पाटन कलानगरी ‘रेड जोन’ मा

विश्व कला नगरीमा सूचीकृत हुने सहरमा आफ्नै आर्ट कलेज र तालिम केन्द्र हुनुपर्छ । सूचीकरणका बेला ललितपुर महानगरपालिकाले अर्काका कलेज र तालिम केन्द्र आफ्नो भनेर देखाएको थियो, आफ्नो लगानीमा भने योजना नै अघि बढाएन ।
प्रशान्त माली

ललितपुर — पाटन भिन्छेबहालका ७३ वर्षीय लोकराज बज्राचार्य प्रख्यात कालिगड हुन् । १३ वर्षको उमेरदेखि ढुंगाका मूर्ति बनाउने पेसामा लागेका उनका प्रस्तर कलाकृति जापानको क्योटो राष्ट्रिय संग्रहालय, अमेरिका, मलेसिया, हङकङ, ताइवानलगायतसम्म पुगेका छन् ।

पाटन कलानगरी ‘रेड जोन’ मा

जर्मनीमा भएको अन्तर्राष्ट्रिय कला प्रतियोगितामा भैरवको मुखाकृति बनाइएको उनको सिर्जनाले तेस्रो स्थान हासिल गरेको थियो । उनी अहिले फुर्सदमा छन् । कारण, कच्चापदार्थ अभाव हुनु ।

‘दक्षिणकालीको हात्तीवनबाट ढुंगा आउन छोड्यो । अहिले २ फिटभन्दा अग्लो मूर्तिको अर्डर आएमा फिर्ता पठाउनुपरेको छ,’ बज्राचार्यले भने । मुस्किलले ढुंगा पाए पनि अत्यन्त महँगो पर्छ । ‘कच्चा पदार्थ महँगो परेपछि मूर्तिको मूल्य पनि धेरै पर्न जान्छ,’ उनले भने, ‘यसले बजारमा माग पनि कमी हुन थाल्यो ।’ हस्तकलामा लगानीअनुसार उचित मूल्य नपाएका कारण निराश भिन्छेबहालका सुजन बज्राचार्यले विकल्पमा वैदेशिक रोजगारी रोजे । ५ वर्षअघि उनी मलेसिया उडे । अहिले फर्किएका उनी प्रस्तरकलाको अवस्था झन् खस्किएको देखेर चिन्तित छन् । भन्छन्, ‘यो पेसा मात्र नभई संस्कृति परम्परा पनि हो । संरक्षण प्रवर्द्धन गर्न सरोकारवाला निकायको ध्यान जाओस् ।’ ललितपुर महानगर–१२ का रिक्सन राजकर्णिकारले भने यो पेसा चटक्कै छोडेर क्याफे खोले । सानु बज्राचार्यको पाटन नकबहिलस्थित प्रस्तरकलाको वर्कसप जेनतेन सञ्चालन छ ।

यी केही प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै घाटा लाग्न थालेपछि हस्तकला छाडेर अन्य पेसा अँगाल्ने थुप्रैजना छन् । ललितपुर लिच्छविकालदेखि कलाका लागि प्रख्यात मानिन्छ । अरनिकोजस्ता राष्ट्रिय विभूति पनि यही जन्मेका हुन् । पाटनको ओकुबहाल र नागबहाल मूर्तिकला, टंगाल धातुकला र ताम्रकला, बुबहाल चाँढी, गाःबहाल सुनका गरगहना, इखालखु र बुङमती काष्ठकला, सुनधारा प्रस्तरकला, बालकुमारी माटाका सामान, लुभु र हरिसिद्धि कपडा उद्योग, सिद्धिपुर परालजन्य, बडिखेल बेत बाँसजन्य र चापागाउँ प्याङबाट उत्पादित सामानका लागि प्रख्यात मानिन्छन् । पछिल्लो समय धातुकला र मूर्तिकलामा बिचौलिया हावी भएकाले साना व्यवसायी पलायन हुने अवस्था रहेको कपितय कलाकर्मीको भनाइ छ । प्लास्टिकका नाङ्लो, डालो, मुडा, कुर्सी भित्रिनु र बाँस पाउन मुस्किल पर्नाले बेतबाँसजन्य, मानापाथी बनाएर दैनिक गुजारा चलाउन गाह्रो परेकाले प्याङ र बालकुमारीमा माटाका सामान उत्पादन ठप्पजस्तै छ । पेसा फेर्न नसकेर परम्परा भन्दै थामिरहेकाहरूको पनि हालत नाजुक छ । कोभिड–१९ महामारीपछि धेरैको बिजोग छ । हस्तकला प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका जनप्रतिनिधिले चासो नदिएको गुनासो गर्नेहरू पनि धेरै जना छन् । सरोकारवाला संघसंस्थाले पनि केही गरेका छैनन् ।

यस्तै स्थिति भएमा विश्व कला परिषद् अमेरिकाले ललितपुरलाई खतराको सूचीमा राख्न सक्ने चेतावनी परिषद्का एसिया प्रशान्त क्षेत्रका निवर्तमान उपाध्यक्ष धर्मराज शाक्यले दिए । परिषद्ले ललितपुरलाई २०७५ मा विश्वको ३५ औ कला नगरीमा सूचीकृत गरेको थियो । त्यतिबेला मुख्य गरी यी कलाकृति, खुला संग्रहालयको रूपमा रहेको सहर र यहाँका अमूर्त संस्कृतिलाई आधार बनाएको थियो । परिषद्को गाइडलाइनअनुसार ललितपुर महानगरले परिषद्मा वार्षिक प्रगति प्रतिवेदन बुझाउनुपर्छ । कला नगरीमा सूचीकृत भइराख्न परिषद्को प्रत्येक वर्ष हुने साधारणसभाबाट पारित हुनुपर्छ । दुई वर्षसम्म रिपोर्ट पेस नगरेमा कला नगरीको सूचीबाट नाम हटाउन सक्ने व्यवस्था छ । ‘जनप्रतिनिधिले कला नगरीको थप विकास गर्न यहाँका उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने, छुट्टै ब्रान्ड, संग्रहालय, बिक्री कक्ष खोल्ने, कालिगढलाई प्रत्साहनस्वरूप विभिन्न महोत्त्वाकांक्षी योजना ल्याउने प्रतिबद्धता जनाएका थिए,’ शाक्यले भने, ‘तर, महानगरले हस्तकला प्रवर्द्धन समिति गठन र तालिम दिनेबाहेक दिगो विकास हुने खालको केही गतिविधि गरेन ।’ वार्षिक रिपोर्ट पेस गर्न पटकपटक सहयोग गर्न नसकिने उनले बताए ।

परिषद्ले यस्तै कारणले ७ वटा सहरलाई कला नगरीको सूचीबाट हटाइसकेको छ । हस्तकला प्रवर्द्धन समिति संयोजक ललितपुर महानगर–२६ वडाध्यक्ष सुरेश महर्जनले धातुकला र मूर्तिकलाका सामान चीनले मेसिनबाट उत्पादन गरेकाले यहाँको व्यवसाय धरापमा परेको बताए । उनका अनुसार चिनियाँ सामान सस्ता छन् भने ललितपुरका उत्पादन लागत नै बढी पर्ने भएकाले महँगो छ । ‘त्यसमाथि २ मिटरभन्दा अग्लो मूर्ति चीनले प्रवेशमा रोक लगाएको छ,’ उनले भने, ‘आर्ट कलेज, तालिम केन्द्र, ब्रन्डिङ गर्ने काम ६ महिना एक वर्षमा पूरा हुने होइन् ।’ आर्ट ग्यालरी खोल्ने तयारीमा रहेको उनले बताए । विश्व कला नगरीमा सूचीकृत सहरले आर्ट कलेज र छुट्टै तालिम केन्द्र राख्नु अनिवार्य छ । दुई वर्षअघि काठमाडौं विश्वविद्यालयको हात्तीवनस्थित आर्ट कलेज र नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यको तालिम केन्द्र देखाएको थियो ।

