नेपाली एब्स्ट्र्याक्स पेन्टिङ कला नेपाली इतिहास र परम्परासँग जोडिएको आयोजकले बताएका छन् ।
काठमाडौँ — काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा नेपाली एब्स्ट्र्याक्स पेन्टिङ झल्किने गरी ‘फर्म्स अफ एब्स्ट्र्याक्सन’को प्रदर्शनी जारी छ । बिहीबारदेखि सुरु प्रदर्शनी सोमबारसम्म चल्नेछ ।
सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन एन्ड कल्चरको सहयोगमा आयोजित यो प्रदर्शनीमा नेपालका २६ जना कलाकारका ४९ वटा एब्स्ट्र्याक्स पेन्टिङ राखिएका छन् ।
तारागाउँ नेक्स्टका निर्देशक रोशन मिश्रले नेपाली एब्स्ट्र्याक्स पेन्टिङ कला नेपाली इतिहास र परम्परासँग जोडिएको बताए । ‘इतिहास र परम्परासँग जोडिएको यसलाई हामीले सबैको सामु चिनाउन जरुरी छ र अद्भूत कला भएका कलाकारलाई यस्तो प्रर्दशनीले चिनाउने र अवसर दिने काम पनि गर्छ,’ उनले भने ।
नेपाली एब्स्ट्र्याक्स कलाको सुरुवात १९६० को दशकमा लैनसिंह बाङ्देलले गरेका थिए । पेरिसमा आधुनिक कला देखेर फर्किएका बाङ्देलले रङ, बनावट र भावनामार्फत नेपालमा नयाँ ढोका खोलेका थिए । त्यसपछि गेहेन्द्रमान अमात्य, लक्ष्मण श्रेष्ठ, उत्तम नेपाली, गोविन्द डंगोल, कृष्ण मानन्धर, किरण मानन्धर, लया मैनाली, शरद रञ्जितजस्ता कलाकारहरूले यसलाई निरन्तरता दिँदै आएका छन् ।
प्रदर्शनीमा सहभागी कलाकारहरूले नेपालको इतिहास, आध्यात्मिकता, संस्कृति र प्रकृतिलाई रङमार्फत, कलाकारितामार्फत पेन्टिङमा उतारेका छन् । कतिपय कलाकृतिमा ज्यामितिय र वास्तुकलाको प्रभाव देखिन्छ ।
प्रदर्शनीले स्वर्गीय लैनसिंह बाङ्देल, उत्तम नेपाली, बालकृष्ण सम, इन्द्र प्रधान, प्रशान्त श्रेष्ठलगायत अमूर्त कलामा योगदान दिने पुराना कलाकारहरूलाई समेत विशेष सम्मान गरेको छ ।
प्रदर्शनीमा विधाता केसी, नवीन्द्रमान राजभण्डारी, विजय महर्जन, एनबी गुरुङ, विनोद प्रधान, नेमबहादुर तामाङ, चन्द्र श्रेष्ठ, प्रमिला बज्राचार्य, गोविन्द डंगोलका कला छन् । रमेश खनाल, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, किरण मानन्धर, रीता मानन्धर, केके कर्माचार्य, सागर मानन्धर, कृष्ण मानन्धर, संगीत श्रेष्ठ, लया मैनाली, शरद रञ्जित, मदन चित्रकार, सुनिता राना, मुकेश मल्ल, सुष्मा राजभण्डारी, नबेन्द्र लिम्बू र विजय थापालगायतका कला पनि समावेश छन् ।
