फोटो पत्रकार केशव थोकरले खिचेका रसुवाको पर्यटकीय गाउँका महिलाको जीवनसंघर्ष झल्काउने तस्बिर प्रदर्शनीमा छन् ।
काठमाडौँ — फोटो पत्रकार केशवराज थोकरले खिचेका १६ तस्बिरको प्रदर्शनी ‘गतलाङका महिलाको कथा’ सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित उमोजा क्याफेमा प्रदर्शनी भइरहेको हो ।
रसुवाको पर्यटकीय गाउँ गतलाङका महिलाको जीवनसंघर्ष झल्काउने तस्बिर प्रदर्शनीमा छन् । गतलाङ रसुवाको आमाछोदिङमो गाउँपालिका-३ को गाउँ हो । करिब ६ सय घरधुरी भएको गाउँमा तामाङ र दलित समुदायको बसोबास छ। कृषि, पशुपालन र पर्यटन नै यहाँका गाउँलेहरूको बाँच्ने आधार हुन्।
एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा भएको प्रदर्शनीको सुरुवात काठमाडौंमा बसेर मजदुरी गर्दै आएकी गतलाङ गाउँकी न्यान्जोम तामाङले गरिन् । ५ वर्षदेखि काठमाडौंमा बसेर काम गर्दै आएकी ३९ वर्षे तामाङ आफ्ना गाउँका तस्बिर देख्दा दंग परिन्। उनीसँगै उभिएकी अर्की महिला ल्हाक्पा छोमो तामाङ पनि भावुक बनेकी थिइन्।
थोकरका तस्बिरहरुमा ग्रामीण महिलाको दिनचर्या झल्काइएको छ। कार्यक्रममा आमाछोदिङमो गाउँपालिकाका रसुवाका अध्यक्ष बुचुङ तामाङले काठमाडौंमा गतलाङका तस्बिर देख्न पाउँदा गौरव लागेको बताए। ‘यस प्रदर्शनीले गतलाङको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने छ,’ उनले भने, ‘यसैगरी हाम्रा गाउँघरका कथा उजागर हुनु आवश्यक छ।’
भाषा एवम् संस्कृतिविद् अमृत योञ्जन तामाङले तस्बिर अवलोकन गर्दा गतलाङमै पुगेको अनुभूति भएको सुनाए। उनले गतलाङ यात्राका अनुभव समेत बाँडे।
अर्का वक्ता वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले थोकरका तस्बिर उत्कृष्ट भएको प्रतिक्रिया दिए। ‘यी तस्बिरहरुमा केशवको निकै मिहिनेत देखिन्छ,’ उनले भने, ‘महिलाका सुख-दुःखलाई तस्बिरमार्फत सार्वजनिक गरेकामा उनलाई धेरैधेरै धन्यवाद ।’
एक सशक्त फोटो पत्रकारका तस्बिरमार्फत गतलाङ र काठमाडौंबीच एउटा सिर्जनात्मक पुल हाल्न प्रदर्शनी आयोजना गरिएको आयोजक संस्थाका प्रमुख लीलाराम खड्काले बताए । प्रदर्शनी बुधबारसम्म चल्नेछ ।
दोलखाको मेलुङ गाउँपालिका–४, भेडपु गाउँमा जन्मेहुर्केका थोकर करिब दुई दशकदेखि फोटो पत्रकारितामा क्रियाशील छन्।राजनीतिक घटनाक्रम, विपत्ति र महामारीका तस्बिर खिचिरहने उनी कहिले ग्रामीण भेग पुग्छन् र त्यहाँको जीवनैशली र संस्कृति क्यामरामा कैद गर्छन् ।
‘नेपाल समाचारपत्र’बाट फोटो पत्रकारिता सुरु गरेका उनले नागरिक दैनिकमा १३ वर्ष काम गरे। त्यसपछि ‘आयो मेल’ डिजिटल पत्रिकामा करिब एक वर्ष फोटो सम्पादकको भूमिका निर्वाह गरे। हिजोआज उनी स्वतन्त्र फोटो पत्रकारका रुपमा सक्रिय छन् ।
उनको एउटा फोटो बुुक प्रकाशित भएको छ, ‘लाइफ इन प्यान्डेमिक’। संसारलाई नै सताएको कोभिड–१९ को महामारीको प्रभावका विषयमा यसमा सचित्र वर्णन छ। आवाजविहीनको आवाजलाई भिज्युल स्टोरीमार्फत सार्वजनिक गरिरहने उनले बताए ।
