'जिन्दगी सरर'बाट चम्किएका सुशान्त

माघ १४, २०८१

संस्कृति पोखरेल

Sushant who shined from 'Zindagi Sarar'

काठमाडौँ — कक्षा तीनमा पढ्दै गर्दा सुशान्त घिमिरेलाई एक शिक्षकले अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा मञ्चमा प्रस्तुति दिन प्रोत्साहित गरे । संगीतमा आफ्नो क्षमता नपहिल्याएका सुशान्तले कार्यक्रममा गीत गाउने भए । उनले राजु लामाको ‘तिमीलाई देखेर‍...’ गीत गाए ।

शिक्षककै प्रोत्साहनले पहिलो प्रस्तुति दिएका सुशान्तले विद्यालय र छरछिमेक सबैको मन जिते । त्यही प्रस्तुतिले देउसीभैलोदेखि अन्य स्थानीय कार्यक्रममा सुशान्तको खोजी हुन थाल्यो । त्यही बेला ‘जीन्दगी सरर...’ गीतका गायक सुशान्तले पहिलोपटक आफ्नो गाउने क्षमता पहिचान गरे । 

विराटनगरमा हुर्किएका सुशान्त लोडसेडिङ हुँदा प्राय: बार्दलीमा बसेर घन्टौँसम्म हिन्दी गीत गाउँथे । बार्दलीमै बसेर आफूले ठूलो मञ्चमा उभिएर प्रस्तुति दिइरहेको कल्पिन्थे । यद्यपि, उनलाई व्यावसायिक गायक बन्ने सपना पूरा हुन सक्दैन भन्ने लाग्थ्यो । ‘त्यतिबेला स्थिति फरक थियो । संगीतलाई पेसा बनाउनेबारे सोच्न पनि मुस्किल थियो । म गायक बन्छु भनेर भन्नु मेरो आमाबुवालाई थप बोझ मात्र हुन्थ्यो । उहाँहरूसँग पर्याप्त लगानी पनि थिएन,’ घिमिरेले भने । 

सुशान्तले गायनलाई निरन्तरता दिए पनि पढाइलाई नै प्राथमिकता दिए । उनले गायनलाई सोख मात्र बनाउने र इन्जिनियरिङ गर्ने विचार गरे ।कलेजका साथीहरूले उनलाई संगीत क्षेत्रमै लाग्न उत्प्रेरित गरिरहन्थे । कक्षा छोडेरै पनि दिनभर सुशान्तका गीतमा रमाउँथे । यसैले सुशान्तलाई आफ्नै गीत रचना गर्न प्रेरित गर्थ्यो। 

सन् २०१७ सम्म आइपुग्दा घिमिरेले ‘कभर सङ’हरु गाउन र बारहरूमा प्रस्तुति दिन थालेका थिए । फुलटाइम काम गर्दै संगीतलाई पनि उनले निरन्तरता दिइरहेकै थिए । एक चिनियाँ निर्माण कम्पनीमा फुलटाइम काम गर्ने उनी बिहानै ८ बजे काममा जान्थे । साँझमा फुर्सद मिल्ने बित्तिकै गीतार बोकेर प्रस्तुती दिन बारमा पुग्थे ।

त्यतिबेला उनले दौडधुप र व्यस्ततामै दिन बिताइरहेका थिए । ‘त्यो दौडधुपको पनि छुट्टै मजा थियो’, घिमिरे सम्झन्छन् । तर बारमा काम गर्नु पनि उनको लागि सहज भने थिएन । बारमा काम गर्नकै लागि उनले घरमा झुट बोलेका थिए । ‘गाउँमा सबैजना रातको ८ बजेसम्म सुतिसक्छन्,’ सुनसरीको चतरा घर भएका सुशान्तले भने, ‘त्यसैले म सधैँ रुममै छु भनेर झुट बोल्थे । आवाज नआउने ठाउँ, जस्तै टोइलेटमा गएर फोन गर्थेँ ।’

तर उनलाई सधैँ ‘चताराका मानिसहरुले यो त बिग्रियो, नराम्रो संगतमा लाग्यो’ भन्लान भन्ने डरले भने सताइरहन्थ्य । एकदिन सुशान्त साथीहरुसँग हिन्दी गीत गाइरहेका थिए । त्यत्तिकैमा ‘मन्त्र गीतार’का संस्थापक अनुप शर्माले उनको स्वर सुनेपछि सुशान्तलाई कुनै गीत छ कि भनेर सोधे । सुशान्तले शर्मालाई ‘परी’ गीत सुनाए । यो गीत सुनेर शर्मा निकै प्रभावित भए । त्यही दिन उनैले आफ्नो मन्त्रा आर्टिस्ट फण्डबाट घिमिरेलाई सहयोग गर्ने निर्णय गरे । 

त्यो दिन शर्मासँगको भेटले सुसान्तको संगीत यात्रा परिवर्तन गर्यो । मन्त्र गीतारले स्टुडियो रेकर्डिङदेखि भिडियो सुटसम्मको व्यवस्था गर्यो । उनी भन्छन्, ‘मन्त्रा गीतार मेरो लागि भगवान् बराबर छन् । उनीहरुको सहयोगबिना यो यात्रा सम्भव थिएन ।’ सुशान्तले १० वटाभन्दा बढी गीत  रिलिज गरिसकेका छन् । तर उनको गीत ‘जिन्दगी सररर’ले उनलाई धेरै स्रोतामाझ परिचित गरायो । त्यतिबेला उनको गीत सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।  

आफ्ना गीत जीवनका अनुभवहरुसँग जोडिएका सुशान्त बताउँछन् । जीवनमा भोगेका दुःख र संघर्षले आफूलाई प्रेरित गर्ने गरेका उनको भनाइ छ । आफ्नो गीत ‘मन चरी’ ले ठ्याक्कै आफ्नो जीवनको एक कठिन घटनालाई दर्शाउने सुशान्तले बताए । ‘काम छोडेर स्वतन्त्रता खोजेको बेलाको गीत हो मन चरी,’ उनी भन्छन् ।

हाल, उनको युट्युब च्यानललाई ७० हजारभन्दा बढीले सब्स्क्राइब गरेका छन् । उनी हिन्दी संगीत क्षेत्रमा पनि केन्द्रित छन् । उनको ब्यान्ड ‘सुसान्त र राग’ पनि नेपाली संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्यका साथ अघि बढिरहेको छ ।

संस्कृति

Link copied successfully