पुरातत्व र पर्यटनको नयाँ गन्तव्य बन्दै बर्दिबासको चुरे

बर्दिबास नगरका चुरे क्षेत्रमा गिद्ध संरक्षण, पुरातात्विक सम्पदा र पर्यटन प्रवर्द्धनका लागि स्थानीय निकाय तथा समितिहरू सक्रिय भएका छन् ।

मंसिर २१, २०८२

गोपालप्रसाद बराल/रासस

Bardibas' Chure is becoming a new destination for archaeology and tourism

What you should know

महोत्तरी — महोत्तरीको पूर्वपश्चिम पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ ।

चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको यहाँ अवलोकन गर्नेहरूले बताएका छन् ।

'मनोरम प्राकृतिक सम्पदाको बर्दिबास नगरक्षेत्र सम्पन्न रहेछ,'  बर्दिबास–३ राइमण्डलस्थित गिद्ध बासस्थानको अवलोकनपछि चरा संरक्षण नेपालका प्रतिनिधि नवलपरासीको पिठौलीका ईश्वरी चौधरीले भने, 'हामीले यहाँको चुरे क्षेत्रको अवलोकन गर्‍यौं, यो त प्राकृतिक पर्यटनको भण्डार रहेछ ।'

राइमण्डलडाँडास्थित गिद्धबास (गिद्धको बासस्थान)लाई संरक्षण गर्न मुख्यतः आहाराको व्यवस्थापनमा जुट्न उनले  बर्दिबास नगरपालिका र नगर संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिलाई सुझाव दिए ।

आफ्नो ठाउँको पिठौली सामुदायिक वन क्षेत्रमा स्थापित गिद्ध संरक्षण उद्देश्यको जटायु रेष्टुरेन्ट स्थापना भएयता बढेको पर्यटकीय चहलपहलको अनुभव साट्दै चौधरीले बर्दिबासको यो क्षेत्र अझ मनोरम रहेको बताए ।

राइमण्डलडाँडाको गिद्धबास, राइमण्डल क्षेत्रकै मध्य पाषण युगकालीन हतियार कारखाना, सोलीघोप्टेडाँडाको जडीबुटी भण्डार, मधेशको जिल्ला भएर पनि सुन्तला, जुनार फल्ने चनौटेडाँडा र यहाँका टुटेश्वर, पञ्चधुरा माईस्थान र राइमण्डलधामसहितका आदिकालदेखिका धार्मिकस्थल पर्यटकीय विकासका लागि महत्त्वपूर्ण आधार रहेको अवलोकनकर्ताको प्रतिक्रिया छ ।

धनुषाको कल्चर भिलेज संस्थाका संस्थापक देवनारायण मण्डल आफूले महोत्तरीको चुरे क्षेत्रको अवलोकन गर्दा लोपोन्मुख पन्छी गिद्धसँगै अनेकौ चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान रहेको देखिएको बताउँछन् ।

'यहाँको चुरे क्षेत्रमा अहिले सघन वन रहेछ । बहुमूल्य वनस्पति तथा बाघ, हरिन, मृग, घोरल, नीलगाई र बँदेलसहितका वन्यजन्तु बाक्लै रहेछन्,' मण्डल भन्छन्, 'यसका अतिरिक्त अन्य पुरातात्विक महत्वका हतियार कारखानाका अवशेष र महाभारतकालीन जनश्रुतिका धार्मिकस्थलले यहाँको परिचय विशिष्ट बन्ने आधार छन्, यिनलाई पर्यटन प्रवर्द्धनसँग जोड्न सक्नुपर्छ ।'

अवलोकनकर्ताको सुझाव मनन गरेर नै बर्दिबास नगरपालिकाले संस्थागत प्रयत्नबाटै सम्भावना चिन्हित गर्न र तदनुरुप योजनाबद्ध काम अघि बढाउन नगरमा संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री बताउँछन् ।

'पर्यटकीय सम्भावनाका क्षेत्र पहिचान गर्न र यी क्षेत्रमा गर्न सकिने कामको खाका बनाउन जिम्मेवारीसहितको संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरेका छौँ,' उनले भने, 'समितिले विभिन्न क्षेत्रको काम हेर्नेगरी उपसमिति बनाएर अघि बढेको छ ।'

नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले मध्य पाषाण युगकालीन हतियार कारखानाको विज्ञहरूबाट पहिलो चरणको अन्वेषण कार्य र गिद्ध संरक्षणका काम पहिल्याउन काम सुरु गरेको जनाएको छ । 'हामीले मध्य पाषाण युगकालीन हतियार कारखानाको पुरातत्वविद्बाट पहिलो चरणको अन्वेषण कार्य सम्पन्न गराएका छौँ, त्यसबाट प्राप्त विज्ञहरूको निष्कर्षले हामी उत्साहित छौँ,' समितिका अध्यक्ष हीरालाल गौतम भन्छन्, 'पुरातत्व विभागका विज्ञ र भारतीय पुरातत्वविद्ले गर्नुभएको प्रारम्भिक अन्वेषणबाट यहाँ १० हजार वर्ष पहिलेको ढुङगे हतियार बन्ने ठाउँ रहेको निष्कर्ष आएको छ ।'

समितिले गिद्ध संरक्षण र पर्यापर्यावरणको कामलाई व्यवस्थित गर्न उपसमिति बनाएर काम अघि बढाएको छ । यस क्रममा गिद्धको आहारा दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेतिर मिहीन तवरले काम थालिएको गिद्ध संरक्षण तथा पर्या पर्यावरण प्रवर्द्धन उपसमितिका संयोजक विशाल बस्नेत बताउँछन् ।

बर्दिबासको चुरे क्षेत्रमा पर्यटन सम्भावना पहिल्याउन दुई वर्ष पहिले (२०८०) बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा १० वटा सामाजिक संस्थाले गरेका चुरे पदयात्राका क्रममा राइमण्डलडाँडामा गिद्धको समूह देखेपछि यहाँ यसबारे चासो बढेको हो । पदयात्रा गर्ने १० सामाजिक संस्थाले नगरक्षेत्रका ३८ ठाउँको परिचयसहित यिनलाई पर्यटकीय क्षेत्र बनाउन पहल गरिनुपर्ने सुझावसहितको पदयात्रा प्रतिवेदन त्यतिबेलै बर्दिबास नगर कार्यपालिकाको कार्यालयलाई बुझाएको थियो । आफूहरूले सुझाएका क्षेत्रमा काम गर्नेगरी नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति बनाए पनि सम्बद्ध पदयात्री संस्थासँग समन्वय भने नगरेको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काको गुनासो छ ।

गोपालप्रसाद बराल/रासस

Link copied successfully