नेताहरूका छोराछोरीको विलासी जीवनशैली, भ्रष्टाचारको गहिरो दलदल, कुशासनको कालो छाया र मनपरीतन्त्रको अत्याचारविरुद्ध सडकमा उत्रिएको आन्दोलन कुनै दलको आदेश वा नेताको निर्देशनले जन्मिएको थिएन । यो त स्वतःस्फूर्त रूपमा उम्लिएको युवापुस्ताको रगत र आक्रोशको ज्वालामुखी थियो ।
कलाकार, पत्रकार, किसान, मजदुर–समाजका हरेक तह र तप्काले साथ दिएको यो आन्दोलनलाई राज्यले चरम दमनको बाटो रोज्यो । निर्दोष भाइबहिनीको रगत सडकमा बग्यो तर त्यही रगतले देशलाई नयाँ बिहानीको उज्यालो देखायो । भोलिपल्ट देश आगोको ज्वालामा रूपान्तरित भयो । यो आक्रोशको आगो थियो, जसलाई कुनै तानाशाही शक्तिले दबाउन सकेन ।
यो आन्दोलनले तानाशाह र हठी शासकहरूको जरा हल्लायो । निर्दोषहरूको सहादतले उब्जाएको आक्रोशको राप र तापले अन्ततः शासन ढाल्यो । तर, शासन ढलेपछि प्रश्न उठ्यो– अब यो आन्दोलनको बागडोर कसले सम्हाल्ने ? यही बेला अघि आए सुदन गुरुङ, एक साधारण गोर्खाली युवा, जसले आफ्नो समाजसेवी छवि र निष्ठाले युवापुस्ताको विश्वास जितेका थिए ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँगको निकटता र उनको साहसिक छविले युवाहरूलाई उनमा आफ्नो भविष्यको नेतृत्व देखायो । सुदन एक्लै होइन, उनलाई साथ दिने हजारौं युवाले देशलाई नयाँ दिशा दिन नेतृत्वको बागडोर सम्हाले । यो हो नयाँ इतिहास, जुन हाम्रै आँखाअगाडि युवापुस्ताले लेख्यो ।
‘न्याय नपाए गोर्खा जानू’ भन्ने पुरानो उक्ति आज सजीव सत्य बनेको छ । भ्रष्टाचारका घडाहरू छताछुल्ल भए, अन्धकार चिरेर आशाका किरणहरू उदाए । यो केवल सत्ताको परिवर्तन होइन, यो त आत्मसम्मानको पुनर्जागरण हो । देशको बागडोर अब युवापुस्ताको काँधमा आएको छ । यो पुस्ता, जसमा गोर्खाली साहस, जेन–जीको विद्रोही आत्मा र परिवर्तनको अटल विश्वास छ, अब नयाँ बाटो कोर्नेछ ।
यो ऐतिहासिक अवसरलाई हामी गुमाउन दिने छैनौँ । भ्रष्टाचार, कुशासन र अन्यायको जन्जिर तोडेर देश बनाउने जिम्मेवारी अब हाम्रो हातमा छ । यो केवल राजनीतिक क्रान्ति होइन, यो एक नयाँ युगको प्रारम्भ हो– जहाँ युवाको ऊर्जा, साहस र सपनाले देशको भविष्यलाई नयाँ उचाइमा पुर्याउनेछ । आउनुहोस्, हातेमालो गरेर यो देश बनाऔं ।
–सन्तोष सिम्खडा, टोकियो, जापान
