संखुवासभा — खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरुङ ट्रस्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई प्रदान गरेको छ ।संखुवासभा सदरमुकाम खाँदबारीमा आओजित कार्यक्रममा श्रेष्ठलाई ट्रस्टले ५० हजार रुपैयाँ राशिसहित सम्मान–पत्र प्रदान गरेको हो ।
२०२५ साल पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीत र संगीतको क्षेत्रमा पदार्पण गरेका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।
यसअघि वरिष्ठ गीतकार रत्नशम्शेर थापा,वरिष्ठ संगीतकार प्रकाश गुरुङ,वरिष्ठ जनपक्षीय गायक रामेशलाई प्रदान गरिएको थियो । यसैगरी ट्रस्टले प्रतिभा पुरस्कार गायक भविन ढुंगानालाई प्रदान गरेको छ । दर्जनौँ गीतका स्वर र संगीत भरेका ढुंगाना त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका संगीत शिक्षकसमेत हुन् । प्रतिभा पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।
यसअघि यो पुरस्कार मेलिना राई,ओमप्रकाश राई र सुसन लामालाई प्रदान गरिएको थियो । खेमराज गुरुङ ट्रस्ट नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्नेलगायतका उद्देश्य राखेर २०७४ सालमा स्थापना गरिएको हो ।
‘वारि जमुना, पारि जमुना’लगायत दर्जनौँ लोकप्रिय गीतका सर्जक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो ।
