बेइजिङ — स्वास्थ्य मन्त्रालयका सहसचिव डा. वासुदेव उपाध्यायको नेतृत्वमा सात सदस्यीय नेपाली आयुर्वेद चिकित्सकहरूको टोली चिनियाँ परम्परागत चिकित्सा प्रणालीको अध्ययन अवलोकनमा यतिबेला व्यस्त छ।
चिनियाँ चिकित्सा प्रतिष्ठानअन्तर्गत रहेको सियुआन अस्पतालले आयोजना गरेको ‘एसियाली राष्ट्रहरूमा आयुर्वेदिक औषधिका स्रोतको संरक्षण र प्रवद्र्धन तालिम’ मा नेपाली आयुर्वेदिक चिकित्सक टोली चीन आएको हो। चीनको वाणिज्य मन्त्रालयले प्रायोजन गरेको यो कार्यक्रम यही भदौ २ गतेदेखि २२ गतेसम्म सञ्चालन भइरहेको सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक डा. राजेन्द्र गिरीले बताए।
नेपाल, भारत, बंगलादेश, श्रीलंका, इन्डोनेसिया, कम्बोडिया र केन्याबाट ३३ जना आयुर्वेदिक चिकित्सकहरू सहभागी रहेको सो तालिम तथा अनुसन्धान यही भदौ २२ गते सम्पन्न हुँदै छ। तालिम तथा अनुसन्धानका क्रममा बेइजिङबाहेक चीनको सान्तोङ प्रान्तमा रहेको चिनियाँ परम्परागत चिकित्सा प्रणालीको विश्वविद्यालय तथा थिएनचिनमा रहेको एक हजार शय्याको चिनियाँ परम्परागत चिकित्सा प्रणाली अस्पतालको अवलोकन गरेको छ। त्यसैगरी बेइजिङमा रहेको सियुआन अस्पतालको अवलोकन पनि गरेको छ भने विभिन्न प्रयोगशाला, प्रशोधन केन्द्र, जडीबुटी उत्पादन, उपचार पद्धति तथा यसको व्यावसायिक प्रयोजनको प्रत्यक्ष अनुभूत गर्न पाएको छ।
