रातारात आए चिनियाँ, आउनेबित्तिकै काममा खटिए

स्थानीय त्रासमा
आश गुरुङ

लमजुङ — चीनबाट आएका चिनियाँ कामदारहरु रातारात जलविद्युत आयोजना निर्माणस्थलमा आएका छन् । आउनेबित्तिकै उनीहरु निर्माणकार्यमा जुटेका छन् । चिनियाँले निर्माण गरिरहेको उत्तरी लमजुङको ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनामा कार्यरत ३८ जना चिनियाँ आइसकेका छन् ।

रातारात आए चिनियाँ, आउनेबित्तिकै काममा खटिए

६१ चिनियाँमध्ये जनवरी पहिलो साता नयाँ वर्ष मनाउन गएका ४ जना पनि अहिले आएका चिनियाँसँगै मिसिएका छन् । ३ जना नेपाली ड्राइभर, ३ सुरक्षा गार्ड र एक कुक पनि उनीहरुसँगै छन् । यसअघि काममा खटिने नेपाली कामदार भने गएका छैनन् ।


निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर लिउ गोप्पिङसहित ७ जनाको टोली शुक्रबार राति आइपुगेका थिए । शनिबार राति ९ बजेतिर १३ जना आएका थिए । आइतबार बिहान २ बजेतिर ५ जना र आइतबार नै थप १२ जना चिनियाँ साइटमा आएको आयोजनाले जनाएको छ । १ जना बुधबार साँझ कार्यक्षेत्र आएका थिए । आयोजनाका प्रशासकिय अधिकृत वासुदेव गड्तौलाका अनुसार चिनियाँले आफूहरुले प्रक्रिया पूरा गरेर आएको बताएका छन् । ‘चीनको विमानस्थलमा २ दिन भित्र र ३ दिन बाहिर बसेर बोर्डिङ पास दिएपछि आएको भनेका छन् । नेपालमै पनि काठमाडौंमा ९/१० दिन बसेको भन्छन् । हामी स्वस्थ छौं भन्छन्,’ उनले भने, ‘यथार्थ कुरा थाहा भएन । प्रशासनले लिखित मागेको छ ।’


यसअघि चीनबाट आएका विद्यार्थी चीनको विमानस्थलबाट स्वस्थ प्रमाणित भएर आएपनि १४ दिन क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु चढेको जहाज र सवारी साधनलाई प्रयोगमा ल्याइएको थिएन । उनीहरुलाई लिएर आएका पाइलटलगायत सवारी साधनका ड्राइभरसमेत क्वारेन्टाइन बसेका थिए । चिनियाँले पनि नेपाल सरकारको निर्णय मान्नुपर्ने प्रशासनले बताएको छ ।


लमजुङको उत्तरी क्षेत्र ङादी नदीमा निर्माणाधिन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण सम्पन्न विद्युतगृह । तस्बिरः आश गुरुङ/कान्तिपुर ।

आयोजनास्थलमा आएका चिनियाँ पेनस्टक, ड्यामसाइट, हेडवर्क्स, पावरहाउसको मेकिनिकलगायतका काममा खटिएका छन् । गड्तौलाका अनुसार मार्च १५ गतेसम्म उनीहरुलाई काममा नजान र बाहिर देखा नपर्न आग्रह गरिएको थियो । तर, उनीहरु मानेका छैनन् । उनीहरु आफ्नै तरिकाले काम गरिरहने बरु नेपालीको सम्पर्कमा नरहने बताइरहेका छन् । नेपाली कामदार काममा खटिएका छैनन् । आयोजना वरपरका नागरिक त्रासमा छन् ।

क्वारेन्टाइनबिनै चिनियाँ कार्यक्षेत्रमा

विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य राष्ट्रलाई कोरोना भाइरसबाट सतर्क रहन चेतावनी दिइरहेको बेला चिनियाँ नागरिक खुलेआमा आएपछि स्थानीय डराएका हुन् ।

प्रकाशित : फाल्गुन १९, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?