किनारमा परेकाहरुको कथा भन्न चित्रकला

वैशाख १३, २०८२

रमेशकुमार पौडेल

A painting to tell the story of those on the edge

चितवन — समाजमा जातीय विभेद छ । लिंगका आधारमा गरिने भेद्भाव र उत्पीडन पनि उत्तिकै छ । जन्मदा महिला या पुरुषको अंग लिएर आए पनि हुर्कंदै जाँदा त्यसभन्दा फरक यौन स्वभाव र अभिव्यक्ति भएका व्यक्तिप्रति हुने व्यवहार पनि सम्मानजनक छैन । उनीहरुले समाजमा लाञ्छना सहनु परेको छ ।

 यी विषयमा शनिबार भरतपुरमा छलफल कार्यक्रम सम्पन्न हुनुका साथै चित्रकला प्रर्दशनी पनि सुरु भएको छ । 

चित्रकार सुरक्षा वाग्लेले बनाएको चित्रमा पुरुष रजस्वला भएको देखिन्छ । यो चित्रकारको कल्पना हैन, यथार्थ नै हो । पुरुषहरु पनि रजस्वला हुन्छन् । चित्रको वर्णनमा भनिएको छ ‘पारलैगिंक पुरुषहरु स्वभावैले प्राकृतिक रुपमै रजस्वला हुन्छन् । मात्र हामीले उनीहरुको पहिचान नगरेको हो । उनीहरुको अस्तित्वलाई अस्विकार गर्दै आएको हो । यो चित्र दलित क्वियर अस्तित्वको शक्ति र विद्रोहको गहिरो प्रतिक हो ।’

क्वियर शब्दको अर्थ के होला ? जन्मिदाका बखतको यौनांगका आधारमा इङ्गित गरिएको लिंगसँग मेल खाने लैङ्गिक पहिचान नभएका, लैङ्गिक विविधताका व्यक्तिहरु र महिला पुरुषबीच हुने यौन तथा प्रणय अकार्षणभन्दा फरक र विविध यौन व्यवहार भएका व्यक्तिहरुलाई जनाउने व्यापक शब्द हो क्वियर । शिवहरि ज्ञवालीले सम्पादन गरेको ‘दलित क्वियर संघर्ष गाथा : दलित क्वियर र प्रतिरोध’ पुस्तकमा यो कुरा उल्लेख छ । दलित क्वियर, जातीय र लैगिक विभेदलाई दर्शाउनका लागि भरतपुर चौबिसकोठी सडक किनारमा ४० चित्रहरु सार्वजनिक प्रदर्शनीमा राखिएका छन् । शनिबार, आइतबार र सोमबार तीन दिन दिउँसो तीन बजेदेखि साँझसम्म उक्त प्रदर्शनी चल्ने छ । चितवनको सामाजिक संस्था ‘सामरी उत्थान सेवा’, चित्तौन कचहरी र बेटर चितवन नामक युवाहरुको संस्थाले संयुक्तरुपमा उक्त प्रदर्शनी आयोजना गरेका हुन् ।

 A painting to tell the story of those on the edge

सामरी उत्थान सेवाका कार्यक्रम व्यवस्थापक समेत रहेका शिवहरि ज्ञवालीले दिएको जानकारी अनुसार ती ४० चित्र ४० जना चित्रकारहरुले नै कोरेका हुन् । चित्रकला प्रदर्शनी सुरु हुनुभन्दाअघि ‘जात, लिंग र यौनिकता : किनाराको पनि किनाराका कुरा’ विषयमा अभियानकर्मीहरुसँग डा.जीवन क्षेत्रीले संवाद गरेका थिए । विमला गायक, मिलन बास्तोला (कान्छा दाइ) र रोशनी कर्ण यो छलफलमा सहभागी थिए । गन्धर्व समुदायकी विमला गायक ६ वर्षको उमेरमा भर्ना भएर विद्यालय जाँदा पहिलो बेञ्चमा बस्दा शिक्षकले नै यहाँ बस्ने हैन भनेर लतार्दै पछिल्लो बेञ्चमा राख्देपछि भोग्न सुरु गरेको जातीय भेदभावको विभिन्न घटना र त्यसको उत्कर्ष रुप सुनाइन् । यसका साथै विभिन्न संघर्ष गर्दै अगाडी बढ्दै जाने क्रममा सामरी उत्थान सेवा नामक सामाजिक संस्था खोलेर शिक्षा र अवसरका लागि आफुले गरेको प्रयासहरु उनले त्यहाँ चर्चा गरिन् ।

मिलन बास्तोला एलजीबीटीआईक्यू समुदायको व्यक्ति र यो अभियानको अभियानकर्मी पनि हुन् । उनको भनाइ थियो ‘म र दाइ जन्मेको हो । जन्मदा छोरी भए पनि पछि स्वभावले छोरा जस्तै हुँदै गएँ । परिवारमा त्यस्तो हेला केही भएन । एउटा छोरा थियो दुईवटा भयो भन्नु हुन्थ्यो ।’ तर राज्यले नीति नियम बनाएर आफ्नो समुदायको संरक्षण नगरकोमा उनलाई दुख लागेको छ । उनी अर्को एकजना महिला साथीसँगै बस्दै आएका छन् ।

‘हामी दुईजनाले सल्लाहा गरेर एकजना छोरी एडप्ट गर्‍यौं, हुर्कायौं, पढायौं । तर जन्मदर्ता गर्न साह्रै सकस भयो । कक्षा ८ मा पुगेपछि जन्म दर्ता नगरी नहुने भयो । जन्मदर्ता भएको त छ, नागरिकता निकाल्ने बेला अझै भएको छैन । नागरिकता ननिस्कदासम्म त्यो जन्म दर्ता पक्का हो कि हैन भन्ने धुकचुक रहन भयो,’ उनले भने ।

आफ्नो जस्तो विहेलाई अस्थायी दर्ता गर्ने गरेकोमा पनि उनलाई दुखेसो छ । रोशनी कर्ण दलित क्वियर अभियन्ता हुन् ।

A painting to tell the story of those on the edge

दलित संगठनभित्र क्वियरका विषयमा कुरा नहुने र क्वियर अभियानभित्र दलितका समस्या नबुझ्ने देखिएपछि दलित क्वियर अभियान सुरु गरेको उनले बताइन् । नेपालमा संविधानमा, कानुन र सर्वोच्च अदालतको व्याख्याले क्वियरहरुका लागि धेरै खाले अधिकार दिए पनि वडा र समुदाय तहमा अत्तोपत्तो नहुने परिपाटी रहेका कारण अभियान चलाउन आवश्यक रहेको उनले बताइन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully