कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मण्डलामा कचहरी

यो शैलीको नाटकमा दर्शक स्वयंले समस्याको समाधान खोज्छन् 
सुशीला तामा‌ङ

काठमाडौँ — अनामनगरस्थित मण्डला थिएटरमा शनिबार केही नौला दृश्य देखिए । अन्य दिन जस्तै सामान्य रूपमा हलमा प्रवेश गरेका दर्शक निकै शान्त देखिन्थे । मञ्चमा ‘पासपोर्ट’, ‘शुभविवाह’ र ‘नयाँ कलाकार प्रसिद्ध हिरो’ जस्ता नाटकका अपूरा दृश्य क्रमशः देखाउँदै छलफल केन्द्रित रहँदा केही दर्शक भने अलमलमा परे । त्यही माहोललाई अझै रोचक बनाउन सूत्रधारको भूमिकामा थिए रंगकर्मी सोमनाथ खनाल । 

मण्डलामा कचहरी

खासमा थिएटरभित्र तीनटा कथामा आधारित भएर कचहरी नाटक प्रस्तुत गरिएको थियो । ‘आई क्यान अ फोरम थिएटर प्ले’ समूहमा करिब १५ दिनको कार्यशालापछि रंगकर्मी खनाल र माइकल थोनहासरको निर्देशनमा नाटक मञ्चन गरिएको हो । तीनवटै नाटकका कथा आम मानिसले भोगिरहेको समसामयिक विषयमै केन्द्रित थिए ।


नाटक ‘पासपोर्ट’ मा वैदेशिक रोजगारीको सिलसिलामा रहेका रमेशको पासपोर्ट एक म्यानपावरले ६ महिनादेखि दिएको हुँदैन । उनी पटक–पटक धाइरहँदा पनि पासपोर्ट हात पार्न सक्दैनन् । पासपोर्ट दिनुको सट्टा म्यानपावरको धम्कीपूर्ण व्यवहारले उनी झनै आजित हुन्छन् । यही समस्याको बिन्दुमा नाटक रोकिन्छ ।


अर्को नाटक ‘शुभविवाह’ भने लामो समयको प्रेमसम्बन्धमा रहेका समुन्द्र र रमाको कथा छ । विवाह बन्धनमा बाँधिएकै दिन समुन्द्रले रमालाई घरपरिवारलाई रिझाउन सुझाउँछन् । घरको सबै जिम्मेवारी, सदस्यलाई खुसी पार्न खोज्दाखोज्दै उनी आफ्नो उद्देश्यमा पछि पर्छिन् । समुन्द्र उनका पतिभन्दा पनि मालिकको भूमिकामा देखा पर्छन् ।


त्यस्तै ‘नयाँ कलाकार, प्रसिद्ध हिरो’ नाटकमा कलाकारिता क्षेत्रमा पुराना नाम कमाएका कलाकारका अगाडि नयाँले भोग्नुपर्ने हेपाहा प्रवृत्ति देख्न सकिन्छ । जहाँ सोनिया आफू कलाकारितामा सक्षम हुँदा पनि निर्देशकका आँखामा हिरो नै राम्रो ठहरिन्छ र तारिफ हिरोले मात्र पाउँछ ।


कचहरी नाटकको विधिअनुसार यी तीनै वटा नाटक समस्यामै गएर रोकिन्छन् । सूत्रधार खनालले अब कथाको समस्यालाई कसरी समाधान गर्ने, नाटकका दृश्यलाई कसरी परिवर्तन गर्न सकिएला भन्ने प्रश्नसँगै नाटकमा दर्शक सहभागी हुन्छन् ।


सहभागी अधिकांश दर्शकले पीडित पत्नी रमा र नवकलाकार सोनियाको दृश्य र भूमिका सुधार गर्न सुझाव दिए । सहभागी दर्शकलाई उनीहरूकै सुझाव अनुसार अभिनयसमेत गर्न दिइएको थियो । दर्शककै रूपमा सहभागी रंगकर्मी पवित्रा खड्का, प्रवीण खतिवडालगायतले पत्नी रमाको भूमिकालाई केही परिवर्तन गरेर प्रस्तुत गरे ।


उनीहरूले परिवार सुखी र खुसी बनाउन पतिले पत्नीका हरेक कार्यमा सघाउ पुर्‍याएर दुवै सँगसँगै हिंड्नुपर्छ भन्ने भाव अभिनयमा देखाएका थिए । पतिमाथि समान जिम्मेवारीको प्रश्न उठाउने पत्नी रमाको भूमिकामा रंगकर्मी खतिवडा देखिँदा माहोलमा निकै रौनक छाएको थियो । दर्शककै तर्फबाट प्रकाश आचार्य, रंगकर्मी मुना सराबलगायतले तीनैवटा नाटकका कथामाथि असन्तुष्टि जनाएका थिए ।


विश्वमा फोरम थिएटरका रूपमा प्रचलित यस शैलीको नाटकलाई सन् १९६० को दशकमै बाज्रिलका निर्देशक अगस्टो बोयलले अभ्यासमा ल्याएका थिए । उनले बाज्रिलमा सामाजिक अन्याय र थिचोमिचोमा परेका निम्न समुदायमा गएरै यस्ताखाले नाटक प्रस्तुत गरेका थिए । नेपालमा करिब दुई दशकअघि नै आरोहण गुरुकुलले कचहरी नाटकका रूपमा यो शैलीलाई अभ्यासमा ल्याएको थियो । कचहरी शैलीको नाटकमा कथाभित्र रहेको समस्या समाधान दर्शकबाटै खोज्ने प्रयास गरिन्छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरले पनि केही महिनाअघि मात्र ‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटकलाई कचहरीकै शैलीमा सुर्खेत, दैलेख, जाजरकोट, रोल्पा, बर्दिया, कञ्चनपुरलगायत जिल्लामा मञ्चन गरेको थियो ।


सडक र खुला ठाउँमा प्रस्तुत गरिने यस शैलीको नाटकलाई थिएटरमा मञ्चन गर्न प्रयास गरिएको निर्देशक खनालले सुनाए । खनालका अनुसार एउटै शैलीबाट नाटक हेरिरहेको दर्शकका लागि यसले केही फरक अनुभव प्रदान गर्न सक्छ ।


छलफलकै क्रममा दर्शक र कलाकारबीच नै द्वन्द्व सिर्जना हुन नदिन सूत्रधारका रूपमा रहेका व्यक्तिको प्रमुख भूमिका रहने उनले बताए । रंगमञ्चमा कलाकार मात्र नभएर दर्शकलाई पनि सचेत र सक्रिय बनाउन यस्ताखाले नाटकबाट सघाउ पुग्ने उनको विश्वास छ । नाटकमा कर्मन विजया, रिजुन परियार, आयान खड्का, रेणु योगी, सचिन रत्न, सागर कामी, सुष्मा निरौला, मिलन कार्की, देभिन चौधरी, अदन बत्री, सञ्जय गुप्तालगायत कलाकारले अभिनय गरेका थिए । नाटक मंगलबारसम्म मञ्चन हुनेछ ।

प्रकाशित : चैत्र ३, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?