही दर्शनसँग जोडिएका छन् । नसाजस्ता ती रेखालाई उनी ‘रुट्स’ अर्थात् जरा भन्छिन् । यही शैली अहिले उनको आफ्नै कलात्मक पहिचान बनेको छ । 
‘हरेक कलाकारको एउटा आफ्नै भाषा हुन्छ । मेरो भाषा यी रेखाहरू हुन् । यही मेरो पहिचान हो,’ उनले भनिन् ।
‘अमूर्त चित्रमा सही वा गलत भन्ने हुँदैन । हरेक व्यक्तिले चित्रमा वास्तवमा आफ्नो मनबाट लागेको कुरा देख्छन्,’ उनले भनिन्, ‘एउटै चित्रमा मानिसको फरक फरक बुझाइ देखिन्छ ।’ अमूर्त चित्रको सबैभन्दा राम्रो कुरा नै हरेक मान्छे चित्रसम्म गहिराईमा पुग्ने र फरक शैलीमा त्यसलाई बुझ्ने रहेको राणा सुनाउँछिन् ।
प्रदर्शनका लागि शिवाङ्गिनीका ७६ वटा चित्रहरु राखिएको छ । पहिलो तलामा उनका सन् २०१८ यताका चित्रहरु छन् भने, अर्को तलामा नयाँ सिर्जनाहरु राखिएको छ । रंगीविरंगी फूल र चित्रका रंगहरुले सकारात्मक सोच र आशा जगाइरहेको देखिन्छन् ।
उनका कुनै पनि चित्र दुःखी छैनन् । उनका अधिकांश चित्र उज्याला रङ, फूल र प्रकृतिका प्रतीकहरूले भरिएका छन् । उनी दुःखभन्दा आशा, निराशाभन्दा सम्भावना र संघर्षपछि आउने सफलतालाई चित्रमार्फत प्रस्तुत गर्न रुचाउँछिन् । यही सकारात्मक ऊर्जा उनका चित्रहरूको विशेषता हो । ऊर्जा र सकारात्मक सन्देशले भरिएका उनका चित्रहरु धेरैले मन पराएको जनाउँछिन् ।
ग्यालरीको भित्तामा टााँगिएको एउटा चित्रमा ‘ह्वाइट ड्यान्डेलियन’ आकाशतिर उडिरहेका छन् । धेरैलाई सुरुमा हेर्दा त्यो एउटा सुन्दर प्राकृतिक दृश्य जस्तो मात्र लाग्न सक्छ । तर कलाकार शिवाङ्गिनी राणाका लागि फूल मात्र होइन, प्रकृतिलाई निको पार्ने आशाको प्रतीक हो । कोभिड–१९ को लकडाउनको समयमा संसारभर मानिसहरू घरभित्र मात्र सीमित थिए । अरुबेला मानिसहरुको भीड लाग्ने स्थानहरु शून्य थिए । तर त्यही समयमा प्रकृतिले भने नयाँ जीवन पाएको उनले महसुस गरेकी थिइन् । ‘प्रदूषण घट्यो, आकाश सफा भयो, नदी र समुद्रले पनि केही राहत पाए । त्यही अनुभूतिलाई मैले ड्यान्डेलियन बनाएर चित्रमार्फत प्रस्तुत गरेँ,’ उनले भनिन्, ‘हामी सबै घरभित्र थियौं, तर प्रकृति बाँच्दै थियो । त्यो चित्र वातावरणप्रतिको आशा र पुनर्जन्मको कथा हो ।’
उनी आफ्ना चित्रहरु यो बनाउँछु भनेर सोचेर साथै अनुमान गरेर भन्दा पनि बिना योजना बनाउने गरेको सुनाउँछिन् । ‘मैले पूर्व अनुमान गरेर वा देखेर होइन कि भावनाका आधारमा चित्र बनाउने गर्छु,’ उनले भनिन् । जसरी उनका चित्रहरुमार्फत मानिसहरुले उनको प्रशंसा गरिरहेका छन् त्यही चित्रहरुको संगममा उनले पश्मिना सलहरु समेत बनाइरहेकी छिन् । ‘मेरो आर्टहरु ग्यालरीका भित्तामा मात्र सीमित नहुन् । आर्ट लभरहरुले त्यसलाई दैनिक जीवनमै अनुभव गर्न सकुन् भन्ने उद्देश्यले चित्रहरुलाई सलमा उतारेकी हुँ,’ उनले भनिन् । सुरुवाती दिनमा अनुभव लिन मात्र सल बनाएकी उनले देश, विदेश सबै ठाउँमा निकै मन पराएको कारण त्यसलाई निरन्तरता दिएको जनाएकी छिन् ।
‘विदेशमा, नेपालमा सबै ठाउँबाट सल र चित्रको कम्बोलाई निकै मन पराउनुभयो । खुसी लागेको छ,’ उनले भनिन्,‘मेड इन नेपाल साथै प्योर पश्मिना भएर पनि होला जसरी चित्रहरुको डिमान्ड धेरै छ । त्यसरी नै सलहरुको पनि छ ।’ जसरी उनको कलाले चित्रमार्फत फरक कथा बोलेका छन् । त्यसरी नै सलहरुले पनि भिन्न कथा बोलेका छन् । एक दशक अगाडिदेखि चित्रहरु बनाउँदै आएकी उनले कतार र भारत आर्ट फेस्टिभलमा नेपाललाई प्रतिनिधित्व गरिसकेकी छन् ।
शिवाङ्गिनीको एकल कला प्रदर्शनी ‘रुट्स एन्ड ब्लुम्स’ प्रदर्शनी असार २९ सम्म सञ्चालन हुनेछ । प्रदर्शनीले उनका चित्रमार्फत संघर्षका जराबाट आशाका फूल कसरी फक्रिन्छन् भन्ने कथा दर्शकलाई अनुभव गराइरहेको छ ।
