कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सशस्त्र र एसएसबी सँगसँगै

सीमा सुरक्षा जिम्मा सशस्त्रलाई
बिप्लव भट्टराई

इलाम — पटक-पटक सीमा विवाद उठ्ने इलामको पूर्वी भारतीय क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन हुने भएको छ ।सशस्त्रले भारतीय सीमा सुरक्षा बल एसएसबीसँगको सहकार्यमा सीमा सुरक्षा गर्ने योजना छ ।

सशस्त्र र एसएसबी सँगसँगै

साहयता कक्षदेखि संयुक्त गस्ती गरेर सीमा क्षेत्र अनुगमनको काम हुनेछ । दशैंअगावै सशस्त्रले ‘बोर्डर अब्जरभेसन पोष्ट’ राख्ने छ । पोष्ट सञ्चालन हुनासाथ दश गजाभित्र सहायता कक्ष सञ्चालनमा आउने छन् । सशस्त्रले राख्ने पोष्टमा १ भारतीय सीमा सुरक्षा बल रहनेछन् ।


त्यस्तै एसएसबीले राखेको पोष्टमा सशस्त्रका पनि १ प्रतिनिधि हुनेछन् । ‘यसले दुवैतर्फ सहजीकरणमा सजिलो हुनेछ,’ सशस्त्र प्रहरी उपरीक्षक विदुर खडकाले भने, ‘त्यहाँको कमाण्डरको सल्लाह बमोजिम सीमा क्षेत्रको गस्तीसमेत हुनेछ ।’ यो क्रममा सीमा पिलर, दशगजा र सीमामा देखिएका विवादबारे केन्द्रमा जानकारी हुनेछ र सर्वे टिमले समस्या समाधान गर्नेछ ।’


सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरभेसन पोष्ट (बीओपी) राख्ने तयारी भएको हो । इलामको छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुर क्षेत्रको ५ सय मिटर आसपास सशस्त्रको बिओपी क्याम्प रहने छ ।


गुल्मबाट गणमा स्तरोन्नति भएपछि सशस्त्र प्रहरी बल, नेपाल १ नं. गण इलामले सीमा सुरक्षाका लागि पोष्ट खडा गर्ने भएको हो । ०७५ जेठ २७ गते मन्त्रिपरिषद निर्णयअनुसार गत साउन १३ गते गुल्मलाई स्तरोन्नति गर्दै गणमा परिणत गरिएको थियो ।


सरकारको नीतिअनुरुप तत्काल जिल्लाका चार स्थानमा बोर्डर अब्जरभेसन पोष्ट रहने छ । पूर्वी पहाडी जिल्लाको सीमा सुरक्षालाई ध्यान दिँदै पाँचथरको प्राङवुङ, चिवाभञ्ज्याङ र ताप्लेजुङको ओलाङचुङगोलामा पनि पोष्ट स्थापना हुनेछन् ।

भारततर्फ हरेक ३ किलोमिटरमा एसएसबी रहे पनि नेपालतर्फ सीमा क्षेत्रको सुरक्षामा प्रशासनको उपस्थिति शून्य भएको गुनासो आउने गरेको थियो । सीमा पिलर हराउने, दशगजा क्षेत्रको अतिक्रमण हुने र सीमा क्षेत्रमा नै अतिक्रमण हुने गरेको सरोकारवालाले गुनासो गर्दै आएका थिए ।


पोष्ट राखेपछि सीमा सुरक्षालगायत शान्ति सुरक्षामा उल्लेख्य सुधार हुने गणका विदुर खडकाले जानकारी दिए । ‘इलाम त्यसै पनि शान्ति कायम भएको जिल्ला हो,’ खडकाले भने, ‘सशस्त्रको स्तरवृद्धिसँगै ठोस कार्यक्रमका साथ भएको उपस्थितिले स्थानीयलाई सहज हुने छ ।’


सन्दकपुरदेखि रोङ गाउँपालिका सलकपुरसम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रले भारतलाई छोएको छ । प्रत्येक १३ किलोमिटरमा बिओपी रहने गरी पोष्ट स्थापना हुनेछन् । जिल्लाका ४ स्थानमा बिओपी राख्ने निर्क्यौल भए पनि तत्काल पशुपतिनगरमा पोष्ट रहने छ ।

त्यहाँ सशस्त्र प्रहरी निरीक्षक कमान्डमा ३५ जना बस्नेछन् । पशुपतिनगरस्थित पुरानो भन्सार कार्यालयमा पोष्ट रहनेछ । दशैंअघि नै पोष्ट राखिने खडकाले जनाए ।अन्य स्थानमा पोष्ट स्थापनाका लागि जग्गासहित बासस्थानको व्यवस्था गर्न जिल्ला सुरक्षा समितिवाट सिफारिस भइसकेको उनले बताए ।

प्रकाशित : आश्विन २१, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×