काठमाडौँ — महाशिवरात्रिको छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘लाज शरणम्’ को टिजर बिहीबार सार्वजनिक गरिएको छ । पोस्टरले नै फिल्मप्रति चासो बढाइरहेका बेला यसको टिजरले भने फिल्मलाई बहुप्रतीक्षित बनाउने देखाएको छ । जसमा सुन तस्करी काण्ड, नेताको सम्बन्धदेखि डोल्पाको कथा समेटिएको छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएपछि कफिनमा फर्किनेहरूको दुर्दशालाई समेत कथामा समेटिएको छनक दिने टिजरमा दुर्गम गाउँका कथालाई विशेष महत्त्व दिन खोजिएको छ । हास्य टेलिशृंखला ‘सक्किगोनि’ को टिमले बनाएको ‘लाज शरणम्’ लाई कुमार कट्टेलले आफ्नै लेखनमा निर्देशन गरेका हुन् । नेताको गेटअपसहितको पोस्टरबाट सीताराम कट्टेलसँगै फिल्मको चर्चा चुलिएको थियो । जसमा सीतारामले आफूलाई कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमजस्तै देखिने ‘गेटअप’ तथा लवजमा ढालेको देखिन्छ ।
त्यसैगरी फिल्ममा मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणु योगी, विजय लामा, माला लिम्बूसहित ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् । फागुन १४ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई नवीन श्रेष्ठले निर्माण गरेका हुन् । सुदीप बरालले फिल्म खिचेका हुन् ।
