'सुपर बल'लाई हिपहपमय बनाउने केन्ड्रिक

माघ २९, २०८१

सजना बराल

Kendrick makes 'Super Ball' hip-hop

काठमाडौँ — विगत केही वर्षदेखि र्‍यापर केन्ड्रिक लमारले निरन्तर एकपछि अर्को कीर्तिमानी सफलता हासिल गर्दै आइरहेका छन् । सन् २०१८ मा उनले इतिहासमै पहिलोपल्ट हिपहप विधाबाट पुलित्जर पुरस्कार जितेका थिए । सन् २०२५ को शुरुवात त उनका लागि झनै फलिफापपूर्ण देखिएको छ । उनले केहीअघि मात्रै पाँचवटा ग्रामी अवार्ड जिते । अहिले फेरि 'सुपर बल हाफ टाइम शो'मा बेजोड प्रस्तुति दिएर उनी करियरकै सर्वाधिक उचाइमा आपुगेका छन् ।

‘आज टेलिभिजनमा एउटा क्रान्तिको प्रत्यक्ष प्रशारण हुन लागेको छ । यसका लागि तपाईंहरूले समय त सही रोज्नु भयो तर व्यक्ति भने गलत छान्नुभयो ।’

नेपाली समयअनुसार सोमबार बिहान ‘एनएफएल सुपर बल हाफ टाइम शो’ मा आफ्नो प्रस्तुति सुरू गर्नुअघि लमारले यस्तो चेतावनी दिए ।  त्यसपछि उनले राष्ट्रपति डोनाल्ड ट्रम्पका अगाडी ‘टीभी अफ’ बोलको आफ्नो गीत प्रस्तुत गर्ने साहस पनि देखाए । यसमा उनले अमेरिकी नागरिकलाई एक अनुशासित उपभोक्ता नभइ संस्कृति, राजनीति र अन्य विधाको भविष्य निर्धारणका लागि सक्रियता देखाउन आग्रह गरे ।   

सुपर बलको ५९ औं संस्करणमा केन्ड्रिकले मुख्य कलाकारका रूपमा एकल प्रस्तुति दिएका हुन् । सुपर बलमा पहिलोपटक कुनै र्‍यापरलाई एकल प्रस्तुति गर्न दिइएको थियो । न्यु अर्लियन्सको सिजर्स सुपरडोममा भएको शोमा गायिका सिजा, एमसी स्यामुअल ज्याक्सन र खेलाडी सेरेना विलियम्सको पनि उनलाई उत्कृष्ट साथ मिल्यो । अमेरिकाको नेसनल फुटबल लिगको मध्यान्तरमा छुट्याइने हाफ टाइम शोमा यसअघि पप र रक विधाका कलाकारले मात्रै प्राथमिकता पाउने गरेका थिए ।

Kendrick makes 'Super Ball' hip-hop

केही वर्षयता हिपहप विधालाई समावेश गर्न थालिएको हो । सन् २०२२ मा डक्टर ड्रे, स्नुप डग, एमिनेम र मेरी जे ब्लिन्जजस्ता हिपहपका हस्तीसँगै फिफ्टी सेन्ट र युवा र्‍यापरका रूपमा केन्ड्रिकले सुपर बलको स्टेजमा आगो बालेका थिए । यसपटक हिपहपले अझै ठूलो स्थान पाएको हो । केन्ड्रिक एक्लैलाई मुख्य कलाकारमा रूपमा उभ्याइनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । यसलाई हिपहपले मूलधारको संगीतमा विशेष स्थान पाएको रूपमा व्याख्या गरिएको छ भने हिपहपलाई सुपर बलको केन्द्रमा पुर्‍याउने जस केन्ड्रिकले पाएका छन् । 

सुपर बललाई अमेरिकीहरू सबैभन्दा ठूलो ‘स्टेज’ मान्छन् । सन् १९६७ देखि सुरू भएको यो सोमा १९९३ मा माइकल ज्याक्सन, २००५ मा पल म्याकर्टनी, २००६ मा रोलिङ स्टोन, २००७ मा प्रिन्स, २०१२ मा म्याडोना, २०१३ मा बियोन्सेजस्ता संगीत क्षेत्रका दिग्गजले प्रस्तुति दिएका थिए । करोडौँ दर्शकले एकसाथ हेर्ने सोमा यसपटक केन्ड्रिकको प्रस्तुतिमा धेरैको चासो थियो । त्यसको कारण हो- उनले ग्रामी अवार्ड्स जितेको गीत गाउँछन् कि गाउँदैनन् भन्नेमा जिज्ञासा ।

