आधुनिकताले बिर्साएको सहरको कथा

भौतिक विकासको अर्को पाटोमा सामाजिक जीवन र संस्कृति छ, यसमा लुकेका कथा कलाकर्मीले टिपेर ल्याएका छन्

कार्तिक १८, २०७८

सुशीला तामा‌ङ

काठमाडौँ — सहर भन्नेबित्तिकै मानसपटलमा कस्तो दृश्य आउला ? अग्ला–अग्ला भवन, सडक, सवारीका ताँती, चर्को ध्वनि, अव्यवस्थित बजार, अव्यवस्थित ढल, मानिसका भीड र व्यस्त दैनिकी । सहरको विकासक्रम योभन्दा पृथक पक्कै छैन । सहरको चिनारीप्रति चिन्तितको जमात छ, जो परिचयको दायरा फराकिलो पार्दै फरक रूपमा चिनाउने प्रयासमा छ ।

तिनैमध्येका एक हुन् चित्रकार सुजन डंगोल । उनीसँगै कलाकारको समूहले सहरको कथा खोतल्ने प्रयत्न गरेका छन् । ‘एउटा सहर बन्न हजारौं वर्षको समय लाग्छ,’ उनी भन्छन्, ‘सहरसँगै यहाँको सभ्यता, संस्कृति, भाषा, कृषि, खानपान, भेषभूषा, बाजागाजाजस्ता अनेक पक्षहरू जोडिएका छन् ।’ 

आधुनिकीकरण सहरका जान्नैपर्ने कथालाई छोपिरहेको उनको भनाइ छ । वास्तविक सहरको कथालाई आम जनमानसमा पुर्‍याउन डंगोलसहित अनिल रञ्जित, अभिषेक शाह, शर्मिला श्रेष्ठ, अशेष डंगोल, रुपेशमान सिंहलगायतको समूहले कला प्रदर्शनी गर्ने जमर्को गरेको छ । 

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा गत शुक्रबारदेखि जारी ‘टेल अफ ए सिटी’ शीर्षक प्रदर्शनीमा समूहले चित्र, फोटो, विभिन्न बीउविजन तथा परालको सहायताका बनाएका कलाकृति, पुस्तक तथा खानाको सहायतामा काठमाडौं उपत्यकाको सांस्कृतिक र ऐतिहासिक पक्षका मौलिकता बोकेको कथालाई प्रस्तुत गरेको छ । सहरको कथाअन्तर्गत नै रहेर प्रदर्शनी सुरुवातकै दिन उपत्यकामा प्रचलित नेवारी बाजा, धुन तथा नृत्यसमेत प्रस्तुति गरिएको थियो । 

प्रदर्शनीमा सहरलाई चिनाउने चित्रकार डंगोलका कलम र मसी माध्यमबाट तयार गरिएका दुई दर्जन चित्र छन् । उनको रेखाचित्रहरूले धार्मिक, सांस्कृतिक तथा सम्पदाहरू समेटिएको सहरको विस्तृत वर्णन छ । लिच्छवि, मल्ल तथा शाहकालीन समयमा बनेका प्यागोडा शैलीका मन्दिर, मूर्ति, चैत्य तथा परम्परागत घरका संरचनालाई उनले निकै सजीव बनाई चित्रण गरेका छन् ।

प्रदर्शनी अवलोकन गरिरहँदा कल्की, वराह, भगवान् कृष्ण, भगवान् गणेशजस्ता चित्रहरूले सहरी मौलिक कथाहरू बोलिरहेको भान हुन्छ । ‘हामीले मौलिक अस्तित्व गुमाइरहेको सहरको पुरानो कथालाई प्रदर्शनीमार्फत ब्युँताउने कोसिस गरेका हौं,’ डंगोल भन्छन्, ‘सहर भनेको भौतिक संरचना मात्र होइन, जोडिएर आउने सांस्कृतिक तथा सामाजिक देखाउनु हाम्रो उद्देश्य हो ।’ 

चार वर्षदेखि सहरलाई चिनाउने चित्रहरू प्रदर्शन गर्न थालेको उनले सुनाए । भन्छन्, ‘मैले सानो छँदा देखेको माटोका घरहरू भत्काएर नयाँ घरहरू बन्दै गए । सहरलाई पैसा, व्यापार, भौतिक संरचनासँग मात्र तुलना गरियो । यहाँका आफ्नो भन्ने माया जगाउने कुराहरू नै धरापमा छन् ।’ सबै कुरा चित्रमा मात्र बुझाउन र देखाउन सम्भव नहुने भएकाले सबैजसो आर्ट फर्ममा प्रदर्शनी गरिएको उनी सुनाउँछन् । 

प्रदर्शनीसँगै सहरको लोक तथा दन्त्य कथा बुझाउने पुस्तकहरूसमेत सहभागीले अध्ययन गर्न र समय बजीजस्ता नेवारी खानाको स्वाद चाख्न पाउँछन् । खोकनाको नेवार समुदायको धार्मिक तथा सांस्कृतिक अभ्यासलाई देखाउने प्रिन्ट चित्र तथा फोटोहरू, अशेष डंगोलको नेवारी समुदायमा चलिआएको ‘सिकाली जात्रा’ का तस्बिरहरूले उपत्यकाको सहरको चिनारी दिन्छन् । 

प्राचीन सहर चिनाउने चित्रहरूसँगै ग्यालरीका भित्तामा सजिएका शर्मिला श्रेष्ठका ‘सिड्स’ शीर्षक राखेर मिक्स मिडियाका माध्यममा प्रस्तुत गरिएका छन् । चामल, मस्याङ, बोडीजस्ता गेडागुडीलाई परालबाट बुनिएका चकटी, स–साना सुकुलमा राखेर प्रकृति र जीवनसँग जोड्दै आर्ट फर्ममा ढालिएका छन् । प्रकृतिमा एउटा बीउ उब्जिएर सुरु हुने बिरुवा बन्ने प्रक्रियासँग उनले मानिसको उत्पत्तिलाई जोडेकी छन् । यसबाट उनले मानिसलाई स्वार्थ त्यागेर प्रकृतितर्फ नै फर्कन उनको अनुरोध छ ।

प्रदर्शनीले आममानिसलाई सहरको वास्तविक कथा बुझ्नेतिर झकझक्याउने कलाकर्मी समूहको विश्वास छ । उपत्यकाको आफैंमा वास्तुकला तथा शिल्पकलाले भरिएको सांस्कृतिक सम्पदाको सहरको इतिहास रहेको प्रदर्शनीमा सहभागी जर्मनका वास्तुविद् निल्स गुत्सोले बताए । 

सुशीला

Link copied successfully