रोल्पा — रोल्पाका युवा पर्यटन अभियन्ता बाल्कुराम पुनले रोल्पामा खिचेका तस्बिरलाई काठमाडौंमा प्रदर्शन गरेका छन्। पर्यटन, विकास,ग्रामीण समुदाय एवं शान्तितर्फ उन्मुख भैरहेको रोल्पासम्बन्धीका तस्बिरको प्रदर्शन सोमबारदेखि सुरु भएको हो। प्रदर्शनी बुधबारसम्म चल्नेछ ।
पर्यटन व्यवसायी समेत रहेका रोल्पा जेलबाङका ३७ वर्षीय पुनले काठमाडौंमा प्रदर्शित फोटो प्रदर्शनीलाई 'टुरिजम् फर पिस' नाम दिएका छन्। सोमबार प्रदर्शनीको उद्घाटन गर्दै पूर्व शान्ति, जलस्रोत, सिंचाइ तथा अर्थमन्त्री वर्षमान पुनले फोटो प्रदर्शनीबाट जिल्लाको परिचय फैलने विचार व्यक्त गरे।
'रोल्पामा अब द्वन्द्व छैन। शान्ति र विकासले अग्रता लिइरहेको छ। यहाँ प्रदर्शन गरिएका फोटोमार्फत पर्यटनको विकास भई जिल्लाबासीमा आर्थिक उन्नतितर्फ लम्कनुपर्ने मौका आएको छ।' प्रमुख अतिथिसमेत रहेका पूर्वमन्त्री पुनले भने, 'रोल्पा १० वर्षको अवधिमा राजनीतिक द्वन्द्वको केन्द्र बन्यो । मुलुकमा राजनीतिक व्यवस्थाको परिवर्तन गर्न हामीले यहीँबाट आवाज उठायौं। तर अब शान्ति र विकासको केन्द्र बनाउनुपर्छ । अब रोल्पामा साँच्चिकै विकास पुर्याएर शान्ति र द्वन्द्व अध्ययनको केन्द्र बनाउनेतर्फ अघि बढ्नुपर्ने अवस्था छ।'
पर्यटनको विकास गरेर रोल्पा र रुकुमका सम्पदालाई चिनाउने क्रममा बाल्कुरामले खिचेका करिब तीन दर्जन फोटोको प्रदर्शनी काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा संचालित उमोजा कफीहाउसमा भैरहेको छ। फोटो प्रदर्शनीबाट रोल्पाका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय संभावना बोकेका स्थलहरूको पनि चिनारी दिने र प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ।
फोटो प्रदर्शनीको आयोजना पर्यटन प्रवर्द्धन मञ्च नेपालले गरेको हो । उद्घाटनका बेला ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे पनि उपस्थित थिए। फोटो प्रदर्शनीका बारेमा साहित्यकार सुमन थापा, पर्यटन पत्रकार अमृत भादगाउँले लगायतले टिप्पणी गरेका थिए।
फोटो प्रदर्शनकर्ता बाल्कुरामले संघीय राजधानी काठमाडौंमा फोटो प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताए । 'म जहाँ जहाँ पुगेँ, त्यहाँ मैले खिचेका तस्बिरमध्ये थोरै मात्रै प्रदर्शनीमा लिएर आएँ। थुप्रै काम गर्न बाँकी छ। रोल्पामा घुम्न आउनुहोस् । रोल्पा अहिले शान्त छ,' उनले भने।
