सुदूरपश्चिममा फेरि लम्पी स्किन रोग देखा पर्‍यो

पीसीआर विधिबाट केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा लम्पी स्किन रोग पुष्टि भएको बुधबार जानकारी प्राप्त भएको हो ।

आश्विन ३, २०८२

चित्राङ्ग थापा

Lumpy skin disease reappeared in the Far West

धनगढी — तीन वर्षअघि २०८० मा महामारीका रूपमा घरपालुवा पशुहरूमा फैलिएको लम्पी स्किन रोग सुदूरपश्चिममा फेरि देखा परेको छ। धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का एक किसानले पालेको गाईको बाच्छीमा लम्पी स्किन रोग देखा परेको पुष्टि भएको हो।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश प्रसाद जोशीका अनुसार प्रयोगशालाको प्राविधिक टोलीले नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा अघिल्लो साताको पठाएको थियो। ‘पीसीआर विधिबाट केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा लम्पी स्किन रोग पुष्टि भएको बुधबार जानकारी प्राप्त भएको हो,’ डा. जोशीले बताए।

डा. जोशीका अनुसार २०८० मा सुदूरपश्चिमभरि लम्पी स्किन रोग व्यापक रूपमा फैलिएर १५ हजार बढी गाई, भैँसी र गोरु मरेका थिए। त्यसबखत सुदूरपश्चिममा मात्रै साढे ३ लाख पशु संक्रमित भएका थिए।

लम्पी स्किन रोग पुनः देखापर्नुको प्रमुख कारण रोगको संक्रमण फैलिएको अवस्थामा सम्पूर्ण पशुहरूलाई खोप लगाउन नसक्नु नै रहेको प्रयोगशालाका प्राविधिक कर्मचारीहरू बताउँछन्। उनीहरूका अनुसार २०८० मा व्यापक रूपमा उक्त रोगको संक्रमण फैलिएको अवस्थामा अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा अत्यन्त न्यून संख्यामा पशुहरूलाई खोप लगाइएको थियो।

चित्राङ्ग

Link copied successfully