१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बेनी-जोमसोम सडक कालोपत्र सुरु

घनश्याम खड्का

म्याग्दी — गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको उत्तर–दक्षिण अन्तरदेशीय व्यापार मार्ग बेनी–जोमसोम सडकमा कालोपत्र सुरु गरिएको छ ।

बेनी-जोमसोम सडक कालोपत्र सुरु

बेनी–जोमसोम सडकको तेस्रो खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकामा पर्ने कोवाङ्गदेखि तल कैकुखोलासम्मको १६ किमी सडकमा अस्कपाल्ट प्रविधिको कालोपत्र सुरु गरिएको ठेकदार कम्पनी गजुरमुखी कन्ट्रक्सनले जनाएको छ ।

बेनी–जोमसोम सडकको तेस्रो प्याकेजमा कालोपत्र सुरु गरेका छौं । मौसमले साथ दिएमा एक महिनाभित्र पूरै ३६ किमी सडक कालोपत्रे गर्छौं,’ संलग्न ठेकदार कम्पनी गजुरमुखी कन्ट्रक्सनका अध्यक्ष दीपक गौतमले भने, ‘मंगलबार दुई सय मिटर कालोपत्रे गरेपछि पानी परेकोले रोकिएको छ । अझै ३–४ दिन मौसम फेरबदली हुने मौसम विभागले भनेकोले हामी आवश्यक सामग्रीसहित तयारी अवस्थामा बसेका छौं ।’

०७६ मंसिरमा ७ मिटर पक्कीसहित ११ मिटर चौडा स्तरमा सम्पन्न भै सक्नु पर्ने बेनी–जोमसोम सडक दुई वर्षपछि कालोपत्र सुरु भएको हो । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले यो सडकको कामलाई तीव्रता दिन र ठेकदारलाई हौसला दिन कामको बिलका आधारमा भुक्तानी दिनेगरी व्यवस्था मिलाइएको जनाएको छ ।

बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेजमा सडक विस्तार, उन्नत र कालोपत्र गर्न ठेक्का भएकोमध्य तेस्रो प्याकेजमा मात्र कालोपत्र हुन लागेको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने पहिलो र दोस्रो खण्डमा भने धमाधम सडकको नाली बनाउने, ग्रेड मिलाउने, चौडा पार्ने र सबबेस बिछ्याउने काम भइरहेको छ । पहिलो र दोस्रो खण्डमा भने डीबीएसडी प्रविधिको कालोपत्रे गरिने भएको छ ।

‘हाम्रो जिम्माको तेस्रो प्याकेज कालोपत्र सुरु भइहाल्यो । दोस्रो प्याकेजअन्तर्गतको तातोपानी–कैकु खण्डमा पर्ने बाँदरजुङ भीरसमेतका पहिरोग्रस्त क्षेत्रमा विस्फोटन गरी फराकिलो बनाउने काम गरिरहेका छौं,’ गजुरमुखी कन्ट्रक्सनका साइट इन्चार्ज राजन न्यौपानेले भने, ‘बाँकी क्षेत्रमा सबबेस र बेस विछ्याउने काम गरिरहेका छौं ।’

आयोजनाका अनुसार २० किमी खण्डको प्रत्येक प्याकेजमध्ये पहिलो बेनी–तातोपानीसम्म शर्मा/युनाइटेड जेभी कम्पनीले, दोस्रो र तेस्रो प्याकेजमा शर्मा/गजुरमुखी जेभीले काम गरिरहेका छन् ।

सडकको गलेश्वर–तातोपानी पहिलो खण्डमा पर्ने भीरकाटे र तातोपानी क्षेत्रका भीरमा विस्फोट नगरी मापदण्डअनुसार सडक फराकिलो बनाउन सम्भव नभएकोले काम भएको छैन । आयोजनाले दुवै स्थानमा विस्फोटक पदार्थ प्रयोग गरी सडक चौडा पारिने जनाएको छ । पहिलो खण्डको गलेश्वर–बेगखोला १६ किमी क्षेत्रमा पनि असारसम्म सडक कालोपत्र गरिने शर्मा युनाइटेडले जनाएको छ ,

बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्ये बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज र जोमसोम–कोरला एक सय १० किमी सडकलाई ११ प्याकेजमा सडक विस्तार एवं उन्नत गर्न ठेक्का गर्ने काम भइरहेको छ ।

बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकको विभिन्न नदी तथा खोलामा गरी ३२ वटा मोटरेबल पक्की पुल आवश्यक हुन्छ । तीमध्ये अधिकांश निर्माण चरणमा छन । केही निर्माण भइसकेका र केही ठेक्का लगाउने प्रक्रियामा रहेका छन् ।

प्रकाशित : वैशाख २३, २०७८ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?