जेन–जी समूहका भाइबहिनीको असन्तुष्टिलाई आफ्नो अभीष्ट पूर्ति गर्न मुखुन्डो लगाएर घुसपैठ गरी राष्ट्रिय सम्पत्तिमा आगो लगाउनेहरू राष्ट्रका कुलंगार नै हुन् । कलिला बालबालिकाको हत्या गर्ने शासक वर्गको जति आलोचना गरे पनि कम भएजस्तै राष्ट्रिय सम्पत्तिमा आगो झोस्ने र न्यायालय, सिंहदरबार, शीतलनिवासजस्ता ऐतिहासिक र राष्ट्रिय महत्त्वका सम्पत्ति नाश गर्नेलाई जनताले कहिल्यै पनि माफी दिने छैनन् ।
–गोपाल देवकोटा, काठमाडौं
०००
सिंहदरबार, न्यायालय हाम्रो राष्ट्रकै धरोहर र सम्पत्ति हुन् । अराजक तत्त्वले सिंहदरबारभित्रका सरकारी भवनलगायत धेरै ऐतिहासिक कागजात र अभिलेखमा आगो लगाए । यसले देशप्रेमी नेपालीलाई दुःखी बनाएको छ । यस्तो अकल्पनीय र अत्यन्त दुःखद घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न जेन–जी आन्दोलनबाट स्थापित यो सरकार सफल होस् ।
–नरेशप्रसाद मानन्धर, काठमाडौं
०००
असली जेन–जी पुस्ताले यस्तो विध्वंसपूर्ण कार्य गर्नै सक्दैन । किनकि उनीहरू त जलिसकेका भग्नावशेष देख्दै पनि डराउने गर्छन् । यस्तो विध्वंस मच्चाउने जुनसुकै पार्टी वा शक्ति भए पनि तिनको पहिचान गरेर तुरुन्तै कारबाही गरियोस् । यस्तो काममा दायाँ–बायाँ सोच्नै हुन्न । राष्ट्रिय सम्पत्तिमा आगो झोस्नेहरू त अराष्ट्रिय तत्त्व पनि हुन् ।
–रमेश बनेपाली, काभ्रे
०००
राष्ट्रिय धरोहरलाई मटियामेट पारी देशको पहिचान मेटाउन उद्यत जति पनि छन्, तिनलाई हदैसम्मको कारबाही गरी सम्पूर्ण क्षतिको असुलउपर गर्नुपर्छ । उनीहरूको जायजेथा र सम्पत्तिबाट असुल नभएमा त्यति बराबर जेल सजाय तोक्नुपर्छ । अन्यथा जहिले पनि आन्दोलनका नाममा यस्तै रिसइबी साधेर राष्ट्रिय धरोहर तथा राष्ट्रिय उद्योगहरूमा आगो झोस्ने क्रम रोकिने छैन ।
–रामशरण अधिकारी, पोखरा
०००
जेन–जी आन्दोलनमा घुसपैठ गरी राष्ट्रिय सम्पत्ति तोडफोड, आगजनी, चोरी–डकैती गर्ने तीन पुस्तासम्मलाई सरकारी सेवा सुविधा नपाउने र विदेश जान नपाउने गरी कालो सूचीमा राख्नुपर्छ । यस्ता अराजक तत्त्वलाई कुनै पनि हालतमा माफी मिनाहा दिइनु हुँदैन । असल उद्देश्यले जेन–जीले सुरु गरेको आन्दोलनमा घुसपैठियाको डकैती शैलीको जति निन्दा गरे पनि कम हुन्छ ।
–अर्जुनप्रसाद दुलाल, हेटौंडा
०००
हाम्रो भौतिक संरचना अर्थात् राष्ट्रिय सम्पत्तिमा आगो लगाउने, लुटपाटजन्य गतिविधि गर्नेमाथि कडाभन्दा कडा कारबाही राज्यले गरेन भने यो बेथितिले आगामी दिनमा स्थापित र प्रोत्साहन हुने मौका पाउनेछ । त्यसैले दोषीलाई बेलैमा सम्बन्धित निकायले कारबाही गरोस् ।
–सीताराम मैनाली, जनकपुर
०००
सञ्चारकर्मीको खोल ओढेका केही युट्युबर र टिकटक चलाएर पैसा कमाउन पल्केकाहरूले जुन शैली र भाषामा समाजमा भ्रामक कुरा फैलाए, तिनीहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ । बिनाप्रमाण भ्रामक समाचार फैलाउँदै हिँड्ने र जनतालाई आक्रोशित गराउन हिँडेका पनि देशद्रोही नै हुन् । राष्ट्रको सम्पत्ति विनाश हुनुमा तिनीहरू पनि उत्तिकै दोषभागी छन् ।
–कौशल्या डोटेल, भक्तपुर
