भोकै छ सुकुम्बासी बस्ती

दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउनेहरुले दुई हप्तादेखि काम गर्न पाएका छैनन्। कमाइ नहुँदा उनीहरु भोकै रात काटिरहेका छन्
देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिका-१२ बखरीस्थिति सुकुम्बासी बस्तीकी अनितादेवी ऋषिदेव प्रसूति भएको शनिबार १५ दिन भएको छ। प्रसूतिलाई पोषिलो खाना आवश्यक हुने भए पनि उनको घरमा चुल्हो बल्ने अवस्था छैन।

भोकै छ सुकुम्बासी बस्ती

उनको परिवारले शनिबार बिहान छिमेकीको घरबाट चामल र आलु मागेर छाक टार्‍यो। 'भरेभोलि के खाने र खुवाउने थाहा छैन,' अनिताका पति सीताराम ऋषिदेवले गुनासो गरे।

सीताराम दैनिक ज्यालामजदुरी गरेर घरपरिवार चलाउँदै आएका थिए। तर सरकारले लकडाउन घोषणा गरेको अघिल्लै दिनदेखि उनी मजदुरीमा जान पाएका छैनन्। ‘दिनमा ५ सय आम्दानी हुन्थ्यो। दुई हप्तादेखि कामै गर्न पाएका छैनौं,’ उनले भने, ‘वर्षभरि अलिकति बचत गरेर राखेको पैसाले पत्नीको प्रसूति गराइयो। अब घरमा अन्न सकियो। सुत्केरी र बच्चालाई के खुवाउने होला?’

घरमा अन्न नभएको अवस्थामा पसलेले उधारो नदिने गरेको उनले गुनासो गरे। ‘लकडाउनको बेला नगदमा मात्रै खाद्यान्न दिने भन्दै पसलेले फर्काइदिने गरेको छ,’ सीतारामले भने।

६ महिनाको गर्भवती चन्दादेवी ऋषिदेवको घरमा पनि शुक्रबार बेलुका चुल्हो बलेन। उनीसँगै ४ वर्षीय छोराले आभाषले भोकै रात बिताए। 'शनिबार बिहान नजिकैको किराना पसले दाजुलाई हारगुहार गरेर चामल, आलु र सोयाबिन ल्याएर भोक मेटायौं,' चन्दादेवीका पति चन्द्रकुमार ऋषिदेवले भने। यसअघि राजमिस्त्रीको काम गरेर दैनिक ८ सय आम्दानी गर्थे उनी। लकडाउनका कारण अहिले काम ठप्प छ। कमाइ छैन।

स्थानीय ४५ वर्षीया रानोदेवी ऋषिदेवको अवस्था पनि दयनीय छ। पाञ्चालीस्थित एक घरमा भाडाकुँडा माझ्ने र घर सफाइ गर्दै आएकी उनको काम अहिले बन्द छ। कमाइ नहुँदा परिवार पाल्न समस्या भएको उनले बताइन्। उक्त सुकुम्बासी बस्तीका ३० घरधुरीको अवस्था जस्तै छ।

बखरीकी ५५ वर्षीया मलारी ऋषिदेवले राहत दिनका लागि वडाध्यक्षले प्रत्येक परिवारको नाम लेखेर लगे पनि हालसम्म फर्केर नआएको बताइन्। नाम संकलन गर्ने क्रममा एकएक वटा खानाको प्याकेट १०/१५ घरलाई वितरण गरिएको उनको भनाइ छ।

यस्तै, विराटनगर-१८ शिवटोलका ६० सुकुम्बासी परिवारको पनि अवस्था पनि लकडाउनका कारण नाजुक बन्दै गएको छ। स्थानीय ६० वर्षीया मर्नीदेवी महतोले दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउनेहरुले दुई हप्तादेखि काम गर्न नपाउँदा भोकभोकै बस्ने अवस्था आएको बताइन्। ‘कि रोजगारी देऊ, कि खान देऊ,’ उनले भनिन्, ‘घरमा भएको अन्न पनि सकियो। रोजगारी नचलेकाले पसलेले उधारो दिन पनि नमान्ने गरेकाले भोकै बस्नुपरेको छ।’

विराटनगर महानगरकी उपप्रमुख इन्दिरा कार्कीले वडा कार्यालयहरुले तथ्यांक संकलनमा गरेको ढिलाइले राहत वितरणमा समस्या भइरहेको बताइन्। आइतबारदेखि वडा २, ३, ४ र ७ को तथ्यांक संकलन भएर आइसकेकाले आइतबारदेखि राहत वितरण गर्ने योजना रहेको उनले बताइन्।

‘राहत बाँड्न १२ किलो चामल, २ किलो आलु, डेढ किलो दाल, आधा लिटर खानेतेल, नुन, साबुनको प्याकिङ वीरेन्द्र सभागृहमा भइरहेको छ,’ उनले भनिन्, ‘रातभरिमा प्याकिङ सकेर आइतबारदेखि राहत वितरण थाल्छौं।’

अन्य वडा कार्यालयलाई तत्काल दैनिक ज्यालादारी गर्ने परिवारको तथ्यांक संकलन गरी बुझाउन निर्देशन दिइसकेको उनको भनाइ छ।

प्रकाशित : चैत्र २२, २०७६ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?