गाईजात्रामा गाउँलेको रजतयात्रा

२०५७ सालमा ‘महापुराण’ एल्बमबाट गाईजात्रे यात्रा थालेका गाउँलेले त्यसयता निरन्तर हरेक वर्ष गाईजात्रे प्रस्तुति गर्दै आएका छन् ।

श्रावण २०, २०८२

दुर्गालाल केसी

Rajatayatra of villagers in Gaijatra

What you should know

दाङ — कमल गाउँले साँच्चिकै गाउँले पात्र हुन् । गरिब, निम्न वर्ग र गरिखाने मान्छेको अभिनयमा दुरुस्तै जम्ने गाउँलेसँग अभिनय कलासँगै हास्यव्यंग्य रस बढी छ ।

उनी हरेक विषयलाई हास्यव्यंग्यात्मक रुपमा पस्कन सक्छन् । यही क्षमतालाई उनले आफ्नो गाईजात्रे कोसेलीमा निरन्तर २५ वर्ष पस्केर प्रमाणित गरेका छन् । यस वर्ष उनले गाईजात्रे प्रस्तुतिको रजत जयन्ती मनाएका छन् । घोराहीमा अग्रज पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माले केक काटेर रजत जयन्ती र नयाँ गाईजात्रे भिडियो ‘भेडातन्त्र’को लोकार्पण गरे । 

२०५७ सालमा ‘महापुराण’ एल्बमबाट गाईजात्रे यात्रा थालेका गाउँलेले त्यसयता निरन्तर हरेक वर्ष गाईजात्रे प्रस्तुति गर्दै आएका छन् ।

२५ वर्ष निरन्तर एक्लै गाईजात्रे प्रस्तुति तयार पार्नु त्यति सहज थिएन । उनले देशको समसामयिक राजनीति, सामाजिक विकृति र समस्यालाई हास्यव्यंग्यमार्फत उजागर गर्दै जानुपर्छ भन्ने सोचेर यसमा निरन्तर लागिरहेको बताए । ‘गाईजात्रा हास्यव्यंग्य कलाकारका लागि महत्त्वपूर्ण अवसर हो । सधैं राजनीतिमाथि व्यंग्य गर्न सकिँदैन,’ गाउँलेले भने, ‘वर्षभरि भएका विकृति र विसंगतिमाथि कलामार्फत व्यंग्य गर्नुपर्छ भन्ने सोचेर प्रत्येक वर्ष गाईजात्रे प्रस्तुति तयार पार्दै आएँ ।’

राजनीतिक नेतृत्वले सधैं गाईजात्रा गरे पनि कलाकारले वर्षमा एकपटक मात्रै भए पनि नेताहरूको गाईजात्रा देखाइदिने गरेको उनले बताए । ‘नेताहरू दिनदिनै गाईजात्रा गरिरहेका छन् । हामीले एक दिन उनीहरूको चर्तिकला गाईजात्रामार्फत देखाइदिन्छौं,’ उनले भने, ‘दर्शक पनि मनोरञ्जन लिँदै देशको अवस्थाप्रति जानकार र सचेत हुन्छन् ।’

Rajatayatra of villagers in Gaijatra

राजु परियार र विष्णु माझीले गाएको ‘गर्नु गर्‍यौ बालाराम भैंसी पालेर, दुनियाँलाई ढाँटेर, खाँटी दुधमा पानी हालेर’ गीतमा बालारामको भूमिकामा अभिनय गरेपछि गाउँलेको चर्चा चुलिएको थियो । तितो सत्य, मदनबहादुर–हरिबहादुरलगायतका दर्जनौं टेली सिरियल र सयौं म्युजिक भिडियोमा गाउँलेले अभिनय गरे । उहिले बाजेको पालामा, देवयानी, चन्द्र सूर्य, खबरदार, प्रेमनाथ, ढुकुटी, हली, कुम्भकरण, पण्डित बाजेको लौरी, छक्का पञ्जा, छ माया छपक्कैलगायतका चलचित्रमार्फत उनले ठूलो पर्दामा पनि अभिनय गरे ।

उनले सबैजसो भिडियोमा गाउँले मानिसको भूमिकामा जीवन्त अभिनय गरेका छन् । गाउँले पात्रको भूमिकामा अभिनय गर्दागर्दै उनको पहिचान नै गाउँले भयो । खास नाम कमल अर्याल भए पनि उनको अभिनय भूमिकाले उनी गाउँले पात्र भए । अनि नाम नै गाउँले पाए ।

लामो समय काठमाडौंमा बसेर विभिन्न टेलिफिल्म, फिल्म र म्युजिक भिडियोमा अभिनय गरेका गाउँले अहिले घोराही उपमहानगरपालिका–१८ मसिनास्थित आफ्नै घरमा बसेर निरन्तर गाईजात्राको हास्यव्यंग्य एल्बम निकालिरहेका छन् ।

उनी सुरुमा मादल बजाउँदै काठमाडौं छिरेका थिए । २०५७ मा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा सहभागी भई उनले त्यसै वर्ष स्वर परीक्षा उत्तीर्ण गरे । २०५८ देखि एक वर्षसम्म सांस्कृतिक संस्थानमा अभिनयको कक्षा लिए । अभिनय सिक्दासिक्दै उनले नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय नाटक महोत्सवमा थुप्रै नाटकमा अभिनय गरे ।

२०६० मा राष्ट्रिय मादल प्रतियोगितामा सहभागी भई देशकै उत्कृष्ट भए । उनले दर्जनौं प्यारोडी गीत गाएका छन् । बाद्यवादनमा उत्कृष्ट क्षमता भए पनि हास्यव्यंग्यलाई उनले आफ्नो पहिचान र क्षमता ठानेका छन् । यही कारण नै निरन्तर गाईजात्रे सामग्री तयार पार्ने गरेको उनले बताए ।

‘हास्यव्यंग्य मेरो परिचय हो । दर्शकलाई मनोरञ्जन दिनु, देशको विकृतिप्रति खबरदारी गर्नु मेरो दायित्व हो,’ उनले भने, ‘म हास्यव्यंग्य प्रस्तुति निरन्तर दिइरहनेछु । यसमा मेरो ठूलो लगाव छ ।’

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully