उनीहरुको आफन्तसंग सम्पर्क कायम भई सकेको र उनीहरुलाई लिन आफन्तजन वीरगञ्ज आउने क्रममा रहेको आफन्त नेपाल वीरगञ्ज शाखा प्रमुख मनु रानाले जानकारी दिइन् ।
What you should know
पर्सा — लामो समय देखि भारतको बालिका गृहहरुमा आश्रित दुई नेपाली युवतीलाई स्वदेश फिर्ता ल्याएको छ ।
मानव बेचबिखन बिरुद्ध सक्रिय संस्था आफन्त इन्डिया फाउन्डेशनकी रिप्याट्रेशन अधिकृत (स्वदेश फिर्ती अधिकृत) सुनिता जैरुले धनुषाको धनुषाधाम नगरपालिकाकी २२ बर्षीया र पर्साको वीरगञ्ज–२१ की २२ बर्षीया युवतीलाई वीरगञ्ज लिएर आएकी हुन् ।
हाल दुबै युवतीलाई आफन्त नेपाल वीरगञ्ज शाखास्थित आश्रय गृहमा आश्रित छन् । उनीहरुको आफन्तसंग सम्पर्क कायम भई सकेको र उनीहरुलाई लिन आफन्तजन वीरगञ्ज आउने क्रममा रहेको आफन्त नेपाल वीरगञ्ज शाखा प्रमुख मनु रानाले जानकारी दिइन् ।
वीरगञ्जकी २२ बर्षीया युवतीको सन् २०१९ मा भारत उत्तर प्रदेश गोन्डा निवासी एक युवकसंग १५ बर्षको उमेरमा बाल विवाह भएको थियो । घरमा शारीरिक र मानसिक यातना हुन थालेपछि उनको मानसिक अवस्था केही बिग्रिएर उनी सन् २०२३ मा घर छोडेर हिडेकी थिइन् ।
त्यस क्रममा प्रहरीले उनलाई भारत उत्तरप्रदेशस्थित अयोध्या भिखापुर सडकमा विक्षिप्त अवस्थामा फेला पारेर त्यहास्थित राजकिय महिला शरणालयमा राखेको थियो ।
त्यहाँ ३ बर्ष आश्रय पाएर मानसिक अवस्था दुरुस्त भएपछि ती युवतीले आफ्नो माइतीको ठेगाना बताएपछि भारतीय प्रहरीले दिल्लीस्थित नेपाली दूतावासमार्फत आफन्त इन्डिया फाउन्डेशन दिल्लीलाई सम्पर्क गरेको थियो ।
त्यसैगरी, धनुषाधामकी २२ बर्षीया युवतीको ४ बर्ष अघि १८ बर्षकै उमेरका विवाह भएको थियो । पति मानसिक बिरामी भएपछि अत्यधिक कुटपिट गर्न थालेपछि समाजले आफ्नै देवरसंग उनको विवाह गरी दिएको थियो ।
दुबै पतिले उनको शारीरिक र मानसिक शोषण गर्ने तथा सासु र नन्द समेत मिली हिंसा गर्न थालेपछि उनी नारककीय जीवनबाट उम्किन घर छोडेर हिडेकी थिइन् । त्यस क्रममा उनी भारतको राजस्थान राज्यको भरतपुर सहरमा पुगेकी थिइन् ।
त्यहाँ रेल्वे स्टेशनमा रेलमा चढेको अवस्थामा त्यहाँस्थित ‘अपना घर’ नामक गैरसरकारी संस्थाले उनलाई राजकीय बालिका गृह सबई माधोपुरमा आश्रय दिइएको थियो । उनले पनि आफ्नो माइतीको ठेगाना बताएपछि उनको बारेमा आफन्त इण्डिया फाउन्डेसनलाई सूचना आएको थियो ।
फाउन्डेसनकी रिप्याट्रेशन अधिकृत सुनिता जैरुले दिल्लीस्थित नेपाली दूतावास र भारतीय प्रहरीसंगको समन्वयमा दुबै युवतीहरुको स्वदेश फिर्ती सम्भव भएको बताइन् ।
अढाई महिनामा ६३ मिहलाको उद्धार
आफन्त नेपाली वीरगञ्ज शाखाले सन् २०२६ को अढाई महिनाको अवधिमा ६३ महिलाको उद्धार गरेको छ ।
शाखा प्रमुख मनु रानाका अनुसार, यस बर्ष बिहिबार सम्मको अवधिमा नेपाल-भारत सीमा तथा समुदायबाट समेत गरी यती संख्यामा बेचबिखनको जोखिममा रहेका चेलीहरुको उद्धार गरिएको हो ।
ती मध्ये दुईलाई संस्थाको सेफ होममा शिपमुलक तालिम दिनका लागि पठाइएको र ६१ को पारिवारिक पुर्नमिलन गराइएको छ । शाखाले सन् २०२५ भरीमा दुई सय १५ बेचबिखनको जोखिममा रहेका चेलीको उद्धार गरेको थियो ।
ती मध्ये दुई सय ६ लाई उनीहरुको परिवारको जिम्मा लगाइएको थियो । नाैंजनालाई लाई शिपमुलक तालिमका लागि संस्थाको गृहमा पठाइएको थियो ।
शाखाले ५ जनालाई मानव बेचबिखन ओसार पसार अपराधमा प्रहरीको सहयोगमा मुद्दा दिएको थियो भने ४ जना उपर जबरजस्ती करणीको मुद्दा दिएको थियो । एकजनाबिरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो ।
