३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

५३८ वर्ष पुरानो मन्दिरको पुनर्निर्माण अलपत्र

मल्लकालीन यक्षश्वर महादेव मन्दिरको कलात्मक काठ तथा धातुको मूर्ति, झ्याल, ढोका, टुँडाललगायत चोरीको प्रयास गरेका इटालियन नागरिक प्रहरी नियन्त्रणमा
लिला श्रेष्ठ

भक्तपुर — विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरको यक्षश्वर महादेव (भक्तपुरको पशुपतिनाथ मन्दिर) पुनर्निर्माण थालेको ठेकेदार कम्पनीले तीन महिनादेखि काम अलपत्र छाडेको छ । २०७२ वैशाखको भूकम्पको धक्काले क्षतिग्रस्त यक्षश्वर महादेव मन्दिर पुनर्निर्माणको जिम्मा पाएको एनपीएस/राज जेभीले तेस्रो व्यक्तिलाई कामको जिम्मा दिएर गत मंसिरयता निर्माणको काम रोकेको हो । 

५३८ वर्ष पुरानो मन्दिरको पुनर्निर्माण अलपत्र

मन्दिर पुनर्निर्माणका लागि जगदेखि भत्काइएको छ । मन्दिरको कलात्मक काठको मूर्ति, झ्याल, ढोका, टुँडाललगायत सामग्री तलेजु मन्दिर सुन्धारा परिसरमा यत्रतत्र खुला राखिएको छ । पुरातत्त्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरकी प्रमुख अरुणा नकर्मीका अनुसार यक्षश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि एनपीएस/राज जेभीसँग २०७८ माघमा सम्झौता भएको थियो ।

२०७९ असार १५ मा सम्पन्न गर्ने गरी सम्झौता भएको पुनर्निर्माणको प्रगति २१ प्रतिशतमा सीमित छ । २ करोड ६९ हजार रुपैयाँ लागतमा उक्त मन्दिर पुनर्निर्माण सक्ने गरी पुरातत्त्व विभागले ठेक्का लगाएको हो । पटक–पटक लिखित पत्राचार गर्दासमेत ठेकेदार कम्पनीले बेवास्ता गरेको नकर्मीले बताइन् ।

उक्त मन्दिर पुनर्निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले भने अन्य व्यक्तिलाई कामको जिम्मेवारी दिएर पन्छिएको छ । निर्माण कम्पनी एनपीएसका प्रोपाइटर सुनील शिल्पकारले कम्पनीले अन्यत्रै काम गरिरहेकाले तेस्रो व्यक्तिलाई जिम्मेवारी दिएको आफू यक्षश्वर मन्दिर पुनर्निर्माणबारे जानकार नभएको बताएका छन् ।

मन्दिर पुनर्निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुको सट्टा सम्बन्धित निकाय चुपचाप छ । समयमै पुनर्निर्माण सम्पन्न नहुँदा ५ सय ३८ वर्ष पुरानो ऐतिहासिक मन्दिरको कलात्मक काठ तथा धातुको मूर्ति, झ्याल, ढोका, टुँडाललगायत सामग्री घाम, पानी, शीतका कारण थप जीर्ण बनेका छन् ।

उक्त पुरातात्त्विक कलात्मक काठ तथा धातुको मूर्ति गत आइतबार दिउँसै चोरीको प्रयास भएको छ । तलेजु मन्दिर सुन्धारा परिसरमा घुम्न आएका इटालियन नागरिकले चक्कुको प्रयोग गरी धातुको मूर्ति निकाल्न खोजेका थिए । प्रत्यक्षदर्शीले विदेशीको हर्कत देखेर तलेजु मन्दिरको सुरक्षार्थ खटिएका नेपाली सेनालाई खबर गरेका थिए । खबरपछि सेनाले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । पुरातात्त्विक वस्तुको चोरी उद्योगमा इटालियन नागरिक तिजियानो रोन्ची पक्राउ परेका छन् ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम जिल्ला अदालत भक्तपुरबाट उनलाई दोस्रो पल्ट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रमुख नकर्मीका अनुसार ती विदेशी नागरिकले दरबार स्क्वायर प्रवेश गर्दा टिकट नलिई चोर बाटो प्रयोग गरेको पाइएको छ । सीसीटीभीको फुटेजअनुसार ती इटालियन नागरिक सुन्धारा परिसरमा चारपल्ट ओहोरदोहोर गरेको देखिएको छ ।

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठकले यक्षश्वर महादेव यक्ष मल्लको नाममा नेपाल संवत् ६०५ मा बनेको बताए । ‘यक्ष मल्ल जीवित छँदै बनाउन लगाएको भन्ने मान्यता छ, त्यो सत्य होइन,’ उनले भने, ‘यक्ष मल्लपछि उनको स्मृतिमा रानी कर्पुरदेवीले ३ वर्षपछि यक्षश्वर महादेव मन्दिर बनाउन लगाएकी हुन् ।’ भक्तपुरवासीले ‘भक्तपुरको पशुपतिनाथ’ भनेर यो मन्दिरलाई चिन्दछन् । यक्षश्वर महादेव पशुपतिनाथ मन्दिरको वास्तु शैली स्वरूपमा बनेको छ ।

प्रकाशित : चैत्र १, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?