गहुँको छ्‍वालीबाट आकर्षक कला

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा भएको १० दिने उद्यम तथा प्राविधिक सीप विकास तालिममा सहभागी २६ विद्यार्थीले गहुँको छ्वालीबाट आकर्षक कला सिर्जना गर्न सिकेका हुन् ।

चैत्र ३०, २०८२

डम्बरसिं राई

Attractive art from wheat husks

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माविका विद्यार्थीहरूले गहुँको छ्वालीबाट आकर्षक कला सिर्जना गर्न सिकेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा भएको १० दिने उद्यम तथा प्राविधिक सीप विकास तालिममा सहभागी २६ विद्यार्थीले गहुँको छ्वालीबाट आकर्षक कला सिर्जना गर्न सिकेका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २ लाख ४८ हजार रूपैयाँको बजेटमा उक्त तालिम सम्पन्न भएको हो । उक्त विद्यालयमा कक्षा ६ मा अध्ययरत ९ वर्षीया अनमिका राईले तालिममा आकर्षक कला सिर्जना गर्न जानेपछि खुसी लागेको उनकी आमा अन्जु राईले बताएकी छन् । तालिममा सहभागी विद्यार्थीहरूले यसलाई थप निरन्तरता दिने बताएका छन् । ‘रङको माध्यमबाट चित्र कोर्न जाने पनि छ्वालीबाट बनाउन जानेकी थिइनँ, तालिम लिएपछि जाने,’ कक्षा ८ मा अध्ययरत १३ वर्षीया भूमिका गुरुङले आइतबार भएको समापन कार्यक्रममा भनिन्, ‘अब छुवालीबाट सिर्जना गर्ने कलालाई पनि निरन्तरता दिन्छु ।’

Attractive art from wheat husks

त्यस्तै कक्षा ८ मै अध्ययनरत सञ्जीता विश्वकर्माले पनि कलालाई निरन्तरता दिने बताएकी छन् । उनीहरूले जानेको सीपलाई आगामी वैशाख ४–६ गतेसम्म अन्तर्राष्ट्रिय जैविक विविधता रेडपान्डा थार सम्मेलनमा आउने अतिथिहरूलाई मायााको चिनोका रूपमा प्रदान गरिने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । विद्यार्थीले सोचेभन्दा राम्रो कला सिर्जना गरेकाले यसप्रति उनीहरूको भविष्य राम्रो देखिएको प्रशिक्षक प्रकाश मिजारले जनाए । ‘मैले सोचेभन्दा राम्रो कला सिर्जना गर्नु भयो,’ उनले भने, ‘उहाँहरूको कला हेर्दा भविष्य राम्रो देखो ।’

Attractive art from wheat husks

गत वर्ष पनि नगरपालिकाको पहलमा उक्त विद्यालयमा चित्रकला प्रशिक्षण आयोजना गरिएको थियो । अस्ट्रेलियन चित्रकार ‘रे’ले चित्रकला सिकाएका थिए । त्यही चित्रकलामा सहभागी विद्यार्थीलाई पुनर्ताजगी तालिमको रूपमा यो वर्ष गहुँको छ्वालीबाट चित्र बनाउने तालिम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर राईले जनाएका छन् ।

Attractive art from wheat husks

त्यस्तै उक्त विद्यालयको ६५ औं वार्षिक उत्सव पनि मनाएको छ । खेलकुद, विज्ञान तथा गणित प्रदर्शनी, सांगीतिक कार्यक्रम आयोजना गरी आइतबार वार्षिक उत्सव मनाएको हो । यसअन्तर्गत अभिभावकको डोरी तान्ने खेल, छात्र–छात्रा भलिबल, छात्र–छात्रा ब्याटमिन्टन, छात्र–छात्रा टेबलटेनिस, शिक्षक–शिक्षिकाको ब्याडमिन्टन तथा सांगीतिक कार्यक्रम आयोजना गरी उत्सव मनाएको विद्यालयको प्रअ राईले बताएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully