२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

‘हामी नियन्त्रित छौं’

सुशीला तामा‌ङ

काठमाडौँ — हामी समाजमा मानवका रूपमा छौं । हाम्रो आफ्नै परिवार छ, संस्कार, रीतिरिवाज, कुल, खान्दान, जात, स्तर यी विविध पक्ष हामीसँगै प्रत्यक्ष जोडिएका छन् । मानिस स्वतन्त्र भएको जति नै बहाना गरे पनि यी सबैबाट हामी कतै टाढा जान सक्दैनौं । मानवीय पक्षलाई पन्छाए पनि प्रकृति हामीसँगै जताततै छ । हामी त्यसैमा निहित छौं । 

‘हामी नियन्त्रित छौं’

शनिबार अनामनगरस्थित मण्डला थिएटरभित्र ‘टेरिटोरियम’ समूहले प्रस्तुत गरेको ‘पर्फमेन्स आर्ट’ मा त्यस्तै अनौठो दृश्य झल्किरहेका थिए । उक्त दृश्य केही हप्ताअघि मात्र नर्वेबाट आएकी नेपाली रंगकर्मी दुर्गा विश्वकर्मा, ‘टेरिटोरियम’ समूहका ओस्टेन एले, सारंगीवादक किरण नेपालीले पर्फमेन्स आर्टमार्फत प्रस्तुत गरेका थिए । नर्वेमा ‘पर्फमेन्स आर्ट’अध्ययनरत रंगकर्मी विश्वकर्माले नौलो प्रस्तुतिका रूपमा ‘टेरिटोरियम’ प्रस्तुति ल्याएकी हुन् ।


चिसो र सिमसिमे पानीले शरीर कठ्याङ्ग्रिँदै थिएटरभित्र प्रवेश गरेलगत्तै त्यहाँको वातावरणले मनमा एक किसिमको कौतुहल पैदा गरिरहेको थियो । मण्डलाको स्टेजभित्र पर्फमेन्समा जारी रहेका दृश्यले बाहिर र भित्रको मौसम आम दर्शकलाई उस्तै लागिरहेको भान हुन्थ्यो । त्यहाँ कहिले पानी परेको दृश्य देखिन्थ्यो भने कहिले बादल गर्जेको आवाज सुनिन्थ्यो ।


एकोहोरो मीठो सारंगीको धुनलाई बेसुरले बजिरहेको अर्को संगीतले छायामा पारिरहेको थियो । सारंगी रेट्ने नेपाली आफ्नै सुरमा थिए भने अर्कोतर्फ कोलाहल मच्चाउने धुनसँगै एलेको अस्पष्ट संवादले माहोल बिथोलिरहेको थियो । अर्को अनौठो पक्ष त थिएटरमा सधैं मिलेर बस्ने दर्शक यत्रतत्र छरिएर बसेका थिए । चराको प्वाँखैप्वाँख जहाँतहीँ छरिएका थिए ।


त्यस्तैमा एउटी बेचैन युवती छटपटिँदै पृष्ठभूमिमा देखा पर्छिन् । युवती केही खोजी गरेको हाउभाउसहित दर्शकबीच देखा परेर केही आवाजले इसारा गर्छिन् । उनको आवाजमाथि कसैको नियन्त्रण छ र उनी त्यसैको खोजीमा रहेको दृश्यले इंगित गरिरहेको थियो । उनी जति स्वर उचो गर्न खोज्छिन्, त्यति नै कोलाहलको ध्वनि बढ्दै जान्छ । केही क्षण हराएपछि पुनः उनी ठूलो भाँडा (खड्कुलो) मा पानीसहित उपस्थित हुन्छिन् । पानीमा उनी रमाउन खोज्छिन् । शरीरमा पानी छर्कंदै त्यसको स्पर्श महसुस गर्छिन् । छरेको प्वाँखलाई नियाल्दै हेरिरहँदा उनको वातावरणलाई अर्थहीन संवाद र संगीत सिर्जना गर्ने युवाले बिथोल्दै आफ्नो बाटो लाग्छ । युवती उही शून्य अवस्थामा रहन्छिन् ।


युवतीको भूमिकामा रंगकर्मी विश्वकर्मा स्वयं थिइन् । एलेको अस्पष्ट संवाद, नेपालीको सारंगी धुन र रंगकर्मी विश्वकर्माले शरीरको हाउभाउबाटै विश्वमा मानवको सामाजिक तथा व्यक्तिगत पहिचान, स्तर र सम्बन्धहरूबाट जेलिरहेको आवाजको खोजी गरेको भान हुन्थ्यो । रंगकर्मी विश्वकर्माले डर र त्रासमा नियन्त्रित महिला शरीरको अस्तित्वलाई खोजेकी थिइन् । तीनै जनाको प्रस्तुतिमा दर्शकले माया, दुःख, आशा, द्विविधालाई देखेर त्यसलाई आफ्नै ढंगले महसुस र अनुभव गर्ने उनले विश्वास व्यक्त गरिन् । त्यसका लागि नै दर्शकका लागि एउटा निश्चित स्थान नतोकिएको उनले खुलाइन् ।


रंगमञ्चमा अधिकांश पात्रको संवादका माध्यमबाट नै एउटै लय र बाटामा गइरहेको परम्परालाई फरकपना ल्याउने उद्देश्यले मण्डलामा संगीत, अस्पष्ट संवाद, ध्वनि र शरीरको चालमार्फत प्रस्तुति दिने जमर्को गरिएको रंगकर्मी सोमनाथ खनालले उल्लेख गरे । कलाकारका लागि पनि केही फरक भएकाले दर्शकलाई बुझाउन केही कठिन रहेको खनालको बुझाइ छ । ‘रंगमञ्चमा नौलो माध्यममा दर्शकलाई शिक्षित र जागरुक बनाउनु हाम्रो दायित्व हो,’ उनले भने । दर्शकले बिस्तारै बुΣदै जानेछन् भन्ने पक्षमा उनी विश्वस्त छिन् ।


‘टेरिटोरियम’ समूहमा एलेसँग नर्वेका जान्ने होम, जेन हुस्टाक र गुनहिल माथे ओलाससेन कलाकार आबद्ध छन् । एलेलगायत होम, हुस्टाक पनि प्रस्तुति हेर्नका लागि मण्डलामा उपस्थित थिए । विश्वकर्माका अनुसार शनिबार दुई शो मञ्चन गरेको यस समूहले आइतबारदेखि तीन दिन नेपाली ३० जना रंगकर्मीहरूसँग त्यस्तै आर्ट फर्ममा वर्कसप गरी मंगलबार साँझ पनि मण्डलामा पुनः प्रस्तुति दिनेछन् ।

प्रकाशित : पुस २०, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?