नाटकमा सिमानाको कथा

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

A border story in drama

काँकडभिट्टा — स्थानीय परिवर्तन थिएटरमा मञ्चन भइरहेको नाटक ‘सन्धिपुर’ ले सीमावर्ती क्षेत्रको कठोर यथार्थ उजागर गरेको छ । सीमाको भौगोलिक, सामाजिक, राजनीतिक तथा पर्यावरणीय प्रभावलाई केन्द्रमा राखेर तयार पारिएको यो नाटक उज्ज्वल प्रसाईंद्वारा लिखित र घिमिरे युवराजद्वारा निर्देशित हो । 

फागुन १४ देखि मञ्चन सुरु भएको नाटकमा सीमाका कारण उत्पन्न हुने विग्रह, शोषण, दोहन र अन्यायका विविध रूपलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । ‘राजनीतिक सीमाहरू केवल भूगोल मात्र छुट्याउने साधन होइनन्,’ नाटककार प्रसाईंले भने, ‘तिनीहरू समुदायलाई अलग्याउने सत्ता संरचनाका अभिन्न अंश पनि हुन् ।’

‘सन्धिपुर’ नाटकको सुरुआत एउटा गोली काण्डबाट हुन्छ । दशगजामा भएको गोली काण्डमा मारिन्छन् वीरेन नामका एक आदिवासी । उनको हत्यापछि उत्पन्न परिस्थिति वरिपरि नाटकले फन्को मारेको छ । 

राजनीतिक सीमाको कठोर यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । हिमालमा हिउँ पग्लनु, नदी खोला दोहन हुनु, विषाक्त वायुमण्डल बन्दै जानु जस्ता गम्भीर विषयलाई नाटकले सांकेतिक रूपमा देखाउन खोजेको छ ।

सीमावर्ती क्षेत्रका बासिन्दाले भोग्नुपर्ने सामाजिक, आर्थिक तथा राजनीतिक द्वन्द्वलाई कलाकारले नाटकमार्फत जीवन्त ढंगले उजागर गर्ने प्रयत्न गरेका छन् । 

नाटकमा कविता नेपाल, लोमश पौडेल, गणेश बस्नेत, एन्जल खड्का, शिविर चम्लागाई, अस्मिता आचार्य, गगन क्षेत्री, झरना खनाल, भूमिका नेउपाने, भावना गौतम, दीक्षा मरासिनी, एन्जल निरौलालगायतका कलाकारको अभिनय रहेको छ । 

‘सन्धिपुर’ केवल मनोरञ्जन प्रदान गर्ने नाटक मात्र नभई सीमाका कारण सिर्जित असमानता र अन्यायलाई सशक्त रूपमा उजागर गर्ने कलात्मक दस्तावेज रहेको दर्शकको प्रतिक्रिया छ । ‘सीमावर्ती समाजको कथा बुझ्न यो नाटकले धेरै सहयोग गर्छ,’ नाटक हेरेपछि पत्रकार चन्द्र किशोरको प्रतिक्रिया थियो ।

कान्तिपुर

Link copied successfully