सप्तकोसीमा पानीको सतह बढेसँगै नदीछेउका बस्तीमा ‘हाई अलर्ट’

अवधेशकुमार झा

राजविराज — सप्तकोसी नदीमा पानीको सतह बढेपछि तटबन्ध छेउका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सप्तकोसीमा पानीको सतह बढेसँगै नदीछेउका बस्तीमा ‘हाई अलर्ट’

पानीको अत्यधिक चाप रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र मध्यकोसीमा रहेको वडा नम्बर १३ गोबरगाढामा ‘हाई अलर्ट’ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले जानकारी दिए ।

उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको छ । एसपी काफ्लेका अनुसार मंगलबार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको छ । कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएको छ ।

पानीको सतह बढेसँगै टापु बस्ती गोबरगाढास्थित विद्यालय नजिकै कटान पुगेको छ । कटान हुन सक्ने सम्भावित जोखिमका कारण नगरपालिकाले यसअघि नै उक्त विद्यालयको छानामा रहेको जस्ता र ढोकाहरू खोलेर सुरक्षित स्थानमा राखेको छ । पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए ।

यस्तै कोसीमा पानीको सतह बढेसँगै कटान हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परतर्फ लागेको छ । उक्त वडाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार डलबास्थित स्परमा कटान लाग्दा स्थानीय त्रसित भएका छन् । कटान नियन्त्रणका लागि भारतीय कोसी योजनाका ठेकेदारहरू काम सुरु गरे पनि पानीको दबाब अत्यधिक रहेकाले नियन्त्रण हुन नसकेको वडाध्यक्ष यादवले बताए ।

प्रकाशित : श्रावण १७, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?