चित्रकलामा धिमे बाजा बजाउँदै गरेकादेखि विभिन्न मुखौटा लगाएर लाखे नाचेका तथा इन्द्रजात्रा झल्काउने चित्र हेर्न सकिन्छ ।
काठमाडौँ — बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘रुट्स एन्ड रिफ्लेक्सन’ शीर्षकमा शुक्रबारदेखि ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५’ चित्रकला प्रदर्शनी गर्दै सुरु भएको छ ।
प्रदर्शनीमा काउन्सिलको पहिलो तलामा नेपालको इन्द्रजात्रा, देवीदेवतादेखि नेपाली संस्कृति र सभ्यता झल्काउने चित्रकला राखिएका छन् । चित्रकलामा धिमे बाजा बजाउँदै गरेकादेखि विभिन्न मुखौटा लगाएर लाखे नाचेका तथा इन्द्रजात्रा झल्काउने चित्र हेर्न सकिन्छ ।
काउन्सिलको दोस्रो तलामा शान्तिसँग जोडेर बनाइएका विभिन्न देवीदेवताका चित्रकला राखिएको छ । प्रवेशद्वारबाटै देखिने गरेर लोक चित्रकारले बनाएका नेवार समुदायको परम्परागत घरका प्रवेशद्वार झल्काउने खालका चित्रकला प्रदर्शनीमा राखिएको छ ।
‘यो द्वारमा भगवान्कै चित्र पनि देखिन्छ । भगवान्लाई पनि शान्तिसँग जोड्दै बनाइएका चित्रकला देख्न सक्नुहुन्छ,’ प्रदर्शनी अवलोकन गर्न आइपुगेका अनिश जोशीले भने । काउन्सिलको तेस्रो तलामा थांका, भैरवका चित्रकला र बुद्धका मूर्तिकलालाई प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा १५० कलाकारका २ सयभन्दा बढी चित्रकला, मूर्तिकला राखिएको छ । आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा जारी प्रदर्शनी ११ असोजसम्म चल्नेछ ।
एक दर्जन बढी संघसंस्थासँगको सहकार्यमा काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा हुने प्रदर्शनीमा ४० भन्दा बढी कार्यक्रम समेटिने फेस्टिभलकी संयोजक तथा नेपाल आर्ट काउन्सिलकी क्युरेटर आयुषा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार फेस्टिभल हुने सहरमा सम्पदाको भ्रमणदेखि स्थानीय खानाको ‘सेलिब्रेसन’ लगायतका विभिन्न कार्यक्रम हुनेछन् । फेस्टिभलको समापन पाटन संग्रहालयमा हुनेछ ।
