सिर्जना खत्रीको स्वर, शब्द र संगीतमा तयार भएको नयाँ म्युजिक भिडियो ‘फुलमाया’ सार्वजनिक भएको छ।
खत्रीले युवा पुस्तालाई लक्षित गर्दै निर्माण गरिएको यस गीतमा आयुस प्रतीकको र्याप तथा चर्चित कलाकारहरूको अभिनय समावेश छ।
एक दशकभन्दा बढी समयदेखि सक्रिय खत्रीका धेरै गीत युट्युबमा करोड क्लबमा प्रवेश गरिसकेका छन्।
काठमाडौँ — सिर्जना खत्री ‘हाउडेमाया’ को नयाँ म्युजिक भिडियो ‘फुलमाया’ सार्वजनिक भएको छ ।
गीतमा गायिका खत्रीकै स्वर, शब्द तथा संगीत रहेको छ । गीतको संगीत संयोजन योगेशकाजी शाहले गरेका हुन् भने ध्वनि सम्पादन मनोज परियारको रहेको छ । गीतमा आयुस प्रतीकको र्याप समावेश गरिएको छ ।
गायिका खत्रीको आधिकारिक युट्युब च्यानल ‘सिर्जना खत्री हाउडे माया’बाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा खत्रीसँगै दिपा शाही, सृजन खरेल र दिलीप शाहको अभिनय तथा नृत्य रहेको छ ।
गायिका खत्रीले अहिलेको युवा पुस्तालाई लक्षित गरेर गीत तथा भिडियो निर्माण गरिएको बताएकी छन् ।
यसअघि उनले करिब ६ महिनाअघि ‘एक नम्बर हरामी (भूपू माया)’ सार्वजनिक गरेकी थिइन् । उक्त गीत युट्युबमा ५० लाखभन्दा बढी पटक हेरिएको छ ।
उनका ‘नौटङ्की माया’, ‘डबल माया’, ‘एक्सको छम्मा’, ‘लाहुरे माया’, ‘सिकारी नारी’ र ‘यस्तो हुन्छ माया’ लगायत गीत चर्चित छन् । ‘नौटङ्की माया’ र ‘एक्सको छम्मा’ युट्युबको करोड क्लबमा प्रवेश गरिसकेका छन् भने ‘डबल माया’ पनि करोड क्लब नजिक पुगेको छ ।
एक दशकभन्दा बढी समयदेखि गीत-संगीत क्षेत्रमा सक्रिय हाउडेमायाँले हालसम्म करिब दुई दर्जन गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छन् । उनका गीत विशेष गरी युवा पुस्तामाझ लोकप्रिय छन् ।
नेपालका विभिन्न सहर तथा गाउँमा प्रस्तुति दिएकी उनले बेलायत, युरोप, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, कतार, मलेसिया, बहराइन र सिंगापुर लगायत विभिन्न देशमा पनि प्रस्तुति दिइसकेकी छन् ।