चिनियाँ राष्ट्रपतिद्वारा नेपाल भ्रमणको वचनबद्धता

फर्किए राष्ट्रपति
चन्द्रशेखर अधिकारी

काठमाडौ — चिनियाँ राष्ट्रपति सी जिनपिङले समकक्षी रामवरण यादवको कार्यकालमै नेपाल भ्रमण गर्ने बताएका छन् ।

चिनियाँ राष्ट्रपतिद्वारा नेपाल भ्रमणको वचनबद्धता
सीले यादवसितको भेटवार्ताका बेला आफूले नेपालका प्रथम राष्ट्रपतिकै आतिथ्य हुने गरी भ्रमण गर्ने बताएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाए । बोआओ फोरम फर एसियाको वाषिर्क सम्मेलनका बेला भएको दुईपक्षीय साइडलाइन वार्तामा सीले यादवलाई नेपाल भ्रमणको वचन दिएका हुन् ।
संविधानसभाबाट नयाँ संविधान जारी हुनासाथ राष्ट्रपति यादवको कार्यकाल सकिने भएकाले सीको भ्रमण त्यसअघि नै हुने भ्रमणमा सहभागी एक अधिकारीले बताए । सरकारले राष्ट्रपति सीलाई नेपालको राजकीय भ्रमण गर्न यसअघि नै निम्ता गरिसकेको छ । भेटमा राष्ट्रपति यादवले सीलाई नेपाल भ्रमण गर्न पुनः आग्रह गरेका थिए ।
चिनियाँ राष्ट्रपतिले सक्दो छिटो नेपाल भ्रमणको तिथि तय गर्न आफ्ना कूटनीतिक संयन्त्रलाई निर्देशन दिने जानकारी गराएको राष्ट्रपतिका सल्लाहकार हरि शर्माले बताए । शर्मा राष्ट्रपतिको भ्रमण टोलीमा थिए ।
सन् २०१५ को सीको भ्रमण सूचीमा भने नेपाल परेको छैन । सरकारले सीलाई नेपाल ल्याउन धेरै पहिलेदेखि पहल गर्दै आएको छ ।
सीले नेपालमा दिगो शान्तिका लागि संविधान लेखन छिटो सम्पन्न गर्न आग्रह गरेका थिए । नेपालको विकास प्रक्रियामा सहयात्री हुन चीन तयार छ, सीको भनाइ उद्धृत गर्दै एक सहभागी अधिकारीले भने । पश्चिमा राष्ट्रले तिब्बतको विषयलाई अनावश्यक रूपमा उछालेको भन्दै उनले त्यसबारे नेपालले अपनाएको संयम र दृढताको प्रशंसा गरेका थिए ।
यादव र सीबीच बोआओस्थित स्टेट गेस्ट हाउसमा भेटवार्ता भएको थियो । चिनियाँ राष्ट्रपतिले दिगो शान्ति र स्थायित्वको कामना गर्दै नेपाल आर्थिक उन्नतिको बाटोमा अगाडि बढेको हेर्न आफूले चाहेको बताएको भ्रमणमा सहभागी सहरी विकासमन्त्री नारायण खड्काले जनाए ।
चीनसित विकास, राजनीति, शान्ति प्रक्रियालगायत दुईपक्षीय सरोकारका विषयमा छलफल भएको उनले बताए । यो भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप उचाइमा पुर्याएको छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारहरूसित भने ।
साइडलाइन भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाललाई करिब साढे १४ अर्ब रुपैयाँ दिने घोषणा गरेका थिए । दक्ष जनशक्ति उत्पादन गर्न ५ वर्षसम्म एक हजार पाँच सय छात्रवृत्ति कोटा उपलब्ध गराउने चीन सरकारको अर्को घोषणा राष्ट्रपति भ्रमणको उपलब्धि रहेको मन्त्री खड्काले बताए । चीनले बुँदागत रूपमै व्यापार, लगानी, पूर्वाधार, पर्यटन, कृषि, विज्ञान तथा प्रविधि, क्षमता, ऊर्जा र कानुन कार्यान्वयनमा नेपाललाई हरसम्भव सहयोग गर्ने दृढता व्यक्त गरेको छ ।
राष्ट्रपति यादव बुधबार स्वदेश र्फकने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति र प्रधानमन्त्रीलगायतले स्वागत गरे ।





प्रकाशित : चैत्र १९, २०७१ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?