२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सुन्दरीका समाजसेवा सपना

अहिले नै मिस वर्ल्ड जितिहाल्छु भन्दिनँ : मिस नेपाल नम्रता श्रेष्ठ
छिटो बोल्ने बानीले गाली खान्थेँ : मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ
मधेसी महिलाकहाँ पुग्नुछ : मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा
ताज घर भित्र्याउने मन छ : मिस नेपाल सुप्रानेसनल सिमल कनौजिया
रीना मोक्तान

काठमाडौँ — प्रतिस्पर्धामा रहेका २० जनाको मनोकांक्षा एउटै थियो– मिस नेपालको उपाधि जित्ने । जितेका चार जनाले पाएका उपाधिअनुसार अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउने भएका छन् ।

सुन्दरीका समाजसेवा सपना

नम्रता, सुप्रिया, सन्ध्या र सिमलले आफ्ना अन्तरंग कान्तिपुरकी रीना मोक्तानलाई यसरी सुनाए–

अहिले नै मिस वर्ल्ड जितिहाल्छु भन्दिनँ : मिस नेपाल नम्रता श्रेष्ठ

२०१६ मा शीर्ष पाँचसम्म पुगेकी नम्रतालाई ‘मिस नेपाल २०२०’ मा फर्कंदा धेरैले भन्थे, ‘फेरि किन गा’को ।’ उनी मनमनै आफूलाई भन्थिन्, ‘यसपटक जित्नु छ, शिरमा ताज पहिरिनु छ ।’ उनले सोचेझैं नम्रताको शिरमा हालै ‘मिस नेपाल’को ताज सजियो । आफूले सानैदेखि देखेको सपना पूरा हुँदा उनी खुसी छिन् । ‘पहिलादेखि नै सोचेको कुरा पूरा हुँदा खुसी लाग्दोरहेछ,’ उनले भनिन् ।

खासमा सानो छँदा उनलाई मिस नेपालभन्दा पनि ‘मिस वर्ल्ड’ बन्ने रहर थियो तर उनले बिस्तारै थाहा पाइन्, मिस वर्ल्डमा जान मिस नेपाल बन्नुपर्ने रहेछ । सानैदेखि मिस नेपालबारे खोज्न थालिन् । २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठदेखि हरेक मिस नेपाललाई पछ्याउन थालिन् । ‘मिस वर्ल्डमा इसानी श्रेष्ठले ‘ब्युटी विथ द पर्पस’ जित्नुभएको मैले टीभीमा हेरेकी थिएँ । त्यतिबेला मेरो आँसु झर्‍यो । मलाई पनि त्यो स्टेजमा जानु छ भनेर घरमा जिद्दी गरेँ,’ उनी सम्झन्छिन् ।

भिडियो कुराकानी हेर्नुहोस्

सन् २०१६ मा पहिलोपटक मिस नेपालमा सहभागी हुँदा उनी १९ वर्षकी थिइन् । तालिममा आउनेबित्तिकै उनलाई आफूले आउन हतार गरेको अनुभव गरिन् तर फर्कने अवस्था थिएन । त्यसैले आफूले सक्ने प्रस्तुति दिइन् । ‘मेरो तयारी पुगेको छैन भन्ने थाहा भयो । अन्तिमसम्म पुगे पनि ताज जित्दिनँ भन्ने थाहा थियो,’ उनी सम्झन्छिन्, ‘मैले नजित्दा ढुक्क पनि भएँ । त्यसबेला अन्तर्राष्ट्रिय प्रतियोगितामा जानुपरेको भए सायद राम्रो गर्न सक्दिनथेँ ।’ चार वर्षपछि मिस नेपालमा फेरि आउन हिम्मत बटुलिन् । ‘हिम्मत एकदम ल्याउनुपर्‍यो । मलाई जित्नभन्दा पनि मैले जित्न सक्छु भन्ने विश्वास गर्न झन् कठिन थियो,’ उनी सुनाउँछिन् ।

२०१६ मा घर फर्केपछि उनले आफ्नो ज्ञानको परिधि बढाइन् । स्टेजमा बोल्न डराउँथिन् । त्यसमा आफूलाई सुधार्दै लगिन् । २ वर्षे किन्डरगार्टेन शिक्षण पेसाले थप सुधार गर्‍यो । २०१७ मा मन्टेश्वरी तालिम लिएकी उनले २०१८ मा गोंगबुको युरो किड्समा पढाइन् । त्यसपछि नाइटिंगेल स्कुलमा पढाइन् । कोभिड–१९ ले गर्दा बीचमा लकडाउन पनि भयो । त्यसपछि उनले राजीनामा दिइन् अनि मिस नेपालमा फर्किन् ।

नम्रता सधैँ नेपालले मिस वर्ल्ड जितोस् भन्ने चाहन्छिन् । योपटक सम्भावना उनका काँधमा आएको छ । २ वर्ष लगातार शृंखला खतिवडा र अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा आफ्नो बलियो उपस्थिति देखाए । २ उपाधि भित्र्याए । अहिले उनलाई अनुष्काले जहाँ छाडेकी थिइन्, त्यहाँसम्म पुग्नैपर्छ भनेर कमेन्ट आउन थालेका छन् । भन्छिन्, ‘अहिले नै मैले जितिहाल्छु भन्दा पनि पहिला प्रस्तुति दिने हो । शृंखला र अनुष्का दिदीले एकदम ठूलो स्थानमा पुर्‍याइसक्नुभयो । म पहिला त्यो तहसम्म पुग्नुपर्‍यो । त्यसपछाडि अगाडि बढ्ने हो ।’

मिस नेपालहरू एक वर्ष सक्रिय हुने अनि हराएर गएका उदाहरण अझै भेटिन्छ । नम्रता शृंखलाको उदाहरण दिँदै भन्छिन्, ‘अहिलेसम्म पनि कतिले शृंखला दिदीलाई नै मिस नेपाल भनिरहनुभएको छ । उहाँले एउटा ‘बार’ सेट गर्नुभएको छ । यति चाँडै बिर्सिन सकिन्छ जस्तो लाग्दैन । मभन्दा अगाडिका मिस नेपाल अझै पनि हुनुहुन्छ । त्यसैले हराउँछन् जस्तो लाग्दैन मलाई ।’

नम्रताको एउटा दर्शन छ, विद्यालय खोल्ने । मिस नेपाल बन्ने सपना पूरा गरेझैं आफ्नो दर्शन पूरा गरेरै छोड्ने उनले अठोट लिएकी छन् । अधिकांश सौन्दर्य प्रतियोगिताहरूले महिला सशक्तीकरणको आवाज उठाइरहेको हुन्छ । नम्रता आफूले चाहेको कुरा पूरा गर्न सकिन्छ भन्ने विश्वास महिलाहरूमा दिलाउनुपर्ने बताउँछिन् ।

छिटो बोल्ने बानीले गाली खान्थेँ : मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ

‘मिस नेपाल अर्थ जितिसकेँ’ भन्ने बल्ल अनुभव हुँदै छ सुप्रियालाई । फेसबुकतिर बधाईको ओइरो देखेपछि मात्र उनलाई आफूले जितिसकेको भान भयो । मिस नेपाल अर्थको ताज पहिरिँदा त्यसपछि के गर्छु भन्ने केही सोच्न सकिरहेकी थिइनन् । ‘मिस नेपालमा आउन धेरै अगाडिदेखि तयारी गरेको थिएँ । विश्वास नै लागेको थिएन,’ ताज लगाउँदाको क्षण सम्झिन् । सुप्रियाको तौल ६२ किलो थियो । उनले २ महिनामा १० किलो वजन घटाइन् अनि मिस नेपालमा सहभागी भइन् । ‘जिते पनि हारे पनि धेरै सिकेर फर्कन्छु’ भन्ने मानसिकतासाथ प्रतिस्पर्धामा सहभागिता अगाडि उनले आफूलाई तयार गरेकी थिइन् । उपाधिले थप ऊर्जा दिएको बताउँछिन् सुप्रिया । मिस नेपाल आउनुअगाडि उनी इमेज च्यानलमा प्रस्तोताका रूपमा चार वर्ष काम गरिन् ।

सानैदेखि ‘फेमस’ (चर्चित) हुने सोच्थिन् सुप्रिया । त्यसैले मिडिया क्षेत्रमा उनको झुकाव बढ्दै गयो । सेन्ट जेभियर्स कलेजमा सोसल वर्क अध्ययन गर्दै गर्दा उनले नव्यता म्यागाजिनमा इन्टर्न थालिन् । १८ वर्षको उमेरमै आत्मनिर्भर बन्ने सोचेर त्यता काम थालिन् । आफूले सोचेको कुरा पूरा गर्नुपर्छ भन्ने जिद्दी स्वाभाव छ सुप्रियाको । नव्यतामा काम गर्ने उनको निर्णयमा परिवारको साथ मिल्यो । त्यसपछि उनी टीभीमा प्रस्तोता बनिन् ।

‘हुन त मलाई २१ वर्षकै हुँदा मिस नेपाल आउने मन थियो तर त्यो बेला आइनँ । चार वर्ष मिडियामा काम गरेपछि मैले आफूलाई अपग्रेड गर्न भए पनि मिस नेपाल जानुपर्छ भन्ने भयो । अनि आएँ,’ उनले सुनाइन् । छिटो बोल्ने बानी थियो । तालिम अवधिभर यही कुराले कोरियोग्राफर रचनाको गाली खाइरहिन् । बिस्तारै बोल्न सिकिन् ।

अब ‘मिस अर्थ’मा नेपाललाई प्रतिनिधित्व गर्न निकै उत्साहित छिन् । सकेसम्म मिस अर्थको उपाधि नेपाल ल्याउने उनको ध्येय छ । त्यससँगै सुप्रियालाई अब कृषि क्षेत्रमा काम गर्ने मन छ । ‘हामी कृषिप्रधान देश भन्छौं तर अझ पनि हामी पछाडि छौं । यसमा युवावर्गको संलग्नता कम छ । त्यही भएर यस क्षेत्रमा काम गर्ने रहर छ । युवालाई आफ्नो क्षमता नेपालमै प्रयोग गर्न उत्साह दिन चाहन्छु,’ उनले भनिन् ।

मधेसी महिलाकहाँ पुग्नुछ : मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा

सांसद रामकुमार शर्मा र इन्दु शर्माकी छोरी हुन् सन्ध्या शर्मा । उनी सधैं बुबा र आमाका नामबाट चिनिइन् । मिस नेपाल इन्टरनेसनलको उपाधि जितिसकेपछि भने उनलाई एउटै कुराले खुसी दिलायो, ‘सायद आमाबुबा अब मेरा नामले पनि चिनिनुहुन्छ ।’ ताज जित्नासाथ उनको ध्यान सुरुमै अभिभावकतिर गएको थियो ।

उपाधि जितेको मध्यरातमा ओछ्यान पस्दा दिदीले आफ्नो भिडियो फेसबुकमा सेयर गरेको देखिन् । ‘मेरो छोरीले गरी भनेर आमा खुसीले कराउनुभएको’ सुनेर उनी भावुक पनि भइन् । रुँदै दिदीले सेयर गरेको भिडियो हेरिन् । ताज जित्दाको खुसी अझै उनको अनुहारमा झल्किन्छ । उनले मिस नेपालमा ‘ब्युटी विथ पर्पस’, ‘वुमन अफ सब्सटेन्स’ र ‘मिस पपलुर’ अवार्ड पनि उचालिन् ।

अब उनी अन्तर्राष्ट्रिय प्लेटफर्ममा आफूलाई सक्दो बलियो प्रस्तुत गर्ने तयारीमा छिन् । मिस नेपालमा उनले महोत्तरीलाई प्रतिनिधित्व गर्दै आएकी थिइन् । महोत्तरीमा महिलाहरू दबिएर बसेका छन् । दाइजो प्रथाको समस्या उस्तै छ । उनी यी सामाजिक मुद्दामा जनचेतामूलक काम गर्ने योजनामा छिन् । ‘मलाई महिला सशक्तीकरण कार्यक्रम लिएर आफ्नो गाउँमा जानु छ । यो एजेन्डा लिएर अगाडि बढ्नेछु,’ उनी सुनाउँछिन्, ‘मिस नेपालमा मधेसी समुदायकी केटी पुगेकी छे । मलाई देखेर उसले गर्न सक्छे भने हामीले किन सक्दैनौं भन्ने कुरा महिलाहरूमा पुगिसक्यो ।’

उत्पीडित महिलाहरूमा रोजगारीलगायत विभिन्न कार्यक्रम लिएर उनी आफ्नो समुदायमा जान चाहन्छिन् । उनी दाइजो प्रथाका विषयमा पनि आवाज उठाउन चाहन्छिन् । ‘छोरीले एमबीबीएस गरेकी छे भने केटा पनि एमबीबीएस गरेको ल्याउनुपर्छ । केटा एमबीबीएस गरेको छ भने ठाडै २५ लाखबाट बार्गेनिङ सुरु हुन्छ । केटा २५ वर्षकै छ भने त ३०/३५ लाखको बार्गेनिङ । त्यसैले कम पढायो भने पैसा कम दिनुपर्छ भन्ने सोचले छोरीहरूलाई पढाउँदैनन् तराईमा,’ उनी सुनाउँछिन्, ‘मण्डपमै पैसा लिने भन्ने विवाद हुन्छ त्यहाँ । पैसा नदिँदा बिहे हुँदैन । जमिन धितो राखेर पैसा दिएको देखेकी छु ।’

नेपाली समाजमा विद्यमान दाइजो प्रथाविरुद्धको आवाज बन्न चाहन्छिन् सन्ध्या । ‘म मिस नेपालको यो प्लेटफर्मबाट छोरीलाई पढाएपछि मजस्तो हुन सक्छ भनेर देखाउन चाहन्छु,’ उनले भनिन् । फरेस्ट्री विद्यार्थीका हिसाबले वन संरक्षणका विषयमा पनि उनलाई काम गर्ने रहर छ ।

‘चुरेमा वनविनाश एकदमै धेरै भएको छ । तराईको पूरै जमिन मरुभूमिमा परिणत हुँदै छ । पहिलो त म चुरे संरक्षणमा केन्द्रित हुन चाहन्छु र मेरो समुदायका लागि प्रभावकारी काम गर्न चाहन्छु,’ उनले आफ्नो योजना सुनाइन् ।

ताज घर भित्र्याउने मन छ : मिस नेपाल सुप्रानेसनल सिमल कनौजिया

७ वर्षअघिदेखि नै सिमल कनौजियाले मिस नेपाल हुने सपना देखेकी थिइन् । २०१३ मा इसानी श्रेष्ठ मिस नेपाल बनेको देखेपछि उनले आफू यही प्लेटफर्ममा आउने प्रेरणा पाइन् । मिस नेपाल आउनुअघि उनी एक कम्पनीमा मार्केटिङ अफिसरका रूपमा काम गर्थिन् ।

बीबीए सकिएपछि उनी मिस नेपालमा सहभागी भएकी हुन् । विद्यालय तहदेखि नै अतिरिक्त क्रियाकलापमा सक्रिय हुन्थिन् । स्टेजमा निर्धक्क बोल्थिन् । १२ पढ्दै गर्दा उनले ‘बेस्ट प्रिजेन्टर’को अवार्डसमेत पाएकी थिइन् ।

स्टेजप्रति यही लगावले आफूलाई मिस नेपालसम्म डोर्‍याएको उनी बताउँछिन् । उनलाई अब अन्तर्राष्ट्रिय ताज नेपाल ल्याउने मन छ । ‘सुप्रानेसनलको त्यो अन्तर्राष्ट्रिय ताज घर भित्र्याउने मन छ,’ उनले सुनाइन् ।

तस्बिर/भिडियो : अंगद ढकाल

प्रकाशित : मंसिर २५, २०७७ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?