३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

काठमाडौं ट्रिएनाले : कलामा समकालीन साझा समस्याको उठान

एक महिनासम्म चल्ने कला महोत्सवमा ४० देशका १ सय ३० भन्दा बढी कलाकारका ३ सयभन्दा बढी कला प्रदर्शनमा
दक्षिणपूर्व एसियादेखि ल्याटिन अमेरिकासम्म बहसमा रहेको सीमान्त समुदाय र तिनका इतिहास, संस्कृति, औपनिवेशिकता, परम्पराका पक्षमा महोत्सव केन्द्रित
सुशीला तामा‌ङ

काठमाडौँ — आदिम थलो, संस्कृति, ज्ञान, शिल्प र सभ्यतालाई भुल्दै गएको समाजको निरन्तरता विश्वको साझा कठिनाइ बन्दै गएको छ । तिनै विश्व समुदायको समस्या कलामार्फत उठान गर्दै समानान्तर रूपमा अगाडि बढाउन एकमहिने अन्तर्राष्ट्रिय कला महोत्सव ‘काठमाडौं ट्रिएनाले २०७७’ राजधानीमा चलिरहेको छ ।

काठमाडौं ट्रिएनाले : कलामा समकालीन साझा समस्याको उठान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट फाउन्डेसनको सहकार्यमा मंगलबारदेखि भइरहेको महोत्सवमा ४० देशका १ सय ३० भन्दा बढी कलाकार ३ सयभन्दा बढी सिर्जना लिएर सहभागी भएका छन् ।

महोत्सवमा आदिवासी, सीमान्त समाजका संस्कृति, सभ्यता, प्रविधिको प्रयोग तथा विस्तार, महिला मुद्दा, जलवायु परिवर्तन, युद्ध, राजनीतिक विचलन, प्राकृतिक प्रकोप, धर्म तथा दर्शनलाई जोड दिएर सिर्जना गरिएका कला प्रदर्शनीमा छन् । त्यस्ता कलाकृति बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी, नेपाल आर्ट काउन्सिल, ललितपुरस्थित पाटन संग्रहालय, बहादुर शाह बैठक, बौद्धस्थित तारागाउँ संग्रहालयमा अवलोकन गर्न सकिन्छ ।

कलाका विभिन्न विधालाई समेटेर सिर्जनामा समकालीन समाजलाई उठान गर्ने हेतुले सन् २००९ मा सुरु भएको महोत्सवको यो चौथो संस्करण हो । सन् २०१२ मा दोस्रो र पछिल्लो पटक २०१७ मा महोत्सव गरिएको थियो । सिद्धार्थ आर्ट फाउन्डेसनका अनुसार प्रत्येक तीन वर्षमा महोत्सव गर्ने योजना रहे पनि २०१५ मा महाभूकम्प र २०२० मा कोरोना महामारीले गर्दा महोत्सव हुन सकेन ।

यसअघिका महोत्सवमा महिला मुद्दा, जलवायु परिवर्तन, कलालाई छुट्टाछुट्टै प्रस्तुत गरे पनि अहिले समग्र पक्षलाई समेट्ने जमर्को गरिएको महोत्सवका क्युरेटर हितमान गुरुङले बताए । ‘आदिवासीको मुद्दा, सीमान्त समुदायमाथि राज्यको दमन नीति, शिक्षा, स्वास्थ्यजस्ता पक्षमा असमानता, महिला हिंसा, दलन तथा उत्पीडनको कथालाई अझैसम्म कलाका रूपमा स्थान दिएको पाइँदैन,’ उनले भने, ‘विश्वका आदिवासी र तिनका इतिहास, संस्कृति तथा ज्ञानलाई महोत्सवमा कलाका विभिन्न फर्ममा देख्न सकिन्छ ।’

आप्रवासन र बसाइँसराइको समस्या भोगिरहेका कैयौं मुलुकका साझा समस्या, ओझेल परेको परम्परागत पक्षलाई महोत्सवले जोड दिएको उनको भनाइ छ । आदिवासी महिलाका ज्ञान, सीप र मुद्दासहित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समेत यो संस्करणले प्रतिनिधित्व गर्ने उनले बताए ।

