विराटनगर — नाटक देखाउन कथा चाहिन्छ । पात्र र परिवेश चाहिन्छ । नाटकमा फिल्म छायांकनजसरी री-टेक हुँदैन । के स्कुले बालबािलकाले नाटक खेल्न सक्छन् ? विद्यार्थीलाई रंगमञ्च चिनाउने प्रयास गर्दै आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको १० दिने विद्यालय नाटक महोत्सव २०८० मा विद्यार्थी मात्रै होइन शिक्षकले पनि नाटक लेखन र निर्देशनमा आफ्नो सीप देखाएका छन् ।
विराटनगरको हाटखोलास्थित गुरुकुलको वालकृष्ण पोखरेल नाटकघरमा भदौ २२ देखि सञ्चालित महोत्सव आइतबार समापन भएको छ । महोत्सवमा आयोजक गुरुकुल र ९ विद्यालयका गरी १० वटा नाटक मञ्चन गरिएका थिए ।
शिक्षक र विद्यार्थीको सहभागितालाई प्रोत्साहन गरिएको महोत्सवमा १ सय २० भन्दा बढी विद्यार्थीले अभिनय गरेका थिए ।
२०७६ र २०७९ सालपछि यो वर्ष तेस्रो संस्करणका रुपमा आयोजना गरिएको महोत्सवमा सहभागिताका लागि डेढ दर्जन विद्यालयले आवदेन दिएका थिए । ९ शैक्षिक संस्थालाई मात्र सहभागी गराउने महोत्सवको ढाँचाअनुसार विद्यालय छनोट गरी गुरुकुलले निःशुल्क प्राविधिक सहयोग गरेको थियो ।
नाटक तयार गर्न कार्यशाला सञ्चालन गर्ने, कथा-नाटक लेख्ने तथा खोजी‚ निर्देशन गर्ने तथा मञ्चनपूर्व गुरुकुलकै नाटकघरमा विद्यार्थीहरुलाई रिहर्सल गराउन समेत आरोहणले निःशुल्क सहयोग गरेको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष तथा महोत्सव निर्देशक भैरव क्षेत्रीले बताए । त्यस्तै मञ्च–प्रकाश परिकल्पना तथा निर्माण, परिचालन लगायत सम्पूर्ण प्राविधिक कामको जिम्मा आयोजक संस्थाले नै लिएको थियो । उद्घाटनमा गुरुकुलले भरत कार्कीको निर्देशनमा ‘नेताजी’ नाटक प्रस्तुत गरेको थियो । त्यसपछिका दिनहरुमा मोडर्न एरा इङलिस स्कुलले ‘आधा सत्य‚’ ग्रीनल्याण्ड माविले ‘कोपिला’, ग्रेडेड इङलिस मिडियम सेकेण्डरी स्कुलले ‘तितो बोली सच्चा गुण‚’ जेसी बाल सदन माविले ‘अबोध‚’ लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले ‘चम्किला अनुहारहरु‚’ हेरिटेज इन्टरनेशनल स्कुलले ‘विछोड‚’ पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले ‘स्वाद‚’ जनपथ माविले ‘खैराँती मास्टर’ र कान्तिपुर माविले ‘आमा’ मञ्चन गरेको थियो ।
बाल मनोविज्ञान, सामाजिक विकृति, मेलमिलाप र सहिष्णुता जस्ता विषयहरुमा देखाइएका नाटकहरुमा विद्यार्थीहरुको अभिनय धेरैले मन पराएका थिए । ‘आधा सत्य’ नाटकमा बालबालिकाहरुलाई उपेक्षा गर्दा उनीहरुमा पर्ने मनोवैज्ञानिक असरलाई देखाइएको थियो । यस्तै ‘कोपिला’ नाटकमा बोल्ने शैलीकै कारण मानिसहरुलाई भेदभाव गर्नु हुँदैन भन्ने सन्देश दिइएको थियो ।
रामविक्रम सिजापतिको कथालाई लोकेश दंगालले निर्देशन गरेको उक्त नाटकले सामाजिक चेतना वृद्धिका लागि प्रोत्साहन गरिएको थियो । शिक्षक नगेन्द्र भट्टराईले निर्देशन गरेको नाटक‘अबोध’ले अभिभावकले समय नदिँदा बालबालिकामा पर्ने असरलाई देखाइएको थियो । यस्तै विद्यार्थीहरु चाहत रिजाल र प्रयम लामिछानेले निर्देशन गरेको ‘चम्किला अनुहारहरु’ले एकै ठाउँ बस्दा हुने मनमुटावकै कारण सम्बन्धविच्छेद गर्न नहुने सन्देश थियो ।
‘विछोड’मा वैदेशिक रोजगारीले नेपाली समाजमा ल्याएको विचलनको पाटो देखाएको थियो भने ‘स्वाद’ मा वर्गीय असमानताका आयामहरु देखाइएको थियो । यस्तै शिक्षक शंकरप्रसाद सुवेदीले निर्देशन गरेको एकांकी ‘खैराँती मास्टर’ मा सामाजिक विकृतिलाई उजागर गर्दै सुधारवादी चेतको सम्प्रेषण गरिएको थियो ।
आइतवार मञ्चन भएको ‘आमा’ले आमा र बच्चाहरुको सम्बन्ध निकै मार्मिक ढंगले पेस गरेको थियो । महोत्सवमा सहभागी विद्यालयका नाटकमध्ये रंगकर्मी खेम नेपाली, साहित्यकार सुमन पोखरेल र रंगकर्मी सुनीता घिमिरेको निर्णायक समितिले महोत्सवमा पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ लाई उत्कृष्ट नाटक, ‘कोपिला’मा अभिनय गर्ने ग्रीनल्याण्ड स्कुलका विद्यार्थी आरभ कोइराला उत्कृष्ट अभिनेता र सम्पदा निरौला उत्कृष्ट अभिनेत्री घोषणा गर्दै पुरस्कृत गरे ।
महोत्सवले स्कुले विद्यार्थीलाई रंगमञ्चसँग जोड्ने प्रयासलाई सार्थक गरेको र विद्यालय स्तरबाटै अब रंगमञ्चप्रति आकर्षण बढनेमा आयोजक विश्वस्त हुने महोत्सवका संयोजक दीपेश भण्डारीको प्रतिक्रिया थियो ।
