तालको चारैतिर जलकुम्भी र नर्कट फैलिँदै गएको तथा माटो थुप्रिँदै जाँदा निकुञ्जको प्रमुख आकर्षणका रूपमा रहेको रानी ताल पुरिने जोखिममा परेको हो।
What you should know
धनगढी — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको रानी ताल बिस्तारै पुरिँदै जाँदा तालकाे प्राकृतिक स्वरूप गुम्न थालेको छ।
समयमै दीगो संरक्षण हुन नसके तालको अस्तित्व नै समाप्त भई घाँसे मैदानमा परिणत हुने खतरा बढ्दै गएको छ।
तालको चारैतिर जलकुम्भी र नर्कट फैलिँदै गएको तथा माटो थुप्रिँदै जाँदा निकुञ्जको प्रमुख आकर्षणका रूपमा रहेको रानी ताल पुरिने जोखिममा परेको हो। १७ हेक्टर क्षेत्रफलमा फैलिएको तालको दक्षिण र पश्चिमतर्फको अधिकांश भाग नर्कट र जलकुम्भीले ढाकिसकेको छ। ताल क्षेत्रमा निरन्तर माटो जम्मा हुँदै जाँदा पानीको सतह पनि घट्दै गएको छ।
शुक्लाफाँटा निकुञ्जमा रहेका अधिकांश प्राकृतिक ताल क्षेत्र वरिपरि संरक्षित वन्यजन्तु तथा चराचुरुङ्गीको महत्वपूर्ण बासस्थान रहेको निकुञ्जका रेञ्जर प्रयास केसी बताउँछन्। ‘अधिकांश तालहरू सुक्दै गएका छन्,’ रेञ्जर केसीले भने, ‘सुक्खा मौसममा त कतिपय तालमा पानी नै नहुँदा वन्यजन्तुका लागि सोलार पम्पमार्फत पानी तानेर पुर्याउने गरिएको छ।’
पछिल्ला वर्षमा प्राकृतिक ताल सुक्दै गएपछि निकुञ्ज प्रशासनले बाह्रसिंगाको प्रमुख बासस्थान रहेको शुक्लाफाँटा घाँसे मैदान र आसपासका क्षेत्रमा केही कृतिम पोखरीसमेत निर्माण गरेको उनले बताए। तर गैंडा र हात्ती जस्ता ठूला वन्यजन्तुका लागि भने सुक्खा याममा पानीको अभाव गम्भीर समस्या बनेको छ।
रानी ताल निकुञ्जको प्रमुख पर्यटकीय आकर्षण हो। सालको वन र घाँसे मैदानको छेउमै रहेको यो ताल क्षेत्र संरक्षित वन्यजन्तुका साथै रैथाने र हिउँदमा बसाइँ सरी आउने चराचुरुङ्गीको प्रमुख बासस्थान हो।
‘ताल छेउको मचानबाट दूरबिनले हेर्दा पूरै ताल सुक्दै गएको प्रष्ट देखिन्छ,’ शुक्लाफाँटा निकुञ्ज कार्यालय नजिकै रिसोर्ट सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा निकुञ्जको रानी ताल जोगाउन अब ढिलाइ गर्नु हुँदैन।’
निकुञ्जमा रानी तालसँगै बढनिया, बाबा, सिकारी, सुलगौडी र कालीकिचलगायतका तालतलैया रहेका छन्। घाँसे मैदानको दक्षिणी भागमा रहेको अर्को ठूलो तालमा पनि पछिल्ला वर्ष नर्कट र जलकुम्भी फैलिन थालेको रेञ्जर केसीले जानकारी दिए। ‘ताल संरक्षण निकुञ्ज प्रशासनका लागि ठूलो चुनौती बन्दै गएको छ,’ उनले भने, ‘सानोतिनो प्रयास र सीमित बजेटले तालको सरसफाइ, माटो, नर्कट र जलकुम्भी पन्छाउन सम्भव छैन। गत वर्ष पनि रानी तालको माटो पन्छाउने काम गरिएको थियो।’
पूर्वी क्षेत्रमा रहेको चौधर नदीको भंगालोबाट बर्खायाममा बाढीको पानी तालमा प्रवेश गर्ने गर्दछ। तर पछिल्ला वर्षमा ताल पुरिँदै जाँदा पानीको सतह निरन्तर घट्दै गएको छ।
विस्तारित क्षेत्रसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३ सय ५ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँ क्षेत्रफलको अनुपातमा संरक्षित वन्यजन्तुको संख्या उल्लेख्य छ। निकुञ्जको घाँसे मैदान बाह्रसिंगाको मुख्य बासस्थान हो। पछिल्लो गणनाअनुसार यहाँ पाटे बाघको संख्या ४३ पुगेको छ भने बाह्रसिंगा २ हजार ३ सयभन्दा बढी रहेका छन्।