खासमा अहिले अमेरिकी संगीतमा केन्ड्रिककै समय चलिरहेको छ भन्दा फरक पर्दैन । यसपटकको ग्रामीमा उनले पाँचवटा विधामा ट्रफि जिते । योसँगै क्यालिफोर्नियाका ३७ वर्षे यी र्‍यापरले हालसम्म कुल २२ वटा ग्रामी अवार्ड हात पारिसकेका छन् । ग्रामीमा यसपटक उनलाई ‘नट लाइक अस’ बोलको गीतले रेकर्ड अफ द इयर, सङ अफ द इयर, उत्कृष्ट र्‍याप गीत, उत्कृष्ट र्‍याप प्रस्तुति र उत्कृष्ट म्युजिक भिडियोको अवार्ड दिलाएको थियो । यो गीत, जसलाई डिस (डिसरेस्पेक्ट) ट्र्याक भनिन्छ, यसमा उनले अर्का चर्चित र्‍यापर ड्रेकको चर्को आलोचना गरेका छन् ।

Kendrick makes 'Super Ball' hip-hop

गीतले ग्रामी जिते पनि ड्रेकले गत महिना यसविरुद्ध अदालतमा मुद्दा हालेका थिए । गत वर्ष १२ करोड ३० लाखले सुपर बलको प्रत्यक्ष प्रशारण हेरेका थिए । जसका कारण ड्रेक र केन्ड्रिकको लडाइँ अमेरिकाको सबैभन्दा ठूलो टेलिभिजन सोबाट दर्शकमा पुग्छ कि पुग्दैन भन्नेमा उत्सुक बन्नु स्वभाविक थियो । अन्तत: उनले गाए । गाउने मात्रै होइन, ड्रेकलाई सिधै ‘तिम्रो खेल सकियो’ भनिदिए । उनले स्टेजबाटै ड्रेकलाई ‘बाल यौन दुराचारीको प्रमाणपत्रधारी’ भनेर आलोचना गरे ।

ड्रेक र केन्ड्रिकबीचको ‘र्‍याप युद्ध’ सन् २०१३ देखि सुरू भएको हो । दुवैले आफ्ना गीतमा एक-अर्कालाई गम्भिर आपेक्ष लगाउँदै आएका छन् । ड्रेकले ‘फ्यामिलटि म्याटर्स’ जस्ता गीतमा केन्ड्रिकलाई घरेलु हिंसा र नजिकका साथीहरूलाई विश्वासघात गरेको आरोप लगाएका छन् । केन्ड्रिकले पनि ‘मिट द ग्र्याम्स’ वा ‘नट लाइक अस’ बोलका गीतमा ड्रेकलाई बाल यौन दुराचार वा इन्टरनेटमा बालबालिकासँग नजिकिएर उनीहरूको यौन शोषण गर्ने कार्य वा ग्रुमिङमा संलग्न भएको आरोप लगाएका छन् । ड्रेकले हिपहप विधा र अश्वेतहरूको संस्कृतिको खास प्रतिनिधित्व नगरिकनै यसको फाइदा उठाएको पनि केन्ड्रिकको दाबी छ ।  

Kendrick makes 'Super Ball' hip-hop

केन्ड्रिक अहिलेका चर्चित एवं प्रभावशाली र्‍यापर हुन् । स्पटिफाईमा उनका गीतहरू अर्बौँपटक स्ट्रिम भएका अर्थात् बजाइएका छन् र सो सांगीतिक प्लाटफर्ममा १ अर्ब पटक स्ट्रिमको आँकडा सबैभन्दा छिटो छुने र्‍यापर पनि केन्ड्रिक नै हुन् । उनका गीतहरू टिकटक, इन्स्टाग्राम रिल्स, फेसबुक र युट्युब सर्टस्‌मा पनि अत्यधिक रूचाइएका छन् । हिपहपमा ज्याज, फंक, सोलजस्ता फरक विधालाई फ्यूजन गराउन सिपालु मानिने केन्ड्रिक आफ्ना गीतबाट सामाजिक र सार्वजनिक चासोका विषयहरूमा बोल्न अप्ठेरो मान्दैनन् । वर्ष २०२५ को सुरूमै ग्रामी र सुपर बलमा पाएको सफलताले अघिल्ला वर्ष झैँ यो साल पनि केन्ड्रिकका लागि फलिफाप हुने लगभग निश्चित नै देखिन्छ ।

(एजेन्सीहरूको सहयोगमा)

Kendrick makes 'Super Ball' hip-hop

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully