१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फास्ट ट्र्याक २ वर्षमा ८%

ट्र्याक पूरा गर्न एक खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १४ अर्ब ७० करोड खर्च भइसकेको छ । आर्थिक वर्ष ०७५/७६ मा संघीय सरकारले विनियोजन गरेको कुल बजेटमध्ये ९६ पनि प्रतिशत खर्चिसकिएको छ । 
सुवास बिडारी

मकवानपुर — तराईलाई संघीय राजधानीसँग जोड्ने बहुप्रतीक्षित काठमाडौं–तराई द्रूतमार्ग निर्माण सुरु भएको दुई वर्षको अवधिमा करिब ८ प्रतिशत मात्र काम सकिएको छ । नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको यो आयोजनाको कोरियाली सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार हालसम्म ८ प्रतिशत काम सम्पन्न भएको हो ।

फास्ट ट्र्याक २ वर्षमा ८%

डीपीआरबिना नै सेनाले हालसम्म काम अगाडि बढाइरहेको थियो । चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य साथ सेनाले ०७४ साउनबाट द्रूतमार्ग बनाउने काम सुरु गरेको हो । तर, डीपीआर तयार पार्न समय लाग्दा सोचेअनुसार प्रगति नभएको सडक निर्माण आयोजना लेनडाँडाका प्रमुख तथा सेनानी विनोद श्रेष्ठले बताए ।


डीपीआर स्वीकृत भएसँगै तोकिएको समयभित्रै काम सक्नेगरी सेना अघि बढ्ने उनले जनाए । फास्ट ट्र्याक पूरा गर्न एक खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । आर्थिक वर्ष ०७५/७६ मा संघीय सरकारले विनियोजन गरेको कुल बजेटमध्ये ९६ प्रतिशत खर्च भइसकेको जानकारी दिए ।


गतवर्ष द्रूतमार्गका लागि संघीय सरकारले पाँच अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको थियो । नयाँ डीपीआरअनुसार अब तीनवटा सुरुङ निर्माण हुने छन् । यसअघि सेनाले निर्माण सुरु गर्दा दुइटा मात्र सुरुङमार्ग हुने उल्लेख थियो । एसियाली विकास बैंकले गरेको विस्तृत सम्भाव्यता अध्ययनमा ललितपुर महादेवडाँडा–धोद्रेखोलामा ३.३ किलोमिटर सुरुङ बन्ने बताइए पनि कोरियाली कम्पनीले तयार पारेको डीपीआरमा दुइटा सुरुङ थप भएको हो ।


नयाँ डीपीआरअनुसार तीन किमि लम्बाइको थप दुइटा सुरुङमार्ग निर्माण हुने भएका छन् । भदौ ४ मा बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको डीपीआरअनुसार धेद्रेडाँडादेखि जितपुरखोलासम्म १.६३ किमि र जितपुरखोलादेखि बाँदरेखोलासम्ममा १.४३ किमि सुरुङमार्ग निर्माण हुने उल्लेख छ ।


तीनवटा सुरुङको लम्बाइ कुल ६.४ किमि हुने सेनाले जनाएको छ । दुइटा सुरुङमार्ग थप भएसँगै फास्ट ट्र्याकमा पुलको संख्या घट्ने निश्चित भएको सेनानी श्रेष्ठले जनाए । उनका अनुसार यसअघि १ सय ६ वटा पुल बनाउने लक्ष्य राखिएकोमा सुरुङको संख्या बढेसँगै १९ वटा पुलको संख्या घट्ने भएको छ । ‘अब ८७ वटा मात्र पुल बन्ने छन् । सुरुङ थप गरिएपछि फास्ट ट्र्याकको दूरी ३.७ किमि छोटिएको छ ।


यसअघि ७६.२ किमिको कुल लम्बाइ हुने भनिएकोमा नयाँ डीपीआरअनुसार ७२.५ किमि मात्र हुने छ,’ सडक निर्माण कार्यदल लेनडाँडाका सेनानी श्रेष्ठले भने । द्रुतमार्गमा १६ वटा विशेष प्रकारका पुल, ४९ वटा ठूला पुल र २२ वटा साना पुल हुने छन् । ‘डीपीआरका कारण अड्किएका काम अब द्रूतगतिमा अगाडि बढ्ने छन् । विशेष गरी ठूला पुल निर्माण तथा सुरुङ निर्माण गर्ने बाटो हामीलाई खुलेको छ,’ उनले भने ।


नयाँ डीपीआर अनुसार ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढ जोडिने फास्ट ट्र्याकको सबैभन्दा बढी भाग मकवानपुरमा पर्ने छ  । मकवानपुरमा ५३.२ किमि, ललितपुरमा ७.७ किमि र बारामा ७.६ किमि र काठमाडौंमा ४ किमि सडक पर्दछ ।


७२.६ किमि कुल लम्बाइमध्ये विभिन्न पुलहरू १०.६ किमि, सडक खण्ड ५५.५ किमि र सुरुङमार्ग ६.४ किमि हुने सेनाले जनाएको छ ।

सेनाले हालसम्म २८ हजार चार सय १० वटा रूख कटानको काम गर्नुपर्नेमा करिब ९७ प्रतिशत रूख कटान गरिसकेको जनाएको छ । सेनाले सुरुङमार्ग निर्माण हुने खण्डको ९ किमि क्षेत्रका ६ हजार ६ सय २७ वटा रूख कटान गर्न बाँकी रहेको बताएको छ । बारा जिल्लाको राजदमार र निजगढमा नर्सरी बनाएर सेनाले काटिए बराबर रुखको वृक्षरोपण गर्ने तयारीसमेत अगाडि बढाइसकेको छ । दुई स्थानको नर्सरीमा करिब ६ लाख बिरुवा उत्पादन भइरहेको बताइएको छ ।


सेनाले जिम्मेवारी पाएपछि हालसम्म गरेका कार्यप्रगतिअनुसार ढुंगा तथा माटो कटानको कार्य ८७ प्रतिशत सकिएको छ भने १५ प्रतिशत फिलिङ वर्क भएको छ । ५४ किमिमा माटो कटिङ तथा माटो फिलिङ गर्ने काम भइरहेको जानकारी दिइएको छ ।


हालसम्म द्रूतमार्गका लागि १० हजार ८ सय ११ रोपनी जग्गा अधिग्रहण भइसकेको र अझै ३ सय ७० रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ । नयाँ डीपीआरसँगै थप दुई सय ४४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?