जेन–जी प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको भन्दै कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्ना एक शिक्षकलाई जागिरबाटै हटाइदिएको सुन्दा खुसी लाग्यो ।
बुटवलको सुक्खानगरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशंकर शुक्लालाई उक्त विद्यालयले निष्कासन गरेको विद्यालयका प्रधानाध्यापकलाई उद्धृत गर्दै कान्तिपुरले समाचार नै प्रकाशित गरेको छ ।
मानिसहरूले भन्लान्, ‘जाबो आइसक्रिम चोर्दैमा पनि के कारबाही गरेको होला !’ तर, चोर्नु भनेको सियो चोर्नु र सुन चोर्नु उस्तै अपराध होइन र ? शिक्षकजस्तो मर्यादित र सम्मानित पेसामा आबद्ध भएको व्यक्ति चोरीजस्तो अपराधकर्ममा संलग्न भएपछि त्यसबाट विद्यार्थीले के सिक्छन् ? के ज्ञान आर्जन गर्छन् ?
त्यसैले यस्ता अनैतिक र गैरजिम्मेवार शिक्षकलाई जागिरबाट खोसुवा गर्नु प्रशंसनीय काम हो । मेरो विचारमा त समग्र शैक्षिक जगत्कै धब्बाका रूपमा देखा परेका त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीका निम्ति प्रशासनको जिम्मा लगाउन पनि ढिला गर्नु हुँदैन ।
–टीकाराम गौतम, सुक्खानगर, बुटवल
