'बिटविन टु वर्ल्ड्स' थिममार्फत कलाकारद्वय चिराग बाङ्देल र शिवांगिनी राणाले कलाको संगमस्थल बनाएर एउटा सन्देश दिन खोजिरहेका छन् । त्यो सन्देश हो- सह-अस्तित्व ।
What you should know
काठमाडौँ — बबरमहलस्थित आर्ट काउन्सिलको दोस्रो तला, भित्तामा झुन्डिएको एउटा चित्रको दायाँ र बायाँ कलाकारद्वय चिराग बाङ्देल र शिवांगिनी राणा मुस्कुराइरहेका थिए । संयुक्त तस्बिरको साक्षी चित्र थियो- 'बिटविन टु वर्ल्ड्स’।
दुई अलग अलग संसारलाई एउटै क्यानभासमा उनियो भने कस्तो हुन्छ ?
‘झन् भव्य र सुन्दर देखिने रहेछ,’ चिराग भनिरहेका थिए ।
दुवैका फरक शैली र चित्रहरूलाई एउटै थलोमा उभ्याउने ध्येयले शुक्रबारदेखि उनीहरूले संयुक्त चित्र प्रदर्शनी सुरु गरे । पाँच वर्षदेखि एकपछि अर्को गर्दै आफ्ना कला प्रदर्शनीका गति बढाइरहेका कलाकारद्वयले यसपटक आफ्ना भिन्न शैलीलाई साझा क्यानभासमा गाँस्नु सहज भने थिएन । ‘यो जति चुनौतीपूर्ण थियो, उति रमाइलो पनि,’ चिराग रचनागर्भको दिनगन्ति गर्दै भन्छन् । शिवांगिनीको पनि अनुभूति उस्तै छ । ‘त्यसकारण आज म रित्तोझैँ भएको छु,’ खाली क्यानभासमा कलात्मक जीवन भरेपछिको क्षणहरू सम्झँदै उनी भन्छिन् ।
शिवांगिनीको कला यात्रा सिसाको चित्रकला अर्थात् ग्लास पेन्टिङबाट सुरु भएको थियो । बिस्तारै उनले चित्रमा नवीन प्रयोगहरू गर्न थालिन् । र उनले यथार्थवादको सीमालाई परै बिसाइन् । उनका अमूर्त चित्रहरूमा मुड र गतिशीलता जगाउन तह-तहका बनावट र तरल ब्रस स्ट्रोकहरूको प्रयोग पाइन्छ । शिवांगिनीको चित्रलाई हरेक आँखाहरूले फरक फरक पढ्न सक्छन् । अलग अलग ठम्याउन सक्छन् । कोही आँखाले फूल देखिरहेको आकृतिलाई कसैले बादल वा मानिसका रूप पनि देख्न सक्छन् । हृदयको अनुभूतिलाई अभिव्यक्त गर्नुको आनन्द चित्रमा भेटेरहेकी शिवांगिनी रङहरूको अमूर्त संसारमा रमाइरहेकी छन् । उनका चित्रहरूले मानिसका अनुभूति र प्रकृतिसँग संवाद गरिरहेझैँ लाग्छन् । पछिल्लो पटक उनले कतार र मुम्बईमा आफ्ना कलाकृतिहरूको सफल प्रदर्शनी पनि गरिन् ।
चिराग बाङ्देलका चित्रहरूले मानिसका कथा बोल्छन्, समय बोल्छन् र समाजका गहिरा सुस्केराहरू बोल्छन् । जीवन दर्शन र पूर्वीय दर्शन बोल्छन् । बाङ्देललाई एकदिन कवि मञ्जुलले भनेका थिए, ‘चिराग तिमी कविता लेख्दा चित्र कोर्छौ, चित्र कोर्दा कविता लेख्छौ ।’ आशय थियो- उनका कवितामा चित्र उनिएझैँ लाग्छन् । ‘चित्रमै हेर्नुभयो भने, त्यो काव्यिक देखिन्छन् । हेर्नु त, निलो आकाशमा धुवाँ उडिरहेको,’ चिराग औंलाले आफ्ना पेन्टिङतर्फ लक्षित गर्दै भन्छन् ।
उनी लाक्षणिक चित्रकारको रूपमा चिनिए पनि उनले 'तत्त्व' श्रृंखलामार्फत मिक्स मिडिया र कोलाजमा समेत आफ्नो दखल प्रमाणित गरिसकेका छन् । यसपटक उनले १२औं शताब्दीका कवि जयदेवको 'गीता गोविन्द' बाट प्रेरित भएर पौराणिक पात्र कृष्णलाई प्रेमको नायकको रूपमा चित्रण गरेका छन् । चित्रकलासँगै कविता, लेखन र रेडियो पत्रकारितामा सक्रिय बाङ्देल प्रख्यात चित्रकार लैनसिंह बाङ्देलको नातिसमेत हुन् । उसो त उनका चित्रहरू बाजेबाट प्रभावित लाग्छन् ।
चिरागका चित्रहरूमा मानिसका अनुहार एकै किसिमका हुन्छन् । ‘त्यो मेरो सिग्नेचर शैली नै बनिसक्यो,’ चिराग थप्छन् ।
'बिटविन टु वर्ल्ड्स' थिमलाई शिवांगिनी र चिरागले कलाको संगमस्थल बनाएर एउटा सन्देश दिन खोजिरहेका छन् । त्यो सन्देश हो- सह-अस्तित्व । फरक अस्तित्वहरूको गठजोडले थप सौन्दर्य कसरी प्रदान गर्छ, त्यो उनीहरूका चित्रले बताउँछन् । ‘हरेक कलाकार आफ्नै तरिकाले सिर्जनामा मग्न हुन्छन् । यदि सबैको शैली एउटै भइदिएको भए कला संसार निकै उराठलाग्दो हुने थियो होला ,’ चिराग अर्को आँखाबाट पनि हेर्छन् ।
