काठमाडौँ — लोकनाटक 'घेरो' इजिप्टमा मञ्चन हुने भएको छ । इजिप्टको लक्सर सहरमा हुने 'द इन्टरनेसनल थिएटर फेस्टिभल फर साउर्थन युथ' को छैठौं सत्रमा उत्कृष्ट १३ अन्तर्गत नाटक सहभागी हुँदैछ ।
शुक्रबार 'घेरो' नाटकको टोलीले पत्रकार सम्मेलन गर्दै उक्त नाटकका लागि ९ जना कलाकार मार्च १३ मा इजिप्ट जाने गर्ने जानकारी दियो । कार्यक्रम मार्च १४ देखि मार्च २१ सम्म हुने नाटकका लेखक केदार पौडेलले जानकारी दिए । नाटक मञ्चन कार्यक्रममा इजिप्टका लागि नेपालका कार्यबाहक राजदूत दिपक घिमिरेको पनि सहभागी हुने उनले जानकारी दिए ।
इन्द्रेणी थिएटरले उत्पादन गरेको नाटकमा नेपाली समाजमा कुरीतिहरुले पारिरहेको असरको विषय समेटिएको छ । 'नेपाली समुदायबाट लोप हुँदै गएको बालन शैलीमा यसलाई प्रस्तुत गरिएको छ,' पौडेलले भने, 'एउटा साधारण, सामान्य घटनाको गलत बुझाइले कतिसम्म नकारात्मक असर गर्दछ र समाजका खराब व्यक्तित्वहरुले कसरी त्यसको फाइदा उठाउँछन् भन्ने विषयवस्तु नाटकमा देख्न पाइन्छ र सजिलैसँग बुझ्न पनि सकिन्छ । बालन शैलीलाई प्रयोग गरिएको, भजनबाट कथावाचन गरिने र गण्डकी प्रदेशको बोलीचाली तथा लबज नै नाटकका बलिया पक्ष हुन् ।'
कपिल शर्माको निर्देशन रहेको 'घेरो'को प्रकाश परिकल्पना विभु भुसालको रहने छ भने प्रकाश व्यवस्थापन दिपेन्द्र पौडेलको हुनेछ । नाटकमा विनोद पौडेल, रेम रसाइली, ज्योति हमाल, कपिल शर्मा, निलम तामाङ, रामहरि अधिकारी, अनिल तिमिल्सिनाको अभिनय रहने छ । नाटकको मञ्च परिकल्पना सरोज अर्यालले गर्नेछन् ।
नाटक यसअघि नेपालका विभिन्न स्थान, भारत तथा दक्षिण कोरियामा मञ्चन भइसकेको छ ।
