ओखलढुंगा — कुरा २००६ सालतिरको हो। उँबु-१, सोदो ओखलढुंगाका डबलसिं राई १२ वर्षका मात्रै थिए। एकाएक उनलाई 'हातकलमी' को घोषणा गरियो। 'म त छक्कै परें । के लेखेको थिएँ, मलाई नै थाहा थिएन,' डबलसिं सम्झन्छन् ।
कुरा २००६ सालतिरको हो। उँबु-१, सोदो ओखलढुंगाका डबलसिं राई १२ वर्षका मात्रै थिए। एकाएक उनलाई 'हातकलमी' को घोषणा गरियो। 'म त छक्कै परें । के लेखेको थिएँ, मलाई नै थाहा थिएन,' डबलसिं सम्झन्छन्, 'एउटा तमसुक लेखेकोमा यस्तो खबर पाएको रहेछु।' उनको विषयमा 'माथि' सम्मै निकै छलफल भएछ। 'अन्तमा उमेर कानुनबमोजिम १६ वर्ष नपुगेको भनेर छुट पाएछु,' उनी मुस्कुराए।
जहानियाँ राणा शासनमा निरंकुशताका अनेकन विधि थिए। त्यसमध्येको एउटा विधि थियो- हातकलमी। राज्यसत्ता (राणापक्षका व्यक्ति) को विरोध हुने वा कुनै किसिम घाटा पुर्याउने लिखत जसले लेख्थे, उसलाई हातकलमी गरिन्थ्यो। हातकलमी गरिएका व्यक्तिले लेखेको लिखत/अक्षर कुनै सरकारी कामकाजमा मान्यता पाउँदैनथ्यो। उनलाई बाँकी जीवनमा लेखपढ गर्न सरकारबाट पूरै प्रतिबन्धित हुन्थ्यो।
त्यतिखेर जग्गा नामसारी, राजीनामा, बन्धकीलगायत तमसुक नै आधिकारिक कागजात मानिन्थ्यो। जग्गाको मोल सय रुपैयाँभन्दा माथि नाघेकालाई मात्रै जिल्लामा तमसुकका लागि पठाइन्थ्यो। अरू सबै गाउँकै लेखनदासले
लेख्थे । 'राणाहरूको एउटा कठोर कानुनकै रूपमा हातकलमी मानिने गरेको मैले बुवाको मुखबाट सुन्थें,' डबलसिंले भने । डबलसिं आफैं तत्कालीन 'द्वारे' शेरबहादुर राईका छोरा हुन्। त्यतिबेला उँबु चौरास क्षेत्रबाट जग्गाको तिरो रकम उठाएर राणाहरूलाई बुझाउन भरिया लिएर जाने काम 'द्वारे' को हुन्थ्यो। कम्पनी पैसाहरू बोरामा भारी हालेर उनीहरू सुनकोसी किनारैकिनार एक साताको पैदल हिँडेर राजधानी पुगी बुझाउने गरेको बूढापाकाहरू बताउँछन्। विद्यालयहरू खुलेका थिएनन्। बाउबाजे र जान्नेबुझ्नेले घरैमा लेखपढ गर्न सिकाउँथे। अक्षरहरू प्रायः डिको (माथिबाट धर्को) नदिई लेख्ने चलन थियो। तत्कालीन लिपिलाई 'काइते लिपि' भनिन्थ्यो। सोही लिपिबाट सबै किसिमका दस्तावेज तयार गरिन्थ्यो।
डबलसिंका भतिज प्रकाशहरि क्याम्पा राईको घरमा अहिले पनि करिब डेढ दर्जनको संख्यामा ५० वर्षभन्दा पुराना तमसुक छन्। भेटिएकामध्येको सबैभन्दा पुरानो १९७७ सालको एउटा राजीनामापत्र हो । ९५ वर्ष पुरानोउक्त पत्र डबलसिंले पढेर सुनाए। त्यसको बेहोरामा उल्लेख भएअनुसार उँबु गाउँ बस्ने रहना जिम्दार्नीले घर खर्चबापत लिएको १९ रुपैयाँ ऋण तिर्न नसक्दा शेरबहादुर राईलाई जग्गा दिएकी रहिछन् । कपासको बीउ पाँच धार्नी जाने पाखोबारी दिएको तमसुकको बेहोरामा उल्लेख छ। रत्नध्वज राईको आँगनमा बसेर तमसुक मनदत्त राईले लेखेका रहेछन्।
तमसुकबाट त्यतिबेला कपासको खेती प्रशस्त हुने गरेको अनुमान गर्न सकिन्छ। खाँडीको कपडा बुन्न पनि कपास खेती आवश्यक थियो। तर पाँच धार्नी कपासको बीउ कति पाखोबारीमा जान्छ? भनेर अनुमान गर्न सक्ने व्यक्ति अहिले छैनन् ।
