काठमाडौँ — आगामी चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिल्म ‘भूठान’ छानिएको थियो । फिल्म छानिएसँगै निर्माताहरूले आपत्ति जनाएपछि विवाद निम्तिएको थियो । अब भने विनोद पौडेल निर्देशित उक्त फिल्म ‘निफ’मा सहभागी नहुने भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिले एक विज्ञप्तिमार्फत् ‘भूठान’को प्रतिस्थापनमा ‘सानो संसार’लाई छनोट गरिएको जनाएको छ । सिद्धार्थ पुडासैनीले निर्देशन गरेको ‘सानो संसार’ गत असोज ११ गते मा पहिलो पटक रिलिज भएको थियो । तर त्यतिबेला देशभर गएको बाढीपहिरोका कारण फिल्मको प्रदर्शन केही दिन नबित्दै स्थगत गरियो ।
दोस्रो दोस्रो पटक प्रदर्शन भए पनि फिल्मले हलहरूमा दर्शक पाएन । मध्यमवर्गीय परिवारको कथा उठान गरेको यो फिल्ममा सितादेवी तिमल्सिना, राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ ।
अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको ‘भूठान’ भने आगामी वैशाख १२ गते रिलिज हुँदैछ । फिल्ममा अभिनेता हरिवंश आचार्यको प्रमुख भूमिका छ । हलिउड अभिनेता बु्रस डर्नले पनि विशेष भूमिका निर्वाह गरेका छन् । फिल्ममा अभिनेता दयाहाङ राई, भारतीय कलाकार अनुराधा मजुमदार, अभिनेत्री पूजा चन्द (लामा), रिचा घिमिरेलगायतको अभिनय छ ।
त्यसैगरी, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायतका कलाकार फिल्ममा छन् । अब निफ महोत्सवमा ‘सानो संसार’सहित ७० देशको ६ सय भन्दा बढि चलचित्रबाट ४० देशका ८७ वटा छानिएका छन् ।
