गलत भाष्यमा अल्झिएका हामी

माघ २४, २०८१

पाठक मञ्च

We who are entangled in wrong commentary

कान्तिपुरमा सोमबार प्रकाशित रश्मि आचार्यको लेख ‘भाष्यको भुमरीमा नयाँ भाष्यको खोजी’ र बुधबार प्रकाशित चेतन अधिकारीको ‘देश रित्तिएको गलत भाष्य’ पढेर केही लेख्न मन लाग्यो ।

नेपाली समाजको परम्परावादी सोचाइ अनि राजनीतिक चरित्रकै कारण नैराश्यको भाष्य बन्दै गएको यथार्थ हो । नयाँनयाँ मिडिया आइसकेपछि सामाजिक सञ्जालमा मिसइन्फर्मेसन, डिसइन्फर्मेसन तथा समाजमा उत्तेजना फैलाउने एकखालको प्रवृत्ति पनि देखिन्छ । आचार्यले ‘आयातित, प्रायोजित, अराजकताप्रेरित र नकारात्मकताका भकारी बनेका गलत भाष्य चिरेर राजनीतिलाई स्थिरताको बाटोमा हिँडाउन देशको स्वत्व र सामर्थ्यबारे नयाँ बहसको खाँचो’ औंल्याएका छन् । हरेक दल सत्तामा बस्दा आफ्नो कामको हाईहाई होस् भन्न चाहने अनि सत्ताबाहिर रहँदा देशको अस्तित्व नै धरापमा पारेर हरेक वक्तव्यबाजी गर्दै हिँड्ने प्रवृत्ति देखिन्छ । राष्ट्रको चिन्तामा बहस गर्नुको सट्टा देशको महत्त्वपूर्ण पदमा बसेका ब्यक्तिहरू कुनै गाउँको साधारण स्कुलको कार्यक्रम उद्घाटन गर्न जाने लालचाले देश बन्दैन ।

अर्का लेखक अधिकारीले बसाइँसराइका सकारात्मक पाटा उधिनेका छन् । वैदेशिक रोजगार विभागले त्रिभुवन विमानस्थलबाट कति जना दैनिक बाहिर गए भनेर डेटा संकलन गरेर जनतामा त्रास र भ्रम मात्र छर्नुभन्दा दैनिक कति जना आएका छन्, त्यसको तथ्य सार्वजनिक गर्ने हो भने जनतामा निराशा छाउने काम हुँदैनथ्यो । राज्यका जिम्मेवार निकायले जनतामा भ्रम र उत्तेजना फैलाउने काम गर्नु हुन्न । कतै देशै त रित्तिएको छैन भनेजस्तो भ्रम जनतामा नपरोस् र त्यस्तो भाष्य निर्माण गरेर भ्रम फैलाउने सरोकारवाला निकाय पनि सजग रहनुपर्छ । देशमा अहिले हरेक निकायमा जिम्मेवारीबोधको भावना जागृत भएर काम गरिएको छैन । यदि देशको भार प्रधानमन्त्रीले मात्र लिने हो भने अन्य मन्त्री तथा संसद्को के काम ? राजनीतिकर्मी, प्रशासनिक कर्मचारी तथा हरेक निकायका जिम्मेवार व्यक्ति र आमजनताले आ–आफ्नो क्षेत्रबाट नैतिकताको गोरेटो समात्न जरुरी छ । अहिले सामाजिक सञ्जालमा फैलिने गरेको गलत भाष्यको पहिचान गरेर मात्र त्यसको विश्वास गर्नुपर्ने समय आएको छ । तसर्थ समाजमा फैलाइएको यस्ता गलत भाष्यको पछि नलागी सबै जना सचेत हुनु आजको आवश्यकता हो ।

खिमराज गिरी, काठमाडौं

पाठक

Link copied successfully