ललितपुर महानगरले कला पढाउन छुट्टै शिक्षालय खोल्ने भनेको पनि भाषणमै सीमित भएको महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यको आरोप छ । ललितपुर महानगरले हस्तकला प्रवर्द्धन गर्न गत वर्ष एक करोड छुट्याएकोमा ४५ लाख रुपैयाँ मात्र खर्च भयो । यस वर्ष छुट्याएको ५० लाख भने खर्च हुन सकेको छैन । हस्तकला प्रवर्द्धन संयोजक महर्जनले बजेट सक्नु ठूलो कुरा नभएको बताए । ‘त्यसबाट हुने उपलब्धि महत्त्वपूर्ण हो,’ उनले भने । तिब्बतमा भने रिम्पोछें लामा गुरुहरूले चेला र गृहस्थ जीवन बिताउनेलाई शिक्षादीक्षा दिँदा संरक्षकका रूपमा अनिवार्य विभिन्न देवीदेवताका मूर्तिहरू राख्ने गरिन्छ । यसरी साक्षी राख्ने मूर्तिहरू नेपालबाट मगाउने पुस्तौंदेखि चल्दै आएको चलन हाल पनि निरन्तर छ । तिब्बतबाट मुख्यगरी मञ्जुश्री, पद्मसम्भव, तारा, लोकेश्वर, बज्रसत्त्व, महाकाल मूर्तिको अर्डर आउँछ । नेपालमा दीक्षा लिएका कालिगडहरूले मूर्ति प्रतिमा लक्षण शास्त्र अर्थात् देवतामा हुनुपर्ने सम्पूर्ण गुणहरूले भरिपूर्ण गरी बनाइन्छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शाक्य भन्छन्, ‘हस्तकला उद्योगअन्तर्गत मात्र व्याख्या गरिएको छ । कलाको विकास गर्न संस्कृति मन्त्रालयले कुनै पहल गरेको छैन ।’ नेपाल तामा पित्तल व्यवसायी महासंघका महासचिव रवीन्द्र ताम्राकारको भने छुट्टै गुनासो छ । सरकारले पर्यटकबाट वार्षिक करोडौं राजस्व संकलन गर्छ । पर्यटकहरूले हस्तकलाका करोडौं मूल्य बराबरको सामान खरिद गरेर आफ्नो देशमा लैजान्छन् । तर, उनीहरूलाई सेवा सुविधा दिन भने सरकारले दिन चासो नदिएको उनको भनाइ छ ।

‘हस्तकलासँग सम्बन्धित सरोकारवाला व्यक्तिहरू सम्पर्कमा आएमा छुट्टै पनि योजना बनाउन सकिन्छ,’ संस्कृति मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भने । नेपालबाट निर्यात हुने हस्तकलाका ८० प्रतिशत सामान उत्पादन ललितपुरबाट हुने गर्दछ । यहाँका कलाकृति इटली, डेनमार्क, नर्वे, क्यानडा, कोरिया गरेर विभिन्न ८० वटा देशमा निर्यात हुन्छ । हस्तकला महासंघले जनकपुरको मिथिला संस्कृतिलाई आधार मानेर विश्व कला नगरीमा सूचीकृत गर्न अध्ययन गरिरहेको छ । कला नगरीमा सूचीकृत हुन पुरातत्त्व विभाग, उद्योग वाणिज्य संघलगायत निकायले स्वीकृति दिनुपर्छ । छुट्टै औद्योगिक क्षेत्र हुनुपर्छ ।

प्रकाशित : वैशाख ९, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?