सिन्धुपाल्चोकका गाउँमा चिनियाँ प्राविधिक

ऋषिराम पौड्याल

चौतारा — भौतिक तथा मानवीय क्षति बुझ्न चीनको भूकम्प विभागका विशेषज्ञ प्राविधिक टोली मंगलबार सिन्धुपाल्चोक आएको छ ।

सिन्धुपाल्चोकका गाउँमा चिनियाँ प्राविधिक
टोलीका सदस्य तथा चिनियाँ भूकम्प प्रशासनका अनुसन्धानकर्ता डा: ताओ वाङका अनुसार उनीहरूले सबैभन्दा बढी क्षतिग्रस्त गाउँ गएर भौगोलिक अवस्था र स्थानीयको समस्याबारे जानकारी लिने छन् ।
टोलीले गरेको पहिचानका आधारमा पीडितका लागि चीनले गर्ने सहयोग निर्भर रहन्छ, ताओले भने । नेपालसँग सरकारी तहमा भएको कुराकानीका आधारमा आएका हौं, उनले भने, भविष्यमा पुनर्निर्माणका लागि गर्ने सहयोग हाम्रै रिपोर्टका आधारमा हुने छ । २० जनाको टोलीले विभिन्न चरणमा रसुवासमेत जाने योजना छ, उनले भने । टोलीले सबैभन्दा बढी खतरा र धेरै मान्छेको मृत्यु भएको गाउँ जाने बताएका छन् । टोलीमा भूगर्भविद् तथा भूकम्प विशेषज्ञ छन् । चीनले सीमा जोडिएका जिल्लामा नेपालको प्रस्तावबमोजिमको सहयोग दिने अनौपचारिक प्रतिबद्धता जनाउँदै आएको छ । टोलीले जमिन फाटेको र मान्छे बस्न नहुने गाउँ जान इच्छा राखेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यका अनुसार उनीहरूले मागेको सूचना उपलब्ध गराएर विभिन्न गाउँ जान भनिएको छ । स्रोतका अनुसार उनीहरूले विद्यालय भवन तथा निजी आवास बनाउन सहयोग गर्ने इच्छा देखाएका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७२ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?