नेपाल आर्ट काउन्सिलमा प्रदर्शित रोमानियाको भेडाको ऊनबाट निर्मित ‘लाइट कार्पेट’ होस् या कर्णाली क्षेत्रको मौलिक संस्कृति झल्काउने पोतेको ‘जाल्या’, महोत्सवलाई मौलिक आकर्षण दिएका छन् । अत्याधुनिक सुविधा सम्पन्न मुलुकको खोजीमा आज रोमानियाका जनता अमेरिका पलायन हुन थालेपछि त्यहाँको जनसंख्या घट्ने क्रम जारी छ । यसलाई लाइट कार्पेटमार्फत कलाकारले प्रतीकात्मक रूपमा बुझाउन खोजेका छन् ।

विवाहजस्ता उत्सवमा कर्णाली क्षेत्रमा महिलाले महत्त्वपूर्ण गहनाका रूपमा प्रयोग गर्ने ‘जाल्या’ लोप हुने अवस्थामा छन् । कर्णाली आर्ट सेन्टरले त्यसलाई खोज तथा अनुसन्धानसहित सिर्जना गरेर महोत्सवमा ल्याएको छ ।

युद्धका घाउ, रोजगारीका नाममा विदेश पलायन हुनुका पीडा तथा संघर्षलाई प्रदर्शनीमा देख्न सकिन्छ । सबै तहका संरचनालाई उठान गर्दै सिर्जनामा बौद्धिकतालाई समेत जोड दिएर आजको समय देखाउन खोजेको महोत्सवका अर्का सहक्युरेटर शिलासा राजभण्डारीले बताइन् । ‘कला सामाजिक संरचनासँगै आदिवासी समुदायको बौद्धिक पक्षलाई पनि कदर गर्नुपर्छ भन्ने महोत्सवको महत्त्वपूर्ण पक्ष हो,’ उनले भनिन्, ‘कलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै आदिवासी तथा दलनमा परेकाहरुको आवाज कलामार्फत उठाउन जरुरी छ ।’

तारागाउँमा प्रदर्शित कलाले समकालीन विश्वलाई कृत्रिम वातावरण सिर्जनाभन्दा प्राकृतिक पक्षमा जोड दिनुपर्ने सन्देश छोडका छन् । पाटन संग्रहालयमा परम्परागत धर्म, दर्शन, तन्त्रमन्त्र, औषधोपचार कला, धार्मिक तथा भौगोलिक नक्सा, शरीर, तिनीहरूको भित्री भाग, नेटवर्क गरिएका नक्सा जडान गर्ने कलाकृति प्रदर्शनरत छन् । सिद्धार्थमा भने भूकम्पपछिको मानव निर्मित संरचनाको भग्नावशेष, कविताका फर्ममा मानव भावका प्रस्तुति देख्न सकिन्छ ।

महोत्सवमा बुधबार कर्णाली कला केन्द्रको महिला समूहले हुड्के नाच प्रस्तुत गर्‍यो । विशेषगरी मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा पौराणिक, राजामहाराजाका कथा भनेर पुरुषले गाइने र नाच्ने गरिने यसमा महिला समूहले महिलाकै पीडा, दुःख र संघर्ष कहे । यस प्रकारका महोत्सवले नेपाली कला विस्तार गर्न टेवा पुर्‍याउने कला समीक्षक रमेश खनालले बताए । ‘यसबाट नेपाली कलालाई विश्वव्यापीकरण गर्न सकिन्छ । लुकेका कला, सीप तथा ज्ञानको संरक्षण र सम्वर्द्धन हुन सक्छ,’ उनले भने ।

महोत्सव दक्षिणपूर्व एसियादेखि ल्याटिन अमेरिकासम्म बहसमा रहेको सिमान्तकृत समुदाय र तिनका इतिहास, संस्कृति, औपनिवेशिकता, परम्पराका पक्षहरुमा केन्द्रित छ । भूगोलमा मुलुकहरुबीच सिमाना रहे पनि कलामार्फत विश्वलाई एक बनाउँदै साझा समकालीन विषय उठान गर्नु महोत्सवको उद्देश्य रहेको फाउन्डेसनकी अध्यक्ष संगीता थापाले बताइन् ।

चैत १७ सम्म हुने महोत्सवमा नेपालसहित भुटान, म्यान्मार, फिलिपिन्स, कोलोम्बिया, थाइल्यान्ड, अमेरिका, रोमानिया, फ्रान्स अस्ट्रेलिया, ताइवान, रसिया, ग्वाटेमाला, इटाली, जर्मनी, चीन, अफगानिस्तान, भियतनाम, स्विट्जरल्यान्ड, न्युजिल्यान्ड, इन्डोनेसियालगायत देशका कलाकार सहभागी छन् ।

प्रकाशित : फाल्गुन २०, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?