कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अवैध चोरी सिकारी प्रकरण : पूर्वडीआईजी, पूर्वउपसभामुखका छोरा र सईलाई जोगाउन चलखेल

भाद्र १५, २०८१
अवैध चोरी सिकारी प्रकरण : पूर्वडीआईजी, पूर्वउपसभामुखका छोरा र सईलाई जोगाउन चलखेल

Highlights

  • नक्कली प्रतिवेदन बनाउन नमानेपछि पक्राउ गर्ने टोली नेतृत्वकै नाम ‘फेरबदल’
  • पोस्टमार्टम नगरी हतार–हतारमा गाडियो मारिएको बँदेल

राजविराज — गत भदौ १२ गते मध्यराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी पलार क्षेत्रबाट राइफल, गोली, मारिएको बँदेलसहित पक्राउ परेका पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवलाई उन्मुक्ति दिने गरी सप्तरी प्रहरीले घटनालाई अन्यत्र मोड्ने प्रयास थालेको छ ।

उनीहरूले मारेको पुष्टि भइसकेको बँदेललाई बेवारिसे भन्दै सप्तरी प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्य र इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालले चोरी सिकारीमा संलग्न रहेकाहरूलाई जोगाउने खेल सुरु गरेका हुन् ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी व्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले गत बुधबार मध्यराति हतियारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका पूर्वडीआईजी शाह र विराटनगर–३ घर भएका बहालवाला सई न्यौपानेलाई नियन्त्रणमा लिएको थियो ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका–८ घर भएका पूर्वउपसभामुख यादवका छोरा बहरखेर यादव, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जनार्दन राउत, इटहरी–२ का प्रदीप लिम्बु, राजविराज–७ का रविन दासलाई समेत पक्राउ गरिएको थियो । यसैगरी हनुमाननगर कंकालनी नगरपालिका–५ का ओमशंकर प्रसैला, वडा १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको थियो ।

प्रहरीले उनीहरूको साथबाट २२ क्यालिवरको राइफल एका, म्यागजिन दुई, १५ राउन्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक थान बरामद गरेको थियो । यस्तै मारिएको बँदेल लोड गरिएको को२त ६९ नम्बरको ट्र्याक्टर र प्र ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियोसमेत नियन्त्रणमा लिएको थियो ।

हतियार र बँदेलसहित नियन्त्रणमा लिइएकालाई बुधवार राति नै घटनास्थलबाट छोड्न जिल्ला र इलाका प्रहरी कञ्चनपुरका उच्च अधिकारीले दबाब दिएका थिए । तर, पक्राउ गर्ने टोलीका कमान्डर सप्तरी प्रहरी निरीक्षक मिश्रले गैरकानुनी कार्य गर्नेलाई छोड्न नमिल्ने भन्दै मारिएको बँदेल, हातहतियार, सवारी साधन र पूर्वडीआईजीसमेत १० जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएका थिए । इप्रका पुर्‍याइएपछि पनि छोड्ने प्रयास हुँदा संचार माध्यममा समाचार आएपछि त्यो प्रयास तुहिएको थियो ।

घटना त्यत्तिमै साम्य भएन, पूर्वडीआईजी शाहसहितलाई जोगाउन प्रहरी निरीक्षक मिश्रलाई बँदेल वेवारिसे फेला परेको प्रतिवेदन दिन जिल्ला प्रहरी प्रमुख वज्राचार्य र इलाका प्रहरी प्रमुख नेपालले दबाब दिएको प्रहरी स्रोतले बताएको छ । आफूले अवैध चोरी सिकारी गर्दै गरेको अवस्थामा मारिएको बँदेलसहित नियन्त्रणमा लिएकाले वेवारिसे फेला परेको झूटो विवरण समेटेर प्रतिवेदन नदिने प्रहरी निरीक्षक मिश्रले अडान लिएपछि इलाका प्रहरी कार्यालय भारदहका प्रहरी वरिष्ठ नायव निरीक्षक विश्वनाथ त्रिपाठी, प्रहरी सहायक निरीक्षक कृष्ण राजवंशी र प्रहरी हबलदार युगेश्वर खत्वेसँग संयुक्त प्रतिवेदन दिन लगाइएको थियो ।

