देशैभरिका विभिन्न कारागारबाट १३ हजारभन्दा धेरै कैदीबन्दी भागेपछि समाजमा आतंक र त्रास बढेको छ । विभिन्न १५ जिल्लाका १३ हजारभन्दा धेरै कैदीबन्दी मंगलबार र बुधबार विभिन्न जेलबाट भागेका थिए । कतै जेल तोडेर त कतै आगजनी गरेर उनीहरू भागेका हुन् ।
बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका कञ्चनपुरका एक कैदीबन्दी त फरार भएको भोलिपल्ट पुनः सोही अभियोगमा पक्राउ पर्नुले समाजमा थप त्रास उत्पन्न गराएको छ ।
मंगलबारको प्रदर्शनपछि देशैभरिका कारागारबाट भागेका हजारौं कैदीबन्दीमध्ये केही सय पक्राउ परे पनि जघन्य अपराधमा मुछिएका धेरै कैदीबन्दी अहिले पनि फरार छन् । हत्या, बलात्कार, अपहरण, मानव बेचबिखनजस्ता जघन्य अपराधका कैदीबन्दी फरार हुनु मुलुककै लागि ठूलो दुर्भाग्य पनि हो ।
कारागारबाट भागेका कैदीबन्दीलाई प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ भने केही आफैं पुनः कारागार फर्किरहेका छन् । तर, गम्भीर अपराधका कैदीबन्दी भने फर्किरहेका छैनन् । ठूलो संख्यामा अझै पनि उनीहरू समाजमा छरिएर रहेका छन् ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्केका थिए भने उनीसँगै त्यहाँबाट फरार भएका केही कैदीबन्दी बैंक डकैती गरिरहेको अवस्थामा बुधबार पुनः पक्राउ परे । जेन–जी आन्दोलनको चार दिन बितिसक्दा पनि जेलहरूमा कारागार व्यवस्थापन विभागले पूर्ण सुरक्षा कायम गर्न सकिरहेको थिएन । यसभन्दा ठूलो दुर्भाग्य के होला ?
–सविना भाट, महेन्द्रनगर, कञ्चनपुर
