मिथिला चित्रकलामा महिला हिंसाको झल्को

चन्द्रनगरको नाढीमन ताल परिसरमा महिला हिंसा सम्बन्धी चित्रकला प्रदर्शनी गरिएको हो।

श्रावण २१, २०८२

ओमप्रकाश ठाकुर

Glimpses of violence against women in Mithila paintings

What you should know

सर्लाही — सर्लाहीको चन्द्रनगरमा महिला तथा लैंगिक हिंसाको झल्को दिनेगरी मिथिला चित्रकला प्रदर्शन गरिएको छ।

चन्द्रनगर गाउँपालिका र नेपाल एकीकृत विकास समाज लालबन्दीको संयुक्त आयोजना तथा द एसिया फाउन्डेसन नेपालको आर्थिक सहयोगमा चन्द्रनगरको नाढीमन ताल परिसरमा महिला हिंसा सम्बन्धी चित्रकला प्रदर्शनी गरिएको हो।

मधेसमा दाइजो, कुटपिट, छोरीलाई शिक्षामा गरिने विभेद लगायतबाट महिलामाथि हुने हिंसालाई मिथिला चित्रकलाको माध्यमबाट उजागर गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको एकीकृत विकास समाजका कार्यकारी निर्देशक दिवाकर झाले बताए । उनका अनुसार स्थानीय १५ जना महिलालाई दुई हप्ताको तालिम दिएर चित्रकला सिकाइएको थियो ।

चित्रकलाले गाउँमा बस्ने महिलाहरूको आय आर्जनमा समेत टेवा पुग्ने लक्ष्य राखेको छ। उनले भने, 'स्थानीय महिलालाई तालिम दिलाई यो चित्रकला बनाएर प्रदर्शनमा ल्याइएको हो। यसमा गाउँघरमा महिलामाथि हुने हिंसाको बारेमा चित्रकला मार्फत देखाउन खोजिएको हो। यस्ता चित्रकलाले गाउँका महिलाको आय आर्जनमा समेत टेवा पुग्ने छ।'

गाउँपालिकाका महिलाहरूले तयार पारेको चित्रकला गाउँपालिकासहित अन्य पालिकाका जनप्रतिनिधि र कर्मचारीले पनि अवलोकन गरेका थिए। मिथिला चित्रकलाको अवलोकन गर्दै हरिवन नगरपालिकाका उपमेयर हरिमाया घलानले घुम्टो भित्र बस्ने मधेसकी महिलाले गाउँघरमा हुने महिला हिंसाको विषय चित्रकला मार्फत खुलेर प्रदर्शन गरेको बताइन्। उनीहरूमध्ये लुकेको प्रतिभा पनि प्रस्फुटन भएको उनको भनाइ छ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चित्रकला मार्फत समाजमा लुकेका कुरीतिहरू उजागर गर्ने महिलालाई आगामी दिनमा अझ अगाडि बढाउन तथा व्यवसायसँग जोड्न गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 'आधुनिकताका नाममा मिथिला चित्रकला हराउँदै गएको समयमा महिलाहरूले तयार पारेको चित्रकलाले हामीलाई हौसला दिएको छ,' उनले भने, 'पहिले तराई–मधेसका घर–घरमा महिलाहरू मिथिला चित्रकला बनाउने गरेपनि पछिल्लो समय आधुनिकताका नाममा यस्ता चित्रकला हराउँदै गएको छ। महिला हिंसा र मिथिला संस्कारलाई चित्रकला मार्फत उजागर गर्न गाउँपालिकाले सहयोग गर्छ।'

ओमप्रकाश

Link copied successfully