कलालाई आम्दानीको स्रोतसँग जोड्न सके मात्र पुस्तान्तरणमा सहज : मन्त्री श्रेष्ठ

काठमाडौँमा आयोजना गरिएको मिथिला चित्रकला तालिममा ३० जना सहभागी थिए ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Intergenerational transmission of art can be facilitated only if it is linked to a source of income: Minister Shrestha

काठमाडौँ — सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौँमा आयोजना गरिएको मिथिला चित्रकला तालिम सम्पन्न भएको छ । 

मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनका बारेमा प्रशिक्षण गराइएको थियो । तालिममा ३० जनाभन्दा बढी सहभागी थिए । 

कार्यक्रम सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मिथिला चित्रकलासँग मिथिलाको इतिहास र संस्कृति जोडिएकाले यसको संरक्षण गर्न अत्यावश्यक रहेको बताइन् । 'कलालाई आम्दानीको स्रोतसँग जोड्न सकेमा मात्र यसलाई पुस्तान्तरण गर्न पनि सहज हुन्छ । त्यसैले यसलाई आम्दानीसँग जोड्नका लागि पनि यस्तो तालिम आवश्यक हुन्छ । संस्कृतिलाई जगेर्ना गर्नका लागि चालेको यस कदमप्रति विशेष आभार व्यक्त गर्दछु,' उनले भनिन् ।

तालिममा सहभागी दिया पोखरेलले आफूलाई मिथिला पेन्टिङप्रति रुचि भएको उल्लेख गर्दै तीन दिनसम्म सञ्चालन भएको तालिमबाट धेरै ज्ञान सिकेको बताइन् ।

सहभागी कलाकार रामेश्वर चौरसियाले आफूले जीवनमा पहिलोपटक मैले यसरी रङ र क्यानभासको अनुभव लिएको बताए । परीक्षार्थीलाई प्रतिभा मिश्र, शारदा झा, सोनाम कर्ण, प्रिया पुर्वे, अदिती झालगायतका प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।

कान्तिपुर

Link copied successfully