मकवानपुरको तारेभिरमा गुरु रिन्पोछेको विशाल चित्र कुँद्‌न थालियो

चैत्र २६, २०८१

प्रताप विष्ट

A huge picture of Guru Rinpoche was started to be carved in Tarevi in ​​Makwanpur

हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रको तीनकुने परेको तारेभिरमा गुरु रिन्पोछेको विशाल चित्र कुँद्‌न थालिएको छ । बौद्ध गूरु पद्मसम्भवले तारेभीरमै तल्लो भागमा तपस्या गरेका थिए ।  

मकवानपुरको भिमफेदी गाउँपालिका—९ बसिफाँट र थाहा नगरपालिकाको प्रसिद्ध तीर्थस्थल ऋषेश्वर महादेव मन्दिरसँगै रहेको तारेभिरको विशाल चट्टानमा सोमबारदेखि गुरु रिन्पोछेको १०८ वर्ग फिटको चित्र कुँद्‌न थालिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले एक समारोहबीच बौद्ध परम्परा र विधि अनुसार तारेभिरमा छिना हानेर उक्त कामको शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री लामाले उक्त स्थानमा रिन्पोछेको चित्र कुँद्‌ने कार्य सम्पन्न भएपछि यस क्षेत्रमा बौद्ध धर्मको प्रचार हुनुको साथै  धार्मिक पर्यटनले फड्को मार्ने बताए । 'यो चित्रले यस क्षेत्रको परिचय विश्वभरि फैलने छ,' उनले भने ।  तारेभिरसम्म आउनका लागि सडक निर्माणको प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए ।  

A huge picture of Guru Rinpoche was started to be carved in Tarevi in ​​Makwanpur

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीलगायतको उपस्थिति रहेको थियो ।  

यो क्षेत्रमा बौद्ध गुरु पद्मसम्भवले तपस्या गरेको र उनकै अवतारको रुपमा पूजिने ज्याडल रिन्पोछे लगायतका बौद्ध गुरुहरुले तपस्या गरेको हुनाले उक्त क्षेत्रलाई बौद्ध सम्प्रदायले पवित्र स्थलको रुपमा मान्दै आएको छ ।

भीमफेदी र थाहा नगरपालिकाको सिमानामा पर्ने तारेभिर र ऋषेश्वर मन्दिर हिन्दु र बौद्धमार्गीको संगमस्थल हो । हिन्दुहरुले यस क्षेत्रमा सतिदेवीको अंग पतन भएको स्थलको रुपमा लिने गर्छन् भने बौद्धमार्गीहरुले बौद्ध गुरु पद्मसम्भवले तपस्या गरेका धार्मिक स्थलको रुपमा लिने गरेका छन् । 

तारेभिरमा बोधीचार्य फाउन्डेसनको पहलमा १०८ वर्ग फुटको चित्र कुँद्ने कार्यको आरम्भ गरिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । ‘भारतका अध्ययन गर्ने लामा गुरुहरुले यहाँ गुरु रिपोन्छेको चित्र कुँद्‌ने छन्,’ उनले भने, ‘करिब चार महिनामा यो काम सम्पन्न हुने अनुमान गरिएको छ ।’ त्रिभुवन राजपथको सिमभन्ज्याङबाट आधा घन्टा हिँडेपछि यहाँ पुगिन्छ ।

प्रताप

Link copied successfully