तीनै जनाले आफूहरूको नेतृत्वमा खटिगएको प्रहरी टोलीले ट्र्याक्टरमा लोड अवस्थामा बँदेल फेला परेको उल्लेख गरेका छन् । ‘स्थानीयले आफ्नो खेतबारीमा लगाएको अन्नवाली बँदेल लगायत जंगली जनावरले क्षति पुर्‍याएकाले हतियारद्वारा बँदेल मारेको सूचना प्राप्त भई प्रहरी टोली खटिगई को १ त ६९ नम्बरको ट्र्याक्टरमा लोड मृत बँदेल फेला परेको,’ संयुक्त प्रतिवेदनमा उल्लेख गरेका छन् ।

तर, उक्त प्रतिवेदन विपरीत इलाका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले आफ्नो कमान्डमा खटिगएको प्रहरी टोलीले ट्र्याक्टर र मृत बँदेल फेला परेको दाबी गरेको पत्र पठाएका छन् । सवडिभिजन वन कार्यालय कञ्चनपुरमा बेवारिसे भन्दै बुझाइएको ट्र्याक्टर र बँदेलसँग इलाका प्रहरी कार्यालय कञ्चनपुरले पठाएको पत्रमा डीएसपी महेन्द्र नेपालले आफ्नो कमान्डमा प्रहरी टोली खटिगई ट्र्याक्टर र बँदेल फेला परेको दाबी गरेका छन् । तर, डीएसपी नेपाल आफैंले हस्ताक्षर गरी सवडिभिजन वन कार्यालयमा पठाएको चिट्ठी स्वीकार गर्दैनन् । ‘खै मेरो कमाण्डमा प्रहरी टोली खटिगएको होइन,’ डीएसपी नेपालले भने, ‘चिट्ठीमा कसरी त्यसो भयो, मलाई नै थाहा भएन ?’

यो दुवै प्रतिवेदनमा दाबी गरिए अनुसार उक्त राती खटिएको प्रहरी टोलीको कमान्डर उनीहरू होइनन् । खटिएको प्रहरी टोलीका कमान्डर प्रहरी निरीक्षक मिश्रले पूर्वडीआईजीसमेत १० जना पक्राउ गरेकाले बेवारिसे भन्दै झूठो प्रतिवेदन नदिने अडान लिएपछि हतारमा फरक–फरक कमान्डर देखाएर झूटो प्रतिवेदन तयार गरिएको प्रहरी स्रोतको दाबी छ ।

बँदेललाई बेवारिसे भनेर सव डिभिजन वन कार्यालयमा बुझाएपछि मृत बँदेलको पोस्टमार्टम समेत नगरी हतार–हतारमा गाडिएको थियो । जबकि, कानुन अनुसार उक्त मृत बँदेलको पोस्टमार्टम गरिनु पर्दथ्यो । सव डिभिजन वन कार्यालय कञ्चनपुरका रेन्जर सन्तोष यादवले पोस्टमार्टम नगरी बँदेल गाडिएको स्वीकार गरे । ‘कानुनतः पोस्टमार्टम गरिनुपर्ने हो तर गर्न सकिएन,’ उनले भने । हतार–हतार मृत बँदेललाई गाड्नु पर्ने भएकाले पोस्टमार्टम नगरेको प्रहरी स्रोतले बतायो । मृत बँदेलको पोस्टमार्टमले मृत्युको कारण खुल्ने भएकाले हतार–हतारमा पोस्टमार्टम नगरी गाडिएको हो ।

यता बँदेल बेवारिसे देखाएर गाडिएपछि चोरी सिकारी गर्दै पक्राउ गरिएका पूर्वडीआईजी शाह, बहालवाला सई न्यौपाने, पूर्वउपसभामुखका छोरा आकाशसमेत १० जनालाई बिहीबार साँझ जिम्मा जमानीमा छोडिएको छ । उनीहरूलाई बँदेल मारेको घटनाबाट अलग गरी राती हिँडडुल गरिरहेको अवस्थामा अनुसन्धानका लागि ल्याएको भन्दै छोडिएको हो ।

पक्राउ गरिएकासँग पक्राउ गरिएको २२ क्यालिबरको राइफल पूर्वडीआई शाहको नाममा अनुमति प्राप्त रहेको सप्तरी प्रहरीले दाबी गरेको छ । तर, तीन दिन बित्दा पनि अनुमति पत्रको सक्कल प्रति पेस हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी गरिएको अनुमति पत्र के प्रयोजनका लागि दिइएको हो, खुल्न सकेको छैन । स्रोतका अनुसार व्यक्तिगत सुरक्षा प्रयोजनका लागि पूर्वडीआईजी शाहलाई दिइएको राइफलको अनुमतिपत्रको दुरुपयोग गर्दै उनले सिकार प्रयोजनमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १५, २०८१ १५:४६
x
×