कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘झिम्के मामा’ को समीक्षा : जातिप्रथामाथि झटारो

सुशीला तामा‌ङ

काठमाडौँ — भर्खरै गयो पृथ्वीजयन्ती । आधुनिक नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानमाथिको भव्य बहस सेलाउन पाएकै छैन । यही राज्य एकीकरणमा चन्दा उठाउने बहुमूल्य सल्लाह दिएका बिसे नगर्चीहरू पनि इतिहासमा गुमनामजस्तै छन् । लामो समयदेखि जरो गाडेको जातप्रथाका कारण उनी जस्ता समुदायले शिर उठाउन पाएको छैन ।

‘झिम्के मामा’ को समीक्षा : जातिप्रथामाथि झटारो

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन घोषणा भए पनि समाजमा अन्धपरम्परा जारी नै छ । यस्तै परिवेशमा एउटा ‘दलित हिरो’ को कारुणिक कथा भन्ने कोसिस गरेको छ नाटक ‘झिम्के मामा’ ले । प्रदीपकुमार चौधरीले निर्देशन गरेको यो नाटक यतिबेला अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।


नाटकमा बिसे नगर्चीजस्तै एक परोपकारी पात्र भेटिन्छन्, झिम्के मामा । उनी अहिलेको समयको बिसे नगर्चीजस्तै छन् । अचम्म के भने यतिका लामो समय बितेर गए पनि, मुलुकमा राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतान्त्रिक व्यवस्था आए पनि, कानुनले जातीय भेदभावको अन्त्य गरे पनि, समाजमा भने यो जारी छ । झिम्के मामाजस्ता थुप्रै अभिसप्त पात्र समयले जन्माइरहेको छ । कथित तल्लो जात भएकै कारणले उनीहरूजस्ता पात्रले सामाजिक, आर्थिक, मानसिक तथा शारीरिक पीडा खेपिरहेका छन् । दुर्गाप्रसाद पाण्डेको कथामा आधारित नाटक ‘झिम्के मामा’ मा यस्तै पात्र भेटिन्छन् ।


नाटकका मूल पात्र झिम्केका माध्यमबाट समाजमा मानिसको श्रमलाई स्वीकार गरे पनि उसको जातीय अस्तित्व अस्वीकार गरेको पक्ष मार्मिक रूपमा उजागर गरिएको छ । ग्रामीण परिवेशमा आधारित नाटकमा देउराली नामक गाउँको कथा छ । यो थलो मुलुकको कुनै पनि गाउँ हुन सक्छ, जहाँका मानिस छुवाछुत, जातीय विभेदजस्ता अन्धविश्वासमा जेलिएर बसेका छन् । कथा केही नाटकीय छ । झिम्के अरू गाउँबाट त्यहाँ आएर बसेका हुन्छन् देउराली गाउँमा ।

नाटक :झिम्के मामा

निर्देशक : प्रदीपकुमार चौधरी

कलाकार : अंकित खड्का, अनुप न्यौपाने, संयोग गुरागार्इं, सागर कामी (खाती), रिता श्रेष्ठ, सुशील पाण्डे, विकास पन्तलगायत ।

नाटकघर :मण्डला थिएटर, अनामनगर


टीकारामको घरमा झिम्केलाई उसको श्रीमतीको भाइजस्तै मान्छ । विकट गाउँमा झिम्केले नै विकासको लहर ल्याउने काम गरेको हुन्छ । उसकै पहलमा गाउँमा बाटो, पुल, धारा, मन्दिर बन्छ । टीकारामको घरायसी काम र उसका साना छोराको हेरचाह गरेर पनि झिम्केले गाउँमा हुने हरेक काम, मुद्दा–मामिला र समस्या सुल्झाउनसमेत सक्रिय भएकै हुन्छ । तर उसले टिस्टुङ पालुङको बस्नेत काजी बताउँदै आफ्नो वास्तविक जात (सार्की) भने लुकाइराखेको हुन्छ । एक दिन उसको गाउँका साथीभाइ र उसकै मित काम खोज्ने क्रममा देउराली आइपुगेपछि रहस्यको पर्दा खुल्छ ।


यसपछि गाउँलेले झिम्केलाई चारपाटा मुडेर गाउँनिकाला गर्नुपर्ने तर्क राख्छन् । कथित माथिल्लो जातको रूपमा चिनिँदा उनको काम उच्च, अब्बल र शुद्ध मानिन्थ्यो, अब ‘गाउँ नै अशुद्ध भयो’ भन्न थाल्छन् गाउँलेहरू । उसले बनाएको मन्दिर र धारा नै सबै छुन नहुने वस्तुमा बदलिन्छ । उसलाई शरण दिने टीकारामलाई समेत गाउँबाट लखेट्नुपर्ने तर्कहरू हुन्छन् । यसरी नाटकले लामो समयदेखि नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतलाई उजागर गरेको छ । तर, नाटकको बिसौनी भने पलायनवादी लाग्छ । अपमानले असह्य भएपछि आफूले बनाएकै मन्दिरमा झिम्केले प्राण त्यागेको दृश्यले स्वयं उत्पीडित समुदायलाई निराश पार्नेछ । समाजमा घटना जेसुकै घटे पनि लेखन सदैव पीडितप्रति उत्प्रेरक बन्नुपर्छ ।


कथा भने सलल बगेको छ । नाटकको मध्यभागसम्म हँसिलो र रमाइला सन्दर्भसति कथावाचन गरिएको छ । झिम्केको वास्तविक कथा पत्ता लागेपछि भने कारुणिकताको मात्र बढेर जान्छ । दर्शकका आँखा रसाउँछन् । वर्ण व्यवस्थाले नेपाली समाजमा पारेको प्रभाव उतार्न भने नाटक सफल छ । एउटै प्रकृतिको काम भए पनि जातका आधारमा राखिने फरक दृष्टिकोण अहिले पनि व्याप्त छ । दलितले बनाएको सामग्री भान्सामा पुग्ने तर दलित स्वयं भने घरभित्र पस्ने नहुने पछोटे चिन्तन छँदै छ । यी सन्दर्भलाई नाटकले निकै ‘हाई साउन्डिङ’ गरेको छ ।


निर्देशक चौधरीका अनुसार नाटक जातीय उत्पीडनका कथाभन्दा पनि मानिसले नै बनाएको सामाजिक संरचनामाथिको व्यंग्य हो । नाटकमा झिम्के पात्रका रूपमा देखिएका अंकित खड्काको अभिनय प्रशंसायोग्य लाग्छ । मञ्चलाई कथा र ग्रामीण परिवेशमा नै रंगकर्मी सजन थापामगरले डिजाइन गरेका छन् । प्रकाश परिकल्पनामा उमेश तामाङको कल्पनाशीलता झल्किन्छ । खड्का लगायत अनुप न्यौपाने, संयोग गुरागार्इं, सागर कामी (खाती), रिता श्रेष्ठ, सुशील पाण्डे, विकास पन्त, महन थापा, उषाकिरण काफ्ले, कृजन महत, रक्षा थापा, अर्भिन्द अमात्य, युनिष श्रेष्ठ र काव्य बरालको अभिनय नाटकमा हेर्न सकिन्छ ।

प्रकाशित : माघ ७, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?