२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

प्रज्ञाको ‘तस्बिरमा नेपाल’

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठानले सिंगो नेपाललाई तस्बिरमा हेर्न सकिने सामग्रीका रूपमा ‘तस्बिरमा नेपाल’ नामक पुस्तक बजारमा ल्याएको छ । नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका हिमाल, पहाड, तराई र उपत्यका सबै क्षेत्रका महत्वपूर्ण तस्बिरहरूलाई एउटै कृतिमा समेटेर प्रकाशन गरेको हो ।

प्रज्ञाको ‘तस्बिरमा नेपाल’

पुस्तकमा फोटो पत्रकार भरतबन्धु थापाले स्थलगत तथा हवाइ साधनको प्रयोग गरी खिचेका नेपालको भौगोलिक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ५ सयभन्दा बढी रंगीन तस्बिरहरू यस पुस्तकमा समेटिएका छन् । पुस्तकमा प्रदेश नम्बर १ देखि सुदूरपश्चिम प्रदेशसम्मका सात प्रदेशलाई सात खण्डमा विभाजन गरी तिनलाई चिनाउने दृश्यसामग्रीहरूलाई अलग–अलग रूपमा प्रस्तुत गरिएकोले पुस्तक फोटो पत्रकारिता तथा नेपाल चिनाउने सामग्रीहरूमध्येमा निकै उपयोगी हुने प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताए ।

‘एउटै कृतिमा एकै ठाउँमा बसेर सिंगो देश हेर्न सकिन्छ,’ उपाध्यायले भने, ‘पुस्तकमा तस्बिरै–तस्बिरबाट नेपाललाई देखाइएको हुनाले यो सबै उमेरसमूहका लागि रोचक, मनोरञ्जक र ज्ञानवद्र्धक पनि हुनेछ ।’ नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, पुरातात्विक विषयमा गहिरो अनुसन्धान गर्न चाहनेले पनि पुस्तकबाट महत्वपूर्ण सूचनाहरू प्राप्त गर्न सक्नेछन् ।

प्रतिष्ठानले नेपाल चिनाउने बृहत् ग्रन्थका रूपमा ‘नेपाल दर्पण’ नामक ग्रन्थ प्रकाशन गर्ने घोषणा दुई वर्षअगाडि नै गरेको थियो । कोभिड–१९ का कारण सरकारबाट आवश्यक बजेट प्राप्त नभएपछि ग्रन्थको अनुसन्धान तथा लेखन कार्य पूरा हुन सकेको छैन । तस्बिरबाट मात्र भए पनि सिंगो मुलुक चिनाउने योजना पूरा भएको उपाध्यायले सुनाए । उनका अनुसार प्रतिष्ठानको बिक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा पुस्तक प्राप्त गर्न सकिनेछ ।

प्रकाशित : मंसिर ९, २०७८